विराटनगर । कोरोना संक्रमणको दर बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले जारी निषेधाज्ञालाई जेठ २४ गतेसम्म लम्ब्याएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले आइतबार चौथौं पटक थपिएको निषेधाज्ञाको समय सकिनु अगाडि पाँचौ सूचना जारी गर्दै २४ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञाको आदेश जारी गरेका हुन् ।
सरकारले हालै जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम प्रशासनले निषेधाज्ञा थप गरेको जनाइएको छ । यस्तै स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र संक्रामक रोग ऐन २०२० को दफा २ लाई पनि निषेधाज्ञा थप गर्ने आधारको रुपमा प्रशासनले लिएको छ ।
कोभिड १९ को महामारीको दोस्रो लहर सुरु भएर निषेधाज्ञा लगाउन चर्को दवाव परेपछि मोरङ प्रशासनले पहिलो पटक बैशाख १८ गते राती १२ बजेदेखि निषेधाज्ञा लगाएको थियो ।





