रंगेली (मोरङ) । कोरोना महामारी रोेकथाम तथा नियन्त्रणमा प्रदेश सरकार सुस्त बनेको आलोचना सर्वत्र भइरहेका बेला स्थानीय सरकार सर्वसाधारणका लागि सहयोगी रुपमा पेश भइरहेका छन् ।
रोकथाम, नियन्त्रण र उपचार प्रबन्धमा स्थानीय तहहरुको सक्रिय भूमिकाकै कारण केही सहज अवस्था सिर्जना भएको छ । कोरोना रोकथाम तथा प्रतिकार्यमा स्थानीय तहहरुको भुमिका बढेको बेला उनीहरुलाई आफैलाई प्रमाणित गर्ने अवसरसमेत बनेको छ महामारी । स्थानीय तहहरु आफ्नो पुर्वाधार क्षमताले भ्याएसम्म संक्रमण न्यूनीकरणमा जुटेका छन् । ती मध्येको एक स्थानीय तह हो, प्रदेश १ कै पुरानोमध्येको एक र मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिका ।
कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा पछिल्लो समय रंगेली नगरपालिका अन्य स्थानीय तहको तुलनामा अब्बल साबित हुँदै गएको छ । संक्रमण दर न्यूनीकरणका लागि नगरपालिकाले वडा नं. ७ स्थित रंगेली अस्पतालमा अक्सिजन सहित २० शैय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । अस्पतालसँगै नगरपालिकाले कोभिड ओेपिडीसमेत सञ्चालन गरेको छ ।
कोरोना संक्रमित बिरामीहरुले उपचारकै अभावमा ज्यान गुमाइरहेको बिषयलाई मध्यनजर गर्दै आफ्नै कोभिड अस्पताल सञ्चालनमा ल्याइएको नगरप्रमुख दिलीपकुमार अग्रवालले बताए । ‘केही समययता अस्पतालमा बेड अभाव र अक्सिजन अभावका कारण बिरामीले उपचार नपाएको गुनासो सुन्दै आइरहेका छौं’, उनले भने, ‘सोही विषयलाई दृष्टिगत गर्दै आफ्नै कोभिड अस्पताल सञ्चालनमा ल्याएका हौं । उपचारको अभावमा कसैले मृत्युवरण गर्न नपरोस भन्ने हाम्रो उद्देश्य छ ।’
रंगेलीको कोभिड अस्पतालमा हाल ८ जना संक्रमित उपचाररत छन् । संक्रमित मध्ये २ महिला र ६ जना पुरुष छन् । अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीको २४ घण्टे प्रत्यक्ष निगरानीमा संक्रमितको उपचार हुने गरेको छ । उपचारका निम्ति अस्पतालमा १ जना एम.डि.जी.पी, ६ जना मेडिकल अफिसर, ६ जना हेल्थ असिस्टेन्ट र ११ जना नर्सिङ स्टाफसहित २४ जना स्वास्थ्य जनशक्ति छन् ।
यस्तै रंगेलीस्थित तिरुपति बालाजी मन्दिरमा पनि संक्रमित बिरामीको उपचारका निम्त्ति अक्सिजनसहित ५० शैय्याको कोभिड आईसोलेसन सञ्चालनमा छ । बिरामीलाई समयमै उपचार सेवा उपलब्ध गराउन नगरपालिकाले निःशुल्क एम्बुलेन्स पनि सञ्चालनमा ल्याएको छ । पछिल्लो समय संक्रमण दर उच्च भएसँगै रतुवामाई, कानेपोखरी, सुनबर्षी र धनपालथानका संक्रमित पनि उपचारका लागि रंगेली आउन थालेका छन् । अधिकांश उपचार पाएर संक्रमणमुक्तसमेत भएका छन् । तर, अस्पतालको सिमित क्षमताले सबैको उपचार गर्न सम्भव नभएको रंगेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदीले बताए । उनले अस्पतालको क्षमता वृद्धि गर्ने विषयमा प्रदेश सरकारसँग बारम्बार छलफल हुँदै आएको जानकारी दिए ।
‘हामीले रंगेली अस्पतालको क्षमता वृद्धि गरेर कम्तीमा ५० शैय्याको अस्पतालको रुपमा परिणत गर्न र प्रदेश सरकारकै मातहतमा सञ्चालन गर्न माग गर्दै आएका छौं’, उनले भने, ‘प्रदेश सरकारको ध्यानाकर्षण भएको र संघीय सरकारसँग छलफल भइरहेको आश्वासन प्राप्त भएकोे छ ।’
संक्रमितको उपचार गर्दै संक्रमण दर न्यूनीकरण गर्न रंगेली नगरपालिकाले (थ्री टी) टे«सिङ, टेष्टिङ र ट्रिटमेन्टको नीतिसमेत अबलम्बन गरेको छ । त्यसका निम्ति नगरपालिकाले वडागत रुपमा १ जना फोकल पर्सनको व्यवस्था गरेको नगरपालिकाका जनस्वास्थ्य अधिकृत ब्रजेश मेहताले बताए ।
‘संक्रमित बिरामीको मोनिटरिङ र नयाँ संक्रमितको पहिचान तथा व्यवस्थापनमा समन्वय गर्न ९ वटै वडामा फोकल पर्सन नियुक्त गरिएको छ’, उनले भने, ‘फोकल पर्सनले संक्रमितको निगरानी, अक्सिजन लेभल चेकजाँच, निःशुल्क औषधि वितरण, गम्भीर प्रकृतिका बिरामीलाई अस्पताल रेफर र लक्षण देखिएका नगरबासीलाई एन्टिजेन तथा पिसिआर परीक्षणको व्यवस्था मिलाउने लगायतका कार्य गर्छ ।’
संक्रमित भएर होम आइसोलेसनमा बसेका नगरबासीलाई आवश्यक औषधि पनि निःशुल्क उपलब्ध गराउँदै आएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले लक्षण देखिएका नगरबासीको निःशुल्क एन्टिजेन र पिसिआर परीक्षणको प्रबन्ध मिलाएको छ । रंगेली नगरपालिकामा मङ्गलबार र शुक्रबार हप्तामा २ दिन कोरोना परीक्षण हुने गरेको छ । नतिजा पोजिटिभ आएकाहरुलाई नगरपालिकाले उनीहरुको स्वास्थ्य अवस्था विश्लेषणको आधारमा अस्पताल तथा होम आइसोलेसनमा उपचारको प्रबन्ध मिलाउने गरेको छ ।
यस्तै कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएकाहरुलाई दोश्रो डोजको व्यवस्था गर्न पनि नगरपालिकाले पहल गरिरहेको छ । नगरपालिकाले खोप खरिदको अनुमति दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग मागसमेत गरेको जनाएको छ ।
रंगेलीमा हालसम्म २ सय ४३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । जसमा १ सय ९ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । रङ्गेलीमा हाल सक्रिय संक्रमितको संख्या १ सय ३१ रहेको छ । अन्य स्थानीय तहहरुको तुलनामा रंगेली तुलनात्मक बढी सुरक्षित देखिएको छ ।
Dherai ramro kam. Aba hospital ma bed thapne ra purbadhar bikash ko kam hos.