तत्काल अक्सिजन प्लान्ट असम्भव

प्रदेश १ मा तत्काल अक्सिजनको अभाव छैन

विराटनगर । कोरोनाबाट संक्रमित हुने दरसँगै बढेको अक्सिजनको माग पूर्ति गर्न प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले कोशी कोभिड अस्पतालमा छुट्टै अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी गरेको भएपनि तत्काल सम्भव नहुने भएको छ ।

अक्सिजन प्लान्ट स्थापना गर्न नेपालमा तत्काल उपकरणहरु नभएको र विदेशबाट ल्याउँदा पनि प्रक्रियामा कम्तिमा तीन महिना समय लाग्ने भएपछि अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयास अघि नबढ्ने देखिएको हो ।

कोरोना उपचारका लागि १८० बेडसहितको कोशी कोभिड अस्पतालमा दैनिक ४ सय सिलिण्डर अक्सिजन खपत हुँदै आएको छ । अहिले ९६ बेड सञ्चालन हुँदा ४०० सिलिण्डर अक्सिजन खपत भइरहेको अस्पतालले सबै बेडमा बिरामी उपचार थालेको खण्डमा ७०० सिलिण्डरभन्दा बढी अक्सिजन दैनिक आवश्यक पर्नेछ ।

संक्रमणको दर बढेसँगै अक्सिजन माग बढेकोले आफ्नै अक्सिजन प्लान्ट राख्ने विषयमा मन्त्रालयले छलफल गरेको थियो । तर, तत्काल प्लान्ट राख्न सम्भब नरहेको र निजी क्षेत्रपनि अनिश्चित व्यवसायमा लगानी गर्न तत्पर नहुने देखेपछि मन्त्रालयले अक्सिजन प्लान्टका लागि एक पटक स्वीस सरकारलाई अनुरोध गर्ने निष्कर्शमा पुगेको छ ।

संघीय सरकारको सहयोग भएको खण्डमा अक्सिजन प्लान्टका लागि आवश्यक पर्ने उपकरण छिटो माध्यमबाट ल्याउन सकिने सुझाव निजी क्षेत्रले प्रदेश सरकारलाई दिएको छ । तर, यो विषय प्रदेश सरकारको काबुभन्दा परको भएकोले अक्सिजन आपूर्ति गर्दै आएका उद्योगहरुलाई आवश्यक पर्ने कच्चा पदार्थको प्रवन्ध मिलाउनेमै ध्यान दिनु उपयुक्त हुने सुझाव पनि सरकारलाई दिइएको छ ।

विराटनगरस्थित नोबेल मेडिकल कलेजसँग भने ३०० बेडका लागि आवश्यक पर्ने अक्सिजन प्लान्ट छ । नोबेलले आफ्ना बिरामीको उपचारमा आफ्नै प्लान्टबाट उत्पादन गरेको अक्सिजन प्रयोग गर्दै आएको थियो । तर, कोभिडका बिरामीको संख्या बढेपछि उसले पनि विभिन्न उद्योगहरुबाट दैनिक ३०० सिलिण्डर अक्सिजन खरिद गरेर बिरामीको उपचार गर्दै आएको छ । नोबेलका प्रवन्धक नारायण दाहालका अनुसार नोबेलले ठूलो क्षमताको अर्को अक्सिजन प्लान्ट पनि स्थापना गरिरहेको छ । बढीमा ७ दिनभित्र प्लान्ट स्थापना भइसक्ने जानकारी उनले दिए । त्यसपछि भने नोबेल अक्सिजनमा आत्मनिर्भर हुनेछ ।

विराटनगरमा सञ्चालित अन्य अस्पतालहरुमा भने आफ्नै अक्सिजन प्लान्ट छैन । उनीहरुले उद्योगहरुमै भर पर्नुपर्ने अवस्था छ । उद्योगहरुसँग पनि केमिकल लिक्वीड न्यून मौज्दात रहेको बताइएको छ । उद्योग सञ्चालकहरुले कच्चा पदार्थको अभाव रहेको जानकारी सरकारलाई दिइसकेका छन् । यद्यपी उनीहरुले भारतबाट कच्चा पदार्थ आयातका लागि निरन्तर प्रयत्न भने जारी राखेका छन् ।

यसैबीच संघीय सरकारले सबै निजी अस्पतालहरुलाई १५ दिनभित्र आफ्नै अक्सिजन प्लान्ट स्थापना गर्न निर्देशन दिएको छ । अक्सिजनको चरम अभावको अवस्था अन्त्य गर्न प्लान्ट स्थापना गर्न सरकारले निर्देशन दिएपनि सम्भव नरहेको अस्पताल सञ्चालकहरुले बताएका छन् ।
अस्पतालले २०० बेडका लागि आवश्यक पर्ने अक्सिजन उत्पादन गर्ने प्लान्ट राख्न कम्तिमा पनि एक करोडदेखि डेढ करोड लगानी गर्नुपर्ने बताइएको छ । त्यसमाथि अहिले प्लान्टका लागि आवश्यक उपकरणकै अभाव रहेको अवस्थामा सरकारको निर्णय कार्यान्वयन हुने कुनै सम्भावना नरहेको अस्पताल सञ्चालकहरुले बताएका छन् ।

अहिलेसम्म प्रदेश १ मा अक्सिजनको अभाव भइसकेको छैन । सुनसरी, मोरङ र झापामा गरी चार वटा अक्सिजन प्लान्ट अहिले सञ्चालनमा छन् । सञ्चालनमा रहेका अधिकांश प्लान्टहरु ‘केमिकल लिक्वीड’ प्रशोधन गरेर अक्सिजन उत्पादन गर्ने प्रकृतिका छन् । सारडा ग्रुपले सञ्चालन गर्दै आएको अक्सिजन प्लान्टले भने केमिकल लिक्वीड र हावा दुबै विधिबाट अक्सिजन उत्पादन गर्ने गरेको छ ।

यस क्षेत्रमा सञ्चालित अक्सिजन उद्योगहरुलाई यतिबेला काठमाण्डौ, पोखरा, बुटवल र सुदुरपश्चिमबाट अक्सिजन आपूर्ति गर्नुपर्ने चाप पनि थपिएको छ । अक्सिजन अभावले बिरामीहरुको ज्यान जान थालेपछि यहाँका उद्योगहरु पनि दवावमा परेका छन् ।

झापा, मोरङ र सुनसरीमा बन्द अवस्थामा तीन वटा अक्सिजन प्लान्ट रहेको र सामान्य मर्मत गर्दा सञ्चालनमा आउनसक्ने अवस्था रहेको सामाजिक विकास मन्त्री उषाकला राईका सल्लाहकार तुलसी पोखरेलले जानकारी दिए । उनले मन्त्रालयले सबै विवरण र जानकारी लिएर राखेको र आवश्यकता अनुसार निर्णय गर्नसक्ने बताए ।

शुक्रबार, ३१ बैशाख, २०७८, दिउँसोको १२:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर