लीलावल्लभ घिमिरे
मान्छेहरुका हुल बजारमा देख्दा उदेक लाग्छ । एक मनले सोच्छु समातेर भटाभटी पिट्न थालौं । प्रशासनले निषेधाज्ञा जारी गरेको छ । कोरोनाले मान्छेहरु भटाभट ढलिरहेका छन् । तर, मान्छेहरु बाहिर निस्कन छोड्दैनन् । लाग्छ, उनीहरु बाहिर निस्कदा हैन, घरभित्र नै बस्दा निसासिएर मर्नेछन् ।
बजारमा मास्कसमेत नलगाई छाती फुलाएर हिड्ने मान्छेहरुका हुल देख्दा लाग्छ, उनीहरुले मृत्युलाई जितिसकेका छन् । कोरोना सोरोना केही छैन्, लागिहाल्यो भनेपनि १÷२ पटक हाछ्यूँ गरेर भाग्छ । बजारमा यसरी निस्कने हरेक मान्छेलाई सोध्न मन लाग्छ । तपाई के कामका लागि कहाँ हिड्नु भएको हो ? तर, सबै यति न हतारम देखिन्छन्, उनीहरुलाई त्यहाँ त्यो प्रश्न सोध्यो भने उनीहरुको कुनै महत्वपूर्ण काम नै छुट्नेवाला छ ।
वास्तवमा मान्छेहरु साँच्चिकै काम परेरै यसरी बाहिर निस्केका हुन् या नेपालीको आदत हो । यो कोरोनाको निषेधाज्ञा पनि अनौठो छ । विहान १० बजेसम्म खुल्ला, अनि त्यसपछि बन्द । कोरोना सर्नका लागि कुनै समयको बन्देज अवश्य पनि छैन । तर, मान्छेहरुलाई खुल्ला भएको समयमा कोरोना सर्दैन भन्ने लाग्छ कि क्या हो ? विराटनगर कोरोनाको हटस्पोट बनेको छ । हरेकको घर घरमा कोरोना आइपुग्ने अवस्था हाम्रै कारणले सृजना हुदैछ । कमसेकम १५ दिन सबैजना घरमा नै बस्ने हो भने यसको चेनब्रेक हुनसक्थ्यो । तर, अरुले केही गरेनन् भने सधै धारेहात लगाउने हामी हाम्रो कर्तव्य पुरा गर्न कतिको तयार छौं भन्ने प्रश्न मुल हो ।
कोरोनामा प्रशासनले निषेधाज्ञा जारी गरेको समयमा चोकको चिया पसलमा मास्क खोलेर चियासँग चुरोट खाँदै वडाअध्यक्षदेखि मेयर हुँदै सांसद, प्रदेशका मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई अर्ती उपदेश दिन हामी कति पानीमाथि छौं भन्ने कुराको हेक्का अहिलेसम्म कसैमा आउन सकेको छैन । अरुले यो गरेन त्यो गरेन भन्न सजिलो छ । तर, आफूलाई घरबाहिर नजाउ, भित्र बस भन्दा घरभित्र बस्न कठिन छ । हामीले कहिल्यैं पनि यसरी सोच्न सकेका छौं जस्तो लाग्दैन । यो कुरा आज कोरोनामा मात्र लागू हुदैन । अन्य समय र सन्दर्भमा पनि उत्तिकै लागू हुन्छ ।
सरकारले कोरोनामा गर्नुपर्ने धेरै कुरा गरेको छैन । आज जनता अस्पातल र अक्सिजनको अभावमा तड्पी–तड्पी मरिरहेका छन् । सुविधासम्पन्न अस्पताल बन्नुपर्ने थियो । सबैले सहज रुपमा अक्सिजन पाउनुपर्ने हो । सरकारको सबै ध्यान जनताको उपचारमा लाग्नुपर्ने हो । तर, हाम्रा सरकारहरु सत्ताकै खेलमा लागिरहेका छन् । यो एउटा पाटो हो । हामीले यसो भनिरहँदा हामी आफू चुकेको ठाउँको जिम्मा चाही कसले लिने ? हामीलाई हाम्रो छोराछोरीको विवाह अहिले नगरी भएको छैन । घरमा पुराण पनि आजै नलागइ भएको छैन । आफूले गर्नुपर्ने दायित्वमा हामी धेरै चुकेका छौं । यदि हामीले सरकारले भनेजस्तो स्वास्थ्य मापदण्ड अपनाएका भए । घरबाट बाहिर ननिस्केका भए, छोराछोरीको बिाहलाई केही पर सारेका भए !
मास्क नलगाइ नहिँडेका भए, चिया पसलमा गफ चुटेर नबसेका भए, आजको जस्तो भयावह अवस्था त अवश्य पनि आउने थिएन होला । तर, यसतर्फ हामी अहिले पनि सोच्ने पक्षमा छैनौं । विहानै चोकतिर निस्कियो भने सबै हतारमा देखिन्छन् । सडकमा मोटरसाइकलको ताँती हुन्छ । निजी गाडीहरु हतारमा हुईकिरहेका हुन्छन् । सबै मान्छे केही गर्न दौडिरहेको जस्तो लाग्छ । कोरोना सरकारले फिजाएको अनाहक आतंक जस्तो लाग्छ । बाहिर बजारमा निस्केका मान्छेहरु बहादुर अनि घरमा बस्ने मान्छेहरु डरपोक जस्तो लाग्छ ।
भनिन्छ, निदाएको मान्छेलाई विउझ्याउन सजिलो हुन्छ तर निदाएको अभिनय गरेको मान्छेलाई उठाउन सकिदैन । आज त्यस्तै अवस्था छ, बजारमा । बजारमा जति मान्छेहरु कुदिरहेका छन्, तिनीहरुलाई कोरोनाका बारेमा राम्रोसँग ज्ञान छ । हातमा भएको मोबाइल दिनमा हरेकाको २० पटक भन्दा वढि नै बज्छ होला । त्यहाँ विषै पटक घरबाट बाहिर नजाउनु होला । कोरोनाको भयावह छ भन्ने सन्देश आउँछ । तर, मान्छे टेर्नेवाला छैन । अहिले पनि घरमा विवाहका कार्ड आइरहेका छन् । मान्छेहरु बाहिरै छन् । यसपटकको निषेधाज्ञा हेर्दा लाग्छ प्रहरी पनि अटेर नेपालीसँग आजित भइसक्यो । यहाँ डराउनुपर्ने हामी हो । कोरोना हामीलाई लाग्यो भने उपचार नपाएर हाम्रो नै ज्यान जान्छ । सरकारमा रहेका ठूलावडाले त उपचार पाउँछन् । तर, हामी आज आफ्नै मृत्युसँग किन खेलवाड गरिरहेका छौं ? के हामी १५ दिनसम्म घरभित्र बस्नै सक्दैनौं त ? के २–४ दिनमा हामी सगरमाथाकै चुचोरोमा पुग्छौं त ? यदि हैन भने किन लापर्वाह भएका छौं त ?
एक पटक आफूले आफैलाई प्रश्न गर्ने बेला आएको छ । यहि ताल हो भने कोरोना लाग्ने पक्का छ । यदि लाग्यो भने अस्पतालका बेड खाली छैन । बेड पाउनका लागि अर्को कोही मर्नुपर्छ । अक्सिजन छैन । अनि त्यसबेला हामी के गर्छौं ? यसको एउटै उत्तर हुन्छ, मृत्युबरण । त्यसैले एकपटक सोचौं, जहाँ छौं त्यहि रोकियौं । घरभित्र नै बसौं । त्यसैमा सबैको कल्याण छ ।