ओलीसँग मिल्नुभन्दा कमण्डलु बोक्नु राम्रोः राई

विराटनगर । नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रदेश १ का सांसद राजेन्द्रकुमार राईले प्रतिनिधिसभा विघटन गर्दै प्रधानमन्त्री केपी ओलीको कदम विरुद्ध सर्बोच्च अदालतमा दायर रिटमा गरिएको हस्ताक्षर फिर्ता लिएर ओलीसँग जानुभन्दा कमण्डलु बोकेर हिँड्न नेताहरुलाई चेतावनी दिएका छन् ।

नेकपा एमालेलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने र पार्टी एकता कायम गर्ने भन्दै केहि नेताहरुले गरिरहेको ‘वार्ता’लाई निर्लज्जताको संज्ञा दिँदै राईले वरिष्ठ नेता र वार्ता टोली संयोजकलाई साधारण सदस्यबाट पनि हटाउने ओली समूहसँग थप छलफलको औचित्य नरहेको बताएका छन् ।

देउवालाई प्रधानमन्त्री प्रस्ताव गरेर गरेको हस्ताक्षर फिर्ता गर्ने कुराको कल्पना पनि गर्न नसकिने बताउँदै राईले हस्ताक्षर फिर्ता लिएर जानुभन्दा कमण्डलु बोकेर हिँड्नु राम्रो हुने बताए । त्यसको लागि तयार हुने नेताहरुले राजनीतिबाट सन्यास लिएर खेतिपातीमा लाग्न उचित हुने उनको सुझाब छ ।

केटाकेटी खेल जस्तो कुरा नगर्न नेताहरुलाई सुझाब दिँदै राईले यो विषय सम्मानित सर्वोच्च अदालत पुगेको, राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतले हेरिरहेको स्मरण गराएका छन् । कम्युनिस्ट पार्टीको नाम ओलीले बद्नाम गरेको भन्दै उनले कम्युनिस्ट पार्टीका नाममा भएका निरंकुशता र नरसंहारको समर्थन गर्न नसकिने स्पष्ट पारे । प्रतिगमन र निरंकुशताका विरुद्धमा संविधान मास्नेकाविरुद्ध जो–जो मिल्न सकिन्छ त्यो–यो एक ठाउँमा उभिनुपर्ने उनको जिकिर छ ।

नेकपा एमालेको माधव नेपाल समूहका प्रभावशाली युवा नेता राईले यथाअवस्थाको वार्ता अनाधिकृत, व्यक्तिगत र निर्लज्ज प्रकृतिको भएको टिप्पणी गरेका हुन् । उनले त्यसरी वार्ता गर्नेहरु ओलीभन्दा खतरनाक भएको भन्दै सचेत हुनुपर्ने औल्याएका छन् ।

‘माधव नेपाल, झलनाथ खनालसहतिका अरु नेताहरुलाई पार्टीको साधारण सदस्यबाटै निश्कासन गेर प्रदेशका सांसदहरुलाई पनि कारवाही थाल्ने ओली गुटको कामले एकताको प्रयास विथोलिएको राईको टिप्पणी छ । ‘ अहिले वार्ता र पार्टी एकता भन्दै दौडिरहेका नेपाल पक्षका नेताहरु जसरी भएपनि ओलीसँग मिल्ने पक्षमा देखिएको भन्दै राईले ओलीले नांगेझार पारेर सडकमा पछार्दा पनि वार्ताका लागि झुत्ति खेलिरहनुको औचित्य नभएको बताए । उनले ओलीको प्रतिगाम षड्यन्त्र र अराजक कदम विरुद्ध विद्रोह भन्दै देशभरिका कार्यकर्तालाई सडकमा उतारेर केहि नेताहरु पद सुरक्षामा लागेको भन्दै आक्रोशत व्यक्त गर्नुभएको छ ।

‘ओली प्रबृत्ति विरुद्ध सांसद तथा देशैभरिका नेता र कार्यकर्तालाई उतार्ने, त्यसपछि कार्यकर्तालाई धमाधम कारवाही खुवाउने अनि आफूचाँहि सुरक्षित हुने ?’ उनको भनाई छ ,‘यो सोच सबैभन्दा खतरनाक र धोका हो ।’ जसरी पनि मिल्ने उद्देश्य भए समानान्तर कमिटीहरु नबनाई, भेलाहरुमा बैचारिक कुुरा मात्र अघि बढाएर पनि जान सकिन्थ्यो भन्दै राईले त्यसो नगरी संगठन नै विस्तार गर्न अग्रसर हुने नेताहरुले अहिले आत्मसमर्पण गर्न लागेको आरोप लगाए । एकता सम्मानजनक पनि हुनुपर्ने र सबै नेता तथा कार्यकर्ताको भविष्य सुरक्षित हुनुपर्ने भन्दै उनले जेठ २ मा फर्कनसाथ पार्टी एकता हुन्छ भन्ने कुरा बेइमानी भएको बताए ।

ओलीले यसअघि गरेका गलत कदमको समिक्षा गरेर उनले माफी माग्नुपर्ने राईले बताएका छन् । ‘जेठ २ मा फर्किन ओली तयार भए एकता हुन्छ भन्ने कुरा एउटा सांगठनिक पाटोको कुरा मात्र हो, अब त्यतिले मात्रै पुग्दैन’ उनले भने, ‘सैद्धान्तिक राजनीतिक पाटो पनि छ । संविधान पटक–पटक मिच्ने, लोकतन्त्र मास्ने, निरंकुशता लाद्ने ओलीको कदमको समिक्षा भएर माफी माग्नुपर्छ ।’

अहिले ओलीका एकपछि अर्को गतिविधिहरु हेर्दा पार्टी विभाजनतिर नै गैरहेको भन्द ै राईले मिल्ने सम्भावना अत्यन्त कम रहेको बताएका छन् । ओलीले नै त्यो वातावरण बनाएकोले आपूmहरु अलग पार्टीको लागि मानसिक रुपमा तयार भएको उनले स्पष्ट पारे । केपी ओली कुनै पनि हालतमा सुध्रेका छैनन् र सुध्रनेवाला पनि छैनन भन्ने आफूहरुको निश्कर्ष रहेको उनको भनाइ छ ।

ओलीसहितको कम्युनिस्ट पार्टी बन्न नसक्ने भएकोले कम्युनिस्ट पार्टी नै बनाउने हुँदा अर्को पार्टी बनाउनुपर्ने देखिएको राईले बताएका छन् । तर, त्यसो गर्दा दुःख हुने, १–२ चुनाव हार्न सकिन्छ भने भन्दै उनले तर साच्चै कम्युनिस्ट पार्टी बनाउने हो भने नयाँ पार्टी नै चहिएको बताए ।

ठूलो पार्टी बनाउने र निजी स्वार्थमा मात्रै पार्टीलाई प्रयोग गर्ने उद्देश्य भए जो–जो मिले पनि हुन्छ भन्दै राईले लक्ष्य अनुसार काम गर्ने हो भने भेडाभेडासँग, बाख्रा बाख्रासँग भनेजस्तो असलहरु एक ठाउँमा उभिनैपर्नेमा जोड दिएका छन् । उनले फेरि एकपटक दुःख गर्न सबै तयार हुनुपर्ने बताउँदै कम्युनिस्टहरुको जनमत कमजोर नभएकोले केही समयको मेहेनतपछि एउटा राम्रो कम्युनिस्ट पार्टी बनाउन सकिने विश्वास व्यक्त गरे ।

बिहिबार, २० जेठ, २०७८, दिउँसोको ०१:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर