बिक्रम लुईँटेल
आज राष्ट्रिय पत्रकारिता दिवस । केहि वर्षअघि यस प्रदेशका मुख्यमन्त्री शेरधन राई संघीय सरकारको सञ्चारमन्त्री हुँदा घोषणा भएको दिवस हो, यो । यस मानेमा मुख्यमन्त्री राईलाई धन्यवाद दिनैपर्छ । उनी मन्त्री हुँदा आमसञ्चार नीति बनाएर नेपाली सञ्चार जगतका लागि एउटा गतिलो काम गरे । उनैको सरकारको नेतृत्वमा यस प्रदेशका अग्रज पत्रकारहरुलाई सम्मान गर्ने नीति लिएर यो प्रदेशका पत्रकारलाई उर्जा भर्ने काममा प्रदेश सरकारले महत्वपूर्ण भुमिका निर्वाह गरेको छ ।
राष्ट्रिय पत्रकारिता दिवसको सन्दर्भ गोर्खापत्रको स्थापनाको दिनसँग जोडिन्छ । यसअर्थ यो नेपालको पत्रकारिता क्षेत्रको लागि मौलिक दिवस हो । अन्तराष्ट्रिय क्यालेण्डरबाट तानिएको दिवस होइन । यसर्थ यसको महत्व हाम्रा लागि मौलिक प्रकृतिकै छ । यो सुखद दिनको अवसरमा सम्पुर्ण श्रमजीवी र संघर्षशिल पत्रकारहरुमा हार्दिक शुभकामना छ ।
यो दिवस मनाइरहँदा नेपालका श्रमजीवी पत्रकार र मोफसलमा स्वरोजगारमुलक मिडियाहरु चुनौतीभित्र रुमलिइरहेका छन् । कोरोनाका कारण झण्डै ६ सय पत्रकार संक्रमित र ७ जनाको मृत्यु भइरहेको छ । सयौँ श्रमजीवीहरु रोजगारीबाट विस्थापित भएका छन् । जेनतेन चलेका मोफसलका मिडियाहरु धमाधम बन्द भइरहेका छन् । यो कठिनाईपूर्ण अवस्थामा पत्रकारिता गरिरहनुभएका आम पत्रकारलाई राज्यले जुन हिसावले सहयोग गर्नुपथ्र्यो, त्यो हुन नसकेको अनुभुति भइरहेको छ ।
फ्रन्टलाइनरको हिसावले व्यवहार गरेर सहयोग र पेशामा टिकिराख्न र लोकतन्त्रको मेरुदण्डको रुपमा रहेको स्वरोजगारमुलक मिडियाहरुलाई बचाइराख्न प्रभावकारी भुमिका भएको छैन । यतिमात्र होइन भर्खरै निर्वाचित पत्रकार महासंघले १३ हजार सदस्य भएको आफ्नो संस्थाका पत्रकारहरुका विषयमा जुन हिसावले सम्बोधन गर्नुपथ्र्यो, त्यो गर्न सकेको पनि छैन । यो बिचको एक महिनामा ५ बेडको अक्सिजनसहितको आइसोलेसन तयार भएको खबर छ ।
महासंघका प्राथमिकता र मुद्दाहरु धेरै छन् । तर, उ सबै जिल्ला शाखा र अन्य समितिहरुलाई सर्कुलर गरेर योगा र सत्संघ गर्न आग्रह गरिरहेको छ । जुन कुरा धेरै टेलिभिजनहरुले विहान गरिरहेका छन् । अहिले पनि महासंघले मोफसलका मिडियाहरुलाई बचाउने र अस्पतालमा उपचार गराइरहेका पत्रकारहरुलाई उपचार रकम सहयोग गर्ने र त्यहाँसम्म पुग्ने कामलाई प्राथमिकता दिएको देखिदैन ।
कुन पत्रकारहरुको अवस्था के छ ? उनीहरुको जीवन कसरी चलिरहेको छ ? उनीहरुको मिडियाको अवस्था के छ ? भन्नेभन्दा पनि संक्रमित गनेर बसेको जस्तो देखिन्छ । संस्था भनेको संकटमा चाहिने हो । त्यसैले यसलाई जीवन दिने कुरा पनि संकटबाटै सुरु हुन्छ । अहिले पनि पत्रकार महासंघले केन्द्रमा भएको कल्याणकारी कोषलाई सार्वजनिक रुपमा देखिनेगरी प्रयोग गर्ने र कोरोनाबाट प्रताडित भएका पत्रकारलाई सहयोग गर्नका लागि मिडिया फण्ड बनाउने अभियान सुरु गर्नुपर्छ । यो कोरोनाको असर पत्रकारहरुका लागि वर्षौसम्म देखिनसक्छ । त्यसैले दिर्घकालिन सोचका साथ यस्ता फन्ड बनाउने र तिनलाई उपयोग गर्ने नीति सुरु गर्नुपर्छ ।
देशभर पत्रकारका नाममा धेरै पुरस्कारहरु जिल्ला शाखाले वितरण गर्छन् । त्यहाँभन्दा बाहिर पत्रकारिताका नाममा अनेकन पुरस्कारहरु वितरण हुन्छ । कम्तिमा यो वर्ष त्यस्ता पुरस्कारको मुल कोष होइन, पुरस्कार रकम चाहीँ सार्वजनिक रुपमा गठन गरिएको मिडिया फन्डमा राख्ने र कुनै पनि पत्रकारलाई एक वर्ष पुरस्कार नदिने हो भने करोडौँ रुपैयाँ जम्मा हुनसक्छ । यसले श्रमजीवी र अरु सबैखालका पत्रकारलाई सहयोग गर्न सकिन्छ । हामीसँग रकमको अभाव छैन । तर, सृजनसिलता त्यसको पारदर्शी वितरण र उपयोगिताका सन्दर्भमा भने समस्या छ ।
सर्वपक्षीय पत्रकारहरुलाई समेटेर यस्ताखालका अभियानहरु सञ्चालन गर्न सकियो भने अहिलेको यो महामारीको संकटबाट पत्रकारहरुले पार पाउने मात्र होइन, यसले हाम्रो पेशालाई जोगाउने र लोकतन्त्र र गणतन्त्रलाई संस्थागत पनि गर्छ । किनकी प्रेस भनेको लोकतन्त्रको मेरुदण्ड हो । आजको राष्ट्रिय पत्रकारिता दिवसको सन्दर्भमा सबै सरोकारवालाहरुको ध्यान जाओस्, श्रमजीवी र स्वरोजगारमुलक मिडियाका लागि केही गर्न सकौँ । सबैलाई शुभकामना ।