विराटनगर । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रदेश १ लगायत मुलुकका अधिकांश भागमा आगामी दिन दिन उच्च बेगको हावा हुरी र भारी वर्षा हुने भन्दै सचेत र सतर्क रहन आग्रह गरेको छ ।

बुधबार एक नोट जारी गर्दै प्राधिकरणले बिहीबार, शुक्रबार र शनिबार बाढी पहिरो र हुरी बतासका कारण धनजनको क्षति हुनसक्ने तर्फ सतर्क भई जोखिम क्षेत्रका बस्ती स्थानान्तरण गर्नसमेत भनेको छ ।

बंगालको खाडीमा चलेको यास चक्रवातका कारण विकसित जलवायुको प्रभाव र असरका कारण बिहीबारदेखि शनिबारसम्म कर्णाली र सुदूरपश्चिमबाहेक सबै प्रदेशमा उच्च वर्षा र बाढी पहिरोको जोखिम बढेको बताइएकनो छ । गृहले हिमाल आरोहणमा गएकाहरुलाई फर्काउन पनि भनेको छ ।

प्राधिकरणका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती र लुम्बिनी प्रदेशको तराई भेगमा भारी वर्षा र उच्च वेगको हावाहुरी चल्ने सम्भावना छ भने गण्डकी, वाग्मती र प्रदेश १ को हिमाली एवं उच्च पहाडी भूभागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने सम्भावना छ ।

त्यस्तै, आफ्नो आसपासको ठाउँमा बाढी पहिरो डुबान, कटान आदि जोखिमयुक्त अवस्था देखिएमा विपद् व्यवस्थापन समिति वा सुरक्षा निकाय वा पालिकामा खबर गर्न पनि आग्रह गरिएको छ । सम्भावित बाढीको खबर पाउन ११५५ मा फोन गर्न पनि प्राधिकरणले आग्रह गरेको छ ।