विराटनगर । प्रदेश १ मा एक हप्तामा ६ हजार २ सय ४२ जनामा कोरोना संक्रमण भएको छ । यस अवधिमा ९३ जनाको मृत्यु भएको छ । गत हप्ता वैशाख २७ गतेदेखि आज (जेठ २ गते आइतबार) सम्मको तथ्यांक समीक्षा गर्दा संक्रमणको दर १ प्रतिशत मात्रै घटेको छ । मृत्यु दर भने उस्तै देखिएको छ ।
तथ्यांक अनुसार वैशाख २७ गते १ हजार ९ सय ८२ जनाको परीक्षण गर्दा ९ सय ३७ जना अर्थात् ४७ दशमलव २७ प्रतिशत संक्रमणको दर देखिएको थियो । यो तथ्यांक जेठ २ गते आइपुग्दा पनि खासै परिवर्तन भएन । जेठ २ गतेको तथ्यांक अनुसार २ हजार २ सय २० जनाको कोरोना परीक्षण गर्दा १ हजार २७ अर्थात् ४६ दशमलव २६ प्रतिशतलाई संक्रमण देखिएको छ । औषतमा यो हप्ताको तथ्यांक अनुसार परीक्षण भएका १३ हजार ७२ जनामध्ये ६ हजार २ सय ४२ जना अर्थात् ४८ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ ।
तथ्यांक अनुसार गत वैशाख २७ गते मृतकको संख्या प्रदेश १ मा ११ जना थियो । जेठ २ गते आइपुग्दा पनि मृतकको संख्या अझै बढेर १६ जना पुगेको छ । यो हप्ता भरिमा कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ९३ पुगेको छ । संक्रमितको संख्यालाई हेर्दा मृतकको प्रतिशत १ दशमलव ४९ रहेको छ ।
अब दुई हप्तामा संक्रमणदर घट्ने विश्वास
तथ्यांकलाई हेर्दा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै गरिएको निषेधाज्ञाले खासै असर नगरेको देखिन्छ । यसको कारण मानिसहरुमा अनुशासनहिनता बढ्नु, कोरोनालाई खेलाँचीको रुपमा लिनु र सरकारको अपिललाई अस्वीकार गर्नु नै संक्रमणदर नघट्नुको मुख्य कारण भएको अधिकारीहरु बताउँछन् ।
‘निषेधाज्ञा भए पनि मानिसको सतर्कता कम भएको थिएन । संक्रमण समुदायमा उच्च रहेको थियो । संक्रमितहरुको परीक्षण पनि पूर्णतः भई सकेको अवस्था थिएन,’ डाक्टर बालकृष्ण साह बताउँछन्, ‘त्यसैले प्रारम्भिक चरणमा संक्रमणको दर बढ्दै गएको थियो । तर मृत्युुका खबरहरूले अब मानिसहरुको व्यवहारमा परिवर्तन भएको छ, सावधानी अपनाएका छन् र निषेधाज्ञा पनि कडाई गरिएकाले अब पक्कै संक्रमणको दर घट्ने अनुमान गरिन्छ ।’
जनस्वास्थ्य विज्ञ डाक्टर नवराज सुब्बाको धारणा पनि उस्तै छ । ‘सामान्यतया संक्रमणको अवधि चाहिं २ हप्ताको हुन्छ । एउटा मानिसमा संक्रमण सुरु भएको छ भने १४ दिनपछि मात्रै संक्रमण नहुने अवस्थामा पुग्छ । १४ दिनमा चाहिं फ्रन्टलाइनमा आएकोलाई चाहिं कभर गर्यौं, तर उसले अर्को व्यक्तिलाई सारेको अवस्थामा फेरि अर्को २ हप्ता लाग्छ,’ उनकाे भनाइ छ, ‘यसकारण १ महिना न्यूनतम चेन ब्रेकको अवस्थामा राख्नु पर्छ । अबको १ हप्ता र २ हप्ता पछि संक्रमणको दर कम भएर आउँछ भन्ने मलाई लाग्छ, लकडाउन चाहिं अझै कडा गर्नु पर्दछ ।’
पुरुषको तुलनामा महिलामा संक्रमण र मृत्युदर कम
यो हप्ताको तथ्यांक अनुसार पुरुषको तुलनामा महिला संक्रमितको संख्या १६ प्रतिशत कम देखिएको छ । ६ हजार २ सय ४२ जना संक्रमितमध्ये महिलाको संख्या २ हजार ६ सय ८ अर्थात् ४२ प्रतिशत देखिएको छ भने पुरुषको भने ३ हजार ६ सय ३४ अर्थात् ५८ प्रतिशत देखिएको छ । महिला संक्रमितको मृत्यु दर पनि पुरुषको तुलनामा कम देखिएको छ । महिलाको मृत्युदर ० दशमलव ८८ प्रतिशत देखिएको छ । जम्मा मृत्यु भएका संख्या ९३ रहँदा महिला मृतकको संख्या २३ छ भने पुरुषको ६९ जना रहेको छ । यता, पुरुष संक्रमितको मृत्यु दर भने १ दशमलव ९० रहेको प्रदेश १ सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ । जम्मा मृतक प्रतिशतमा महिलाको २५ प्रतिशत रहँदा पुरुषको भने ७५ प्रतिशत रहेको छ ।
महिला संक्रमण र मृत्यु दर कम हुनुमा प्राकृतिक गुण नै प्रमुख रहेको जनस्वास्थ्य विज्ञहरु बताउँछन् । ‘महिलाहरूको सरदर आयु पनि पुरुषको भन्दा बढी हुन्छ । अन्य देशमा पनि पुरुषहरूमा नै संक्रमण दर र मृत्युदर पनि बढी देखिएको छ,’ जनस्वास्थ्य विज्ञ सुब्बा बताउँछन्, ‘कोरोनामात्रै नभएर अन्य संक्रामक रोगहरुको अवस्था पनि त्यस्तै छ, यो प्राकृतिक रुपमा पनि महिलाहरुको रोग प्रतिरोधी क्षमता बढी भएको मान्न सकिन्छ ।’
महिलाहरु पुरुषको तुलनामा कम बाहिर जाने र जोखिम मोल्ने ठाउँमा कम जाने भएको कारण संक्रमण कम हुनुको अर्को कारण भएको सुब्बाको दाबी छ । ‘अर्को कुरा भनेको महिला भन्दा पुरुष नै बाहिर धेरै जाने, लड्ने भिड्ने काममा जाने, जोखिममा बढी पुरुषहरुनै बढी जाने गरेको कारण पनि त्यस्तो भन्न सकिन्छ,’ उनले भने, ‘विराटनगरको पनि अन्य ठाउँमा र विश्वमा पनि महिला भन्दा पुरुषहरुकै संक्रमण दर र मृत्युदर पनि बढी छ ।’
डाक्टर साहको धारणा पनि सुब्बाको धारणासँग मिल्दोजुल्दो छ । ‘कोरोनाको संक्रमण आफै हुँदैन । महिलाहरू प्रायः घर बाहिर नजाने, बाहिरको मानिसहरूसँग घुलमिल नहुनु र यात्रा पनि कम हुनु यसको कारण हुन सक्छ,’ डाक्टर साह बताउँछन्, ‘यद्यपि यिनै कारणले हो भन्ने कुनै अध्ययन, अनुसन्धान भएको छैन ।’