विराटनगर । बंगालको खाडीमा विकसित यास् चक्रवातको नेपालमा पनि प्रभाव देखिएको छ । शुक्रबार प्रदेश १ लगायत देशका अधिकांश भागमा हल्का तथा मध्यम वर्षा भइरहेको र त्यो बिस्तारै पश्मिोत्तर सर्ने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखले जनाएको छ ।
महाशाखाले प्रकाशन गरेको बुलेटिनमा आइतबारसम्म प्रदेश १ को मैसममा सुधार नहुने र वर्षा जारी रहने जनाएको छ । शुक्रबार दिउँसोबाट प्रदेश १ मा अति भारी वर्षा हुने भन्दै सजग रहन पनि आव्हान गरेको छ ।
महाशाखाले शुक्रबार दिउँसो र राति प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा अति भारी वर्षा र उच्च वेगको हावाहुरीको सम्भावना रहेको जनाएको छ । यसैगरी उच्च हिमाली तथा पहाडी भूभागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको पनि बुलेटिनमा उल्लेख छ ।
शनिबार पनि प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ । आइतबार मौसममा केही वदलाव आउने तर प्रदेश १ मा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

