लीलावल्लभ घिमिरे
आदरणीय कमरेड माधव कुमार ज्यू,
कोरोनाले देश र जनतालाई त्राहिआम पारिरहेका बेला यो पत्र लेख्न लागिरहेको छ । कमरेड ! हामीलाई यहाँ बाच्न गाह्रो छ । साथीभाई, आफन्त, अभिभावक कोही नभनी कोरोनाले लागिरहेको छ । अस्पतालमा बेड छैन । भेन्टिलेटर पाउन आज हरेक विरामीलाई तपाईको पार्टीमा सांसदको टिकट पाउनभन्दा पनि गाह्रो छ । अक्सिजन नपाएर जनता मरिरहेका छन् । यो बेला कमरेड तपाईको गाथमा आराम रहोस् भन्ने कामना गर्छु । हुन त तपाईलाई पनि यतिबेला सास नै फेर्न कठिन भइरहेको होला । आज तपाईलाई आफूले बनाएको पार्टी ‘नखाउँ त दिन भरको शिकार, खाउँ त कान्छा बाको अनुहार’ भन्ने उखान जस्तै भएको होला । यो तपाईको अहिलेको पीडा जनतालाई कोरोनाले दिएको पीडाभन्दा कम त छैन । कमरेड ! धेरै दुःख परेका बेला सम्झनका लागि मात्र यो पत्र कोर्ने दुश्प्रयास गरेको हुँ ।
कमरेड ! तपाईले जतिबेला नेकपा एमालेको नेतृत्व गरिरहनु भएको थियो, त्यसबेला तपाईसँग जोडेर नेकपा एमालेलाई एउटा आरोप लाग्ने गथ्र्यो, ‘नेकपा एमाले, न भाले न पोथी ।’ त्यसबेला मलाई लाग्थ्यो, माधव नेपालजस्तो दुरदर्शी, स्वच्छ, अटल, अनुसाशित, प्रष्ट र निडर लिडरलाई मिथ्या आरोप लगाउँछन् । तर, अहिले आएर तपाईले मलाई गलत सावित गरिदिनु भयो । त्यसबेला तपाईलाई लगाएको आरोप सही रहेछ । वास्तवमा तपाई अहिले कुन पार्टीको हो भन्ने कुरा मलाई चाही थाहा छैन ।
कमरेड ! नेपाल आज तपाईको हालत देख्दा मलाई सानो छँदाको एउटा सत्य घटनाको याद आयो । मेरो घर धनकुटा जिल्लाको तत्कालीन तेलिया गाविस हो । हाम्रो घरनजिकै एकजना गुमाने नाम गरेका साइनोले काका पर्ने हुनुहुन्थ्यो । काकाको घर राम्रैसँग चलिरहेको थियो । काकाको स्वभाव रमाइलो थियो । काका धेरै उखानतुक्का सुनाउनु हुन्थ्यो । घरपरिवार मात्र हैन काकाका उखान तुक्काले छरछिमेक पनि रमाइ–रमाइ हाँस्थे । मलाई पनि गुमाने काका सुन्न बढो रमाइलो लाग्थ्यो । काकाको कान्छो भाई लाहुरतिर फसेका दिए । निकै राम्रोसँग पैसा कमाएछन् । भाइले जति कमाए, सबै विश्वासमा दाईकै नाममा पैसा पठाएछन् । दश वर्षपछि भाई विदेशवाट फर्के । गुमाने काकाले भाईलाई फकाएर पैसा सबै हात पारे । गुमाने काकाले भाईका पैसाले जग्गा दलाली गर्नथाले । देख्दादेख्दै गुमाने काका घोडा चढ्ने भए । खरको छानो फेरियो, च्यादर टल्कन थाल्यो । कादोको ढिँडोको ठाउँमा बास्मती चामलको गन्ध आउन थाल्यो । काकाको कायापटल भयो । उखाने काका अब मोजमस्तीतिर लागे । विदेशबाट आएको भाईलाई घरबाटै निकाले । सबै पैसा आफंैले हडपे । विचरा भाई ! एकसरो कपडामा घरबाट निस्कियो ।
भाईलाई लखेटेपछि गुमाने काकाको आत्माबल अझ बढ्यो । अब काकाले घरमा आएर बुढा भएका बाउआमा, छोराछोरी मात्र हैन श्रीमतीलाई समेत दुःख दिन थाले । गुमाने काकालाई के भ्रम प¥यो भने, यो सम्पति मैले मात्र कमाएको हो । यसको मालिक म मात्र हुँ । अनि यसको भोग म मात्र गर्छु । गुमाने काकाको यो सोचले हिजोसम्म सुन्दर र शान्त तथा गाउँम प्रतिष्ठा कमाएको घर अब रडाकोको भुमरीमा फस्यो । काका हरेक साँझ मस्त दारु खाएर आउनथाले, दैनिकजसो काकीलाई कुट्न थाले । हिजोसम्म गुमाने काकाका उखान सुन्न जम्मा हुने गाउँले दुई जनाको झगडा मिलाउन जम्मा हुनथाले । गुमानेको घरको झगडा दैनिकी बन्यो । सारा गाउँलाई नै काकाले रमिता देखाए । धेरै पटक काकीले घुर्की लगाउँदै घर छोडिन्, गाउँलेले फकाएर ल्याइदिन्थे । एकदिन निकै ठूलो झगडा प¥यो । काकाले काकीलाई निकै नमज्जाले कुटे । गुमाने काका काकीलाई मात्र हैन घरका बाआमा, छोराछोरी सबैलाई मुखमा आए जति सबै थोकले गाली गर्थे ।
घरमा बस्न नसकेर निस्केकी काकी धेरै दिन फिरिनन् । काका त्यसैबेला विरामी परेछन् । मेरा बालाई बोलाएर गुमाने काकाले जसरी हुन्छ, श्रीमतीलाई फकाएर ल्याइदिन भने । विरामले पानीसमेत खान नसक्ने भएको छु, भनेपछि हाम्रा बाको पनि मन फिरेछ क्यारे । सबै गाउँलेलाई राखेर अबदेखि श्रीमतीलाई नकुट्ने र रक्सी पनि नखाने सर्तमा बाले काकीलाई घर फर्काइ दिनुभयो । गाउँका पञ्च भलाद्मी बसे । गुमाने काकाले कसम खाए । काकी घर फर्किन् । दुई/चार दिनमा गुमाने काका काकीको स्याहार पाएपछि तंग्रिएछन् । काका फेरि उखान भन्नथाले । हिजोको बाचा काकाले भुले । भट्टीतिर जान थाले । फेरि महिना वित्न नपाउँदै काकीलाई कुट्नथाले । पहिलाको भन्दा अझ रडाको गुमानेको घरमा चल्नथाल्यो । त्यसपछि गाउँका कोही पनि जानछोडे । हरेक रात काकीका चित्कार सुन्नु गाउँलेको नियती नै बन्नपुग्यो ।
कमरेड नेपाल ! यो कथा तपाईको राजनीतिसँंग मेल खान गयो भने संयोग मात्र हुनेछ । गुमानेकी श्रीमतीको जस्तै अवस्था भोलि तपाईको नआउला भन्ने ठाउँ छैन । त्यसैले कमरेड एकपटक सोच्नुहोस् । तपाईको अहिले दोधारे चरित्रले तपाईलाई त घाटा न नाफा । नेकपा एमालेको प्रमुख व्यक्ति भएर पार्टी चलाइहाल्नु भयो । अनि राजनीति गर्ने भनेको प्रधानमन्त्री बन्नका लागि हो, त्यो पनि बनिहाल्नु भो । तर, तपाईको पछाडी जति लागेका छन्, तिनीहरुको भविष्यका वारेमा एकपटक सोच्नुहोस् । अनी एउटा निर्णय लिनुहोस् । नत्र फेरि तपाईको हालत गुमानेकी श्रीमतीको जस्तै हुनेछ । हुन त तपाईसँग वामदेवको जतिको पनि हिम्मत छैन भन्ने देखिएको छ । त्यसैले अब तपाई यदि मेरो सल्लाह मान्नुहुन्छ भने खुरुक्क ओली बासँग कुनैपनि भाग नखोजी आत्मसमर्पण गर्नुहोस् । र महाधिवेशनको तयारीका लागि जिल्ला दौडन थाल्नुहोस् । हुन त हिजो कमरेड प्रचण्डले पनि भाग नखोजी महाधिवेशनका लागि जिल्लातिर पार्टी संगठन गर्न लाग्नुभएको भए आजको अवस्था आउने थिएन होला । त्यो सकिएको कुरा भयो । कमरेड माधव तपाईलाई मैले कुनै अर्ती उपदेश दिएको हैन् । तपाईमा भएको क्षमता मात्र हेर्न चाहेको हो । अब पनि तपाईले आफ्नो राजनीतिक क्षमतको प्रदर्शन गर्न सक्नुभएन भने फेरि पनि गुमानेकी श्रीमतीको ताल हुने छ । आगे माकुने कमरेडको जो विचार ।