अप्सरा बानियाँ निरौला
कोभिड १९ महामारीले देश आक्रान्त भएको बेला कुर्सीको दौडमा निस्किएका केहि थान नेताहरुले देशलाई बर्वाद बनाएका छन् । कोभिडले हुँदा खाने र हुने खाने बीचको अन्तर प्रष्ट छुट्याएको छ । देशका लाखौँ लाख जनता भोकभोेकै बस्न बाध्य भएका छन् । रोगले भन्दा भोकले नागरिकहरु मर्न थालेका छन् । बिरामीले उपचार पाएका छैनन् । पहिलो डोज खोप लगाएका १२ लाख ज्येष्ठ नागरिकले दोस्रो डोज खोप लगाउन पाएका छैनन् । यस्तो बेला सत्ताका लागि निर्मम भएर लागेका खड्ग प्रसाद ओलीको झुटको खेतीपाति खुब मौलाएको छ ।
दिनलाई रात बनाउन सक्ने ओलीले जनतालाई झुक्याउन सक्ने खुबीको खुबै विकास गरेका छन् । आफ्ना वरीपरी घुम्ने मान्छेहरु सबै उनको जयजयकार गर्ने मात्र छन् । हरेक कार्यकर्ताले आफ्नो देवत्वकरण गरुन् भन्ने ओलीको बुझाई प्रष्ट देखिन्छ । उनका अधिकांश कार्यकर्ताहरु दलालीकरण भैसकेका छन् । समाजमा खुल्ला रुपमा चिनिएका तस्कर ,गुण्डा , दलाल र माफियाहरु मात्र ओलीको प्रिय पात्र र सहयोगी बन्न सक्छन् ।
नेपालको कम्युनिष्ट आन्दोलन लाई दशकौँ पछि धकेल्न उद्धत देखिएका ओलीले राष्ट्रवादको खोक्रो नारा घन्काएका छन् । भारतीय शासकको इसारामा देशको राजनीति चलाउने , एमसीसी जस्ता राष्ट्रघाती सम्झौता गरेर नेपाललाई समृद्ध बनाउने कलंकित सपनाहरु बाँडिरहन्छन् । महामारीको चपेटामा भरपेट खानसमेत नपाएका नेपाली मजदुर, किसना र सुकुम्बासीलाई राहतको नाममा एक गेडो चामलसमेत दिन नसक्ने ओलीले चुनावको मिति घोषणा गराएका छन् । नहुने चुनावको मिति घोषणा गरेर आफ्नो सत्ता टिकाउने खेलमा लागेका खतरनाक अवसरवादी ओली देशलाई निरङ्कुशता तर्फ धकेल्न चहान्छन् ।
हरेक आन्दोलनमा पश्चगामी सोचाई राख्ने ओली गणन्तत्र नेपालमा आउँनै नसक्ने विगतको उनको टपरटुइयाँ भाषणले समेत बुझाउँछ । यस्ता हावादारी गफ गर्ने ओली नेपाली जनताका प्रगतिका बाधक हुन् । त्यसैले ओली प्रवृतिको विरुद्ध सम्पुर्ण क्रान्तिकारी एकजुट हुन आवश्यक छ । देशलाई राजनीतिक निकास दिनका लागि उत्पीडित वर्ग ,जाति ,क्षेत्र तथा लिङ्गको विरुद्धको उत्पीडनको अन्त्य गर्न महान जनयुद्ध लडेका सम्पूर्ण माओवादीहरु एक हुन जरुरी छ ।
सर्वहारा क्रान्तिमा अग्रदस्ताको भूमिका माओवादीले मात्र खेल्न सक्छन् । त्यसले उत्पीडित वर्ग , जाति ,क्षेत्र ,लिङ्गको संयुक्त राज्यसत्ता निर्माण गर्न फेरिपनि माओवादी एकपटक डटेर महान् जनविद्रोहको नेतृत्व लिन आवश्यक छ । देशमा देखिएका अन्याय ,अत्याचार , हत्या ,हिंसा, बलात्कार ,रोग,भोक ,शोक यी यावत समस्याले पनि देशमा ठूलो विद्रोहको माग गरेको छ । यस्तो बेला दुईतिहाई मत पाएको आफुलाई बामपन्थी भन्ने सरकारको रबैयाले पनि देशलाई विद्रोह तर्फ धकेलेको छ । त्यसैले क्रान्तिकारी चेत भएका नागरिकले मात्र होइन आफुलाई सचेत नागरिक ठान्ने हरेक नेपालीले अहिलेको निर्वाचन प्रणालीलाई बहिष्कार गरेर गोपाल किरातीको नेतृत्वमा रहेको नेकपा (माओवादी)ले भन्दै आएको समाजवादी निर्वाचन प्रणाली अवलम्बन गरिनु पर्दछ ।
हाल रहेको दलाल तथा नोकरशाही पुँजीवादी निर्वाचन प्रणाली खारेज गरी बहुवर्गीय र श्रमिकवर्गीय समाजवादी निर्वाचन प्राणाली लागू हुनुपर्दछ । यो समाजवादी निर्वाचन प्रणाली अन्तर्गत देशलाई एक निर्वाचन क्षेत्र मानेर पूर्ण समानुपातिक रुपमा निर्वाचन गराउनु पर्दछ । जसमा श्रमिक किसानको जसंख्याको आधारमा ६५ प्रतिशत प्रतिनिधिसभा सदस्य हुनेछन् । त्यसरी नै मजदुर जनसंख्याको आधारमा २० प्रतिशत मजदुर प्रतिनिधिसभा सदस्य हुने र पुँजीपति वर्गको जनसंख्याको आधारमा १५ प्रतिशत पँुजीपतिहरुले प्रतिनिधिसभा सदस्य बन्ने छन् । यी सबै किसान ,मजदुर र पुँजीपति तहको प्रतिनिधिसभामा ५० प्रतिशत महिला अनिवार्य हुनु पर्दछ । यस्तो निर्वाचन प्रणालीले मात्र नेपाली जनतालाई समृद्ध, सुखी र खुसी बनाउन सक्छ ।