लोड हुँदैछ...

मेनु

महामारीको बेला सत्तापक्षको नांगो राजनीति

महामारीको बेला सत्तापक्षको नांगो राजनीति

ओखलढुंगा । कोरोना महामारीको बेला संक्रमितको उपचारको तयारीमा जुट्नुपर्नेमा सत्तारुढ दल नेकपा एमालेको ओली समूह घिनलाग्दो खेलमा लागेको ओखलढुंगामा देखिएको छ ।

ओखलढुंगा सामुदायिक अस्पतालमा ५ बेड आइसियुसहित २ भेन्टिलेटर खरिद गरि जडान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ १६ गते पठाएको परिपत्र एक दिन नवित्दै परिवर्तन गरिउको छ । पत्रअनुसार उपकरण खरिदका लागि थप प्रक्रिया अगाडि बढाउन लाग्दा सोमबार निर्णय परिवर्तन भई अर्को परिपत्र मन्त्रालयले गरेको हो ।

जेठ १६ गते निर्णय भएकोमा सत्तारुढ नेकपा एमालेको ओली समूहका नेता तथा कार्यकर्ताको दबाबपछि निर्णय परिवर्तन गरिएको हो । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले २०७६ जेठ ३ गते सामुदायिक अस्पताल भेन्टिलेटर जडान गर्न स्वास्थ्य मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेको थियो । अस्पतालले उक्त निर्णयसहितको पत्र विघटित प्रतिनिधिसभाका सांसद यज्ञराज सुनुवारमार्फत सोही दिन मन्त्रालयमा पत्र पठाएपछि मन्त्रालयले जेठ १४ गतेको चलानी नं. २३४९ को पत्रबाट अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता गरेकाले ५ आइसियु बेडसहित २ भेन्टिलेटर छिटो तरिकाबाट खरिद गरेर जडान गर्न र सृजित दायित्य प्रदेश नं. १ सामाजिक विकास मन्त्रालयमार्फत भूक्तानी माग गर्न जेठ १६ गते परिपत्र गरेको देखिएको छ ।

परिपत्रपछि कोभिड १९ केयर युनिटमा आइसियु र भेन्टिलेटर जडान हुने कुराले ओखलढुंगा सदरमुकामबासी खुसी थिए। अस्पतालले पनि तुरुन्तै खरिद प्रक्रिया अघि बढाउने तयारी थालेकोमा मन्त्रालयले जेठ १७ गते निर्णय परिवर्तन गर्दै ओखलढुंगा सामुदायिक अस्पताल सोब्रुको सट्टा ओखलढुंगा जिल्ला अस्पताल रुम्जाटारमा आइसियु र भेन्टिलेटर जडान गर्ने पत्र पठायो ।

रुम्जाटार अस्पतालले भने आईसियु र भेन्टिलेटरको माग गरेकै थिए । स्वास्थय मन्त्रालयका परिपत्र फेरिएको विषयमा प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले त्यसबारे आफू अनभिज्ञ भएको बताए।

मन्त्रालय स्रोतका अनुसार रुम्जाटार घर भएका प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङको दबाबपछि भेन्टिलेटर र आईसियु राख्ने अस्पताल परिवर्तन गरिएको हो । गुरुङ मात्र नभएर उपप्रधानमन्त्री ईश्वर पोखरेलको पनि दबाब आएपछि परिपत्र चेञ्ज गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।

जिल्लामा अक्सिजन र भेन्टिलेटर राख्ने पहल सो क्षेत्रका प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले गरेका थिए । सुनुवार एमालेको माधव नेपाल समूहमा रहेकोले ओली समूहका नेता तथा कार्यकर्ताले उनलाई जस नजाओस् भनेर परिपत्र परिवर्तन गर्न लगाएका हुन् ।

माधव, झलनाथ खनाल समूहका यज्ञराज सुनुवारको पहलमा आईसीयू र भेन्टिलेटर मिसन अस्पतालमा जडान हुने देखिएपछि ओली समूहका नेताहरूले रातारात निर्णय परिवर्तन गराएका हुन् । नेकपा एमालेका एमालेका जिल्ला नेता दीपक फुँयालले जनघनत्व, सेवाका हिसाबले सामुदायिक अस्पतालमा आइसियु बेड तथा भेन्टिलेटर राख्नुपर्नेमा महामारीको बेला घिनलाग्दो राजनीति भएको बताए ।

मिसन अस्पतालले यसअघि २० बेडको कोभिड–१९ केयर युनिट सञ्चालन गरिरहेको छ । रुम्जाटारमा रहेको १५ शैय्याको जिल्ला अस्पतालले भने गत वर्ष अक्सिजन प्लान्टका लागि आएको बजेट पनि फिर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।