विराटनगर । कोरोना महामारीबीच संसद विघटन गर्दै सरकारले नयाँ चुनाब घोषणाा गरेपछि प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु त्यसको बचाउमा सामाजिक सञ्जाल रंगाइरहेका छन् । यो बेला प्रदेशमा भने कोरोना परीक्षण गर्ने रिएजेन्ट अभाबमा पीसीआर प्रयोगशाला बन्द हुन थालेको छ ।
प्रदेशमा रिएजेन्ट अभाबकै कारण प्रयोगशालामा परीक्षण घटेको छ । भने झापाको मेची अस्पतालको प्रयोगशालाले परीक्षण बन्द गरेको छ ।
मेची अस्पतालले पीसीआर किट (रिएजेन्ट) को अभाव भएको भन्दै शनिबार सूचना जारी गरेर अनिश्चितकालका लागि परीक्षण बन्द गरेको हो । अस्पतालका सूचना अधिकारी मनोज पोखरेलका अनुसार दैनिक २०० जनाको परीक्षण भइरहेको अस्पतालको प्रयोगशालालाई सरकारले किट उपलब्ध नगराएपछि परीक्षण बन्द भएको हो ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले किट छैन भनेकोले परीक्षण बन्द गर्नुपरेको अस्पतालले जनाएको छ । मन्त्रालयले ७ दिनअघि ५०० किट उपलब्ध गराएकोमा त्यो सकिएको अस्पतालले जनाएकोछ । मेची मात्र हैन अन्य प्रयोगशालामा पनि किट सकिँदै गएको छ । किट अभाबकै कारण दैनिक २ हजारभन्दा धेरै परीक्षण भइरहेकोमा बिहीबार १ हजार ४ सय र शुक्रबार १ हजार ७ सयको मात्र परीक्षण भएको छ ।
सामाजिक विकास मन्त्रालयका सचिब सचिव गोविन्दबहादुर कार्कीका एन्टिजेन किट अभाव नभएकोले पीसीआर परीक्षण घटेको भएपनि बिहीबार थप १४ हजार ७ सय ५० थान एन्टिजेन किट आएको बताए । तर, त्यो पर्याप्त नभएको उनको भनाइ छ ।
मेची अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पीताम्बर ठाकुरले अस्पतालले खरिद गर्ने प्रयास गर्दा पनि आपूर्तिकर्ताहरूले तत्काल रिएजेन्ट उपलब्ध गराउन असमर्थता देखाएकोले परीक्षण बन्द गर्नुपरेको बताए । सरकारले किट उपलब्ध गराएपछि मात्र परीक्षण सुरु हुने उनको भनाई छ । मेचीको प्रयोगशालामा ताप्लेजुङ, इलाम, पाँचथर र झापामा संकलित स्वाब परीक्षण हुने गरेको थियो ।
प्रदेश १ मा कोशी अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेची अस्पताल, कन्काई कोटिहोम प्रयोगशाला र अन्य निजी क्षेत्रका केही अस्पतालमा कोरोनाको पिसिआर परीक्षण हुँदै आएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले किट अभाबको समस्या प्रदेशभरिका प्रयोगशालामा रहेको बताउँदै आपूर्तिका लागि पहल भइरहेको बताए ।
किट अभाबकै कारण धरानको बीपी प्रतिष्ठानमा स्वाबको नमुना संकलन नै कम गरिएको प्रतिष्ठानले जनाएको छ । यसअघि दैनिक एक हजारसम्मको स्वाब संकलन गरेर परीक्षण गर्ने प्रतिष्ठानले अहिले दैनिक सयदेखि डेढ सयसम्म मात्रै संकलन गरिरहेको छ ।
प्रदेश १ प्रदेशसभाको सामाजिक विकास समितिले शुक्रबार आयोजना गरेको छलफलमा पनि अस्पतालका प्रतिनिधिहरुले किट अभाब रहेको समस्या सुनाएका थिए । उनीहरुले एकातिर किट अभाब रहेको र अर्कोतिर उपचार र पीसीआर परीक्षणको लागि सर्वसाधारणको आवगमन भइरहेकाले संक्रमण रोकथाममा समस्या भएको बताएका थिए ।