विराटनगर । प्रदेश १ का विपक्षी दलहरुले संसद्को बजेट अधिवेशन तत्काल बोलाउन माग गर्दै आइतबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई भेटेका छन् । प्रदेश सरकारले संसद् छलेर अध्यादेशमार्फत बजेट ल्याउने आशंका गर्दै संसद्बाहिरबाट बजेट नल्याउन खबरदारी गर्दै आएका विपक्षीले प्रदेश प्रमुखलाई भेटेर अधिवेशन आह्वानको पहल गरिदिन आग्रह गरेका हुन् ।
प्रदेश प्रमुख अधिकारीले यसबारे सरकारसँग सल्लाह गर्ने वचन दिएका छन् । असार १ मा प्रदेशले बजेट ल्याउने चलन छ । यसपटक प्रि बजेट छलफलको म्याद गुज्रिसकेको छ । मुख्यमन्त्री शेरधन राईले संसद् छलेर बजेट ल्याउने सरकारको कुनै योजना नरहेको बताउँदै आएका छन् । तर, अहिलेसम्म बजेट अधिवेशन बोलाउने तयारी पनि सरकारले गरेको छैन । ‘सरकारले महामारीलाई बहाना बनाएर संसद् निरन्तर छल्न खोजिरहेको छ’, प्रदेश प्रमुख भेटेर फर्केका माओवादी सांसद कुलप्रसाद साम्बाले भने ‘त्यसैले अधिवेशन बोलाउन पहल गरिदिन हामीले प्रदेश प्रमुखलाई भेटेका हौं । उहाँले सरकारसँग छलफल गर्ने र पहल गर्ने वचन दिनुभएको छ ।’
काँग्रेस प्रमुख सचेतक केदार कार्कीले प्रदेश आर्थिक नियमावली र कार्यविधि सरकारले उल्लंघन गरिसकेको बताउँदै संविधानको पालना गराउन सरकारलाई सजग गराउन प्रदेश प्रमुखलाई आग्रह गरेको जानकारी दिए ।
काँग्रेसका दलका नेता राजीव कोइराला, प्रमुख सचेतक कार्की, सचेतक सूयर्माराज राई, जनता समाजवादी दलका नेता जयराम यादव, माओवादीका सांसदद्वय लिम्बु र विजय विश्वाससहितको टोलीले प्रदेश प्रमुखलाई भेटेको थियो । ‘प्रदेश सरकारले संविधान, ऐन सबै मिच्न थालेको छ’, काँग्रेस प्रमुख सचेतक कार्कीले भने ‘संविधान मिच्ने सरकारी कदममा प्रदेश प्रमुखले संविधानले किटान गरे अनुसार सरकारलाई सजग गराउनु पर्यो भनेर हामीले आग्रह गर्यौं ।’






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।