विराटनगर । वैशाख पहिलो सातासम्म विराटनगरको नोबेल शिक्षण अस्पतालले कोभिड –१९ को उपचार सेवा आरम्भ गरेको थिएन ।
दोश्रो लहरको प्रारम्भमा वैशाख पहिलो सातासम्म कोभिडका संक्रमितहरु सीमित संख्यामा देखापर्दै थिए । उपचारका लागि विराटनगरका अस्पतालहरु चहार्दाचहार्दै एकजना संक्रमितको निधन हुन पुग्यो । त्यसपछि सरकारमाथि र निजी अस्पतालहरुमाथि पनि दवाव प¥यो ।
नोबेल शिक्षण अस्पतालले वैशाख दोश्रो सातामा ६० वटा शय्याबाट कोभिडको उपचार सुरु गर्यो । केही दिनमै बिरामीको चाप बढ्न थाल्यो । त्यसलाई बढाएर १०० शय्या पु¥यायो । त्यतिले पनि अस्पताल खोज्दै आउने संक्रमितहरुलाई उपचार दिन नसक्ने अवस्था भयो ।
स्वास्थ्य मन्त्रालयको स्वीकृतिबिना नै अस्पतालले केही शय्या थप्यो । मन्त्रालयले १०० शय्याको कोभिड अस्पताल सञ्चालन अनुमति दिएको भएपनि अस्पतालले जनशक्ति र बिरामीको चापलाई ध्यानमा राखेर बुधबारदेखि कोभिड उपचार केन्द्रको क्षमता बिस्तार गरेर १९२ वटा पु¥यायो । शुक्रबार दिउँसोसम्म अस्पतालमा १६२ जना संक्रमित उपचाररत रहेकोमा शनिबार बिहानसम्म अस्पतालका सबै १९२ वटा शय्या भरिएका छन् ।
‘अहिले पनि अस्पतालमा आइसियू र भेन्टिलेटर खोजी गर्दै टेलिफोन गर्नेहरु धेरै छन्,’ अस्पतालका प्रवन्धक नारायण दाहालले भने हामी आइसियू त हैन साधारण बेड पनि दिन नसक्ने अवस्थामा छौं ।’ अक्सिजन मात्र लगाएर भएपनि बिरामी राखिदिनु भन्ने अनुरोध गर्नेहरुलाई पनि सेवा दिन कठिन भएको उनले बताए ।
नोबेल शिक्षण अस्पतालमा कोरोना संक्रमितको उपचारको लागि ३९ बेडको आइसियू छ । आइसियूका सबै बेडमा बिरामी छन् । त्यसमध्ये १० वटा भेन्टिलेटर प्रयोग भइरहेका छन् । शनिबार दिउँसोसम्म सबै भेन्टिलेटरमा बिरामी रहेको प्रबन्धक दाहालले बताए । उनी भन्छन् ‘हामीसँग भेन्टिलेटर र आइसियू सबैमा बिरामी छन् । बिरामीको चाप बढेपछि स्वास्थ्य मन्त्रालयसँग ३०० शय्याको कोभिड अस्पताल सञ्चालन गर्न प्रस्ताव गरेका छौं, तर, स्वीकृति आइसकेको छैन ।’
मन्त्रालयले स्वीकृति दिएको खण्डमा केही दिनभित्रै ३०० बेडको कोभिड उपचार केन्द्र सञ्चालनमा ल्याउने र आइसियू बेडको संख्या पनि बढाउन तयारी अवस्थामा रहेको प्रबन्धक दाहालले जानकारी दिए । नोबेलमा सिराहा, सप्तरी लगाायतका जिल्लाबाट पनि कोभिड उपचारका लागि बिरामीहरु आएका छन् । प्रबन्धक दाहालका अनुसार काठमाण्डौमा आइसियू र भेन्टिलेटर अभाव भएपछि हेलिकप्टर चार्टर गरेर बिहीबार दुई जना बिरामी उपचारका लागि नोबेल आएका छन् ।
विराटनगर नजिकै बुढीगंगा गाउँपालिकामा सञ्चालित विराट मेडिकल कलेजले १२० शय्याको कोभिड अस्पताल वैशाख दोस्रो साताबाट सञ्चालनमा ल्याएको छ । उसले अस्पतालको क्षमता बढाएको छैन । बिरामीको चापले गर्दा हरेक दिन सबै शय्या भरिभराउ छन् । अस्पतालका सम्पर्क अधिकृत सुनिल देवले भने ‘आइसियू र भेन्टिलेटर खाली हुनै पाउँदैन । बिरामीको चाप यति धेरै छ कि हामी गम्भीर अवस्थामा पुगेका बिरामीहरुलाई मात्र सेवा दिन बाध्य छौं ।’ उनी थप्छन् ‘आइसियू बिरामी ठिक हुँदा वा मृत्यु भएपछि मात्र खाली हुने अवस्था छ ।’ उनले अस्पतालका सबै १२० शय्यामा बिरामीहरु भरिएको जानकारी दिए ।
प्रदेश सरकारले सञ्चालन गरेको कोशी कोभिड अस्पतालमा एक साता अघिसम्म ३२ शय्याको कोभिड उपचार केन्द्र सञ्चालनमा थियो । केही महिना बन्द अवस्थामा रहेको कोभिड अस्पताल वैशाख पहिलो साताबाट पुनः आंशिक सञ्चालनमा आएको हो ।
बैशाख तेस्रो साताको प्रारम्भसम्म पुग्दा अस्पतालमा बिरामीहरुको ठूलो चाप परेको थियो । संक्रमितहरु बढेसँगै अस्पतालको क्षमता बढाउनुपर्ने दवाव पनि बढ्यो । कोसी अस्पताललाई १८० शय्यामा बिस्तार गर्ने प्रक्रिया अन्तिम चरणमा छ । अहिले अस्पतालमा ९६ शय्या रहेकोमा ६६ शय्यामा बिरामी छन् । २१ शय्याको आइसियू र २० शय्याको एचडियू रहेको कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा पनि बिरामीको चाप उच्च छ । उसले गम्भीर अवस्थाका बिरामी मात्र उसले भर्ना लिइरहेको छ ।
सरकारी उच्च पदस्थ व्यक्तिहरुको दवाव परिरहने भएकोले अस्पतालले भएको सबै बेडमा बिरामी भर्ना भने गरेको छैन । आपतकालीन व्यवस्थापनका लागि केही बेड खाली राख्ने गरेको छ । कोसी कोभिड अस्पतालमा २६ थान भेन्टिलेटर छन् । अहिले भने २१ वटा आइसियू वार्डमा ५ थान मेन्टिलेटरयुक्त सञ्चालनमा छन् । शनिबार भेन्टिलेटर जडान भएको बेडमा बिरामी भएपनि कसैलाई भेन्टिलेटरमा नराखिएको अस्पतालले जनाएको छ ।
गम्भीर अबस्थाका बिरामीहरुलाई आवश्यक परे २६ वटासम्म भेन्टिलेटर प्रयोग गर्न सकिने अवस्थामा रहेको अस्पतालका इन्चार्ज बैजनाथ साहले बताए । उनले भने ‘हामीसँग भेन्टिलेटर खाली छैन । किनभने आइसियूमा रहेका बिरामीहरुलाई कुनैपनि बेला भेन्टिलेटर आवश्यक पर्नसक्छ, त्यसैले अहिले भेन्टिलेटर प्रयोग नभएपनि त्यहाँ अरु बिरामी भर्ना लिएर भेन्टिलेटर सेवा उपलब्ध गराउन सक्ने अवस्था छैन ।’
विराटनगर महानगरपालिकाभित्र मात्र दैनिक २५० भन्दा बढी नयाँ संक्रमित पहिचान भइरहेको छ । प्रदेश १ मा दैनिक पहिचान भएका संक्रमित संख्याको झण्डा आधा संख्या मोरङमा भेटिने गरेको छ । जसले गर्दा अस्पतालहरुमा चाप बढेको हो ।
सिराहा, सप्तरी, उदयपुर लगायत संक्रमित संख्या बढी भएका जिल्लाहरुबाट पनि उपचारका लागि विराटनगरमै आउनुपर्ने अवस्थाले गर्दा यहाँका अस्पतालहरुलाई उपचार सेवा दिन कठिन परेको छ । त्यसमाथि काठमाडौबाट समेत बिरामी आउन थालेपछि अस्पतालहरु थप चापमा परेका छन् ।
विराटनगरका तीन वटा अस्पतालमा १०० बेड आइसियू, ४० वटा भेन्टिलेटरसहित ३८४ बेडमा कोभिड–१९ का गम्भीर बिरामीको उपचार भइरहेको छ । कोसी कोभिड अस्पताल पूर्ण क्षमतामा सञ्चालनमा आएको खण्डमा एक सय बेड थपिनेछ ।