विराटनगर । तीन दशकअघि भुटान छोडेर नेपाल आएकी ८० वर्षीया सन्तमाया राईलाई बेलाबखत भुटानमा रहेको आफ्नो जमिनको याद आउँछ । उनले सानो छँदा नेपाल पुख्र्याैली घर हो भन्ने सुनेकी थिइन् । तर, पुर्खाहरू कहिले भुटान आए भन्ने पत्तो थिएन र अहिले पनि छैन ।
भुटानको सर्वाङ जिल्लामा सन्तमायाको जन्म भएको थियो । त्यहीँको माटोसँग गहिरो नाता बसेको भएपनि अहिले त्यो जमिन अहिले उनको सम्झनामा मात्रै सीमित छ ।

आफू जन्मे हुर्केको ठाउँ पराई हुन्छ भन्ने उनले कल्पना समेत गरेकी थिइनन्, सन्तमायाँले । तर, तुफानले पतकर उडाए झैं उनीहरु भुटानबाट लखेटिए । भर्खरै फूल लाग्दै गरेको सुन्तलाको बोट, मौलाउँदै गरेको रायो सागको पात हेर्दाहेर्दै ओझेल प¥यो । त्यो दृष्य उनको मानसपटलमा क्यानभास झैँ अझै ताजा छ ।

‘अब त त्यो सुन्तलाको बोट सबै दाउरा भयो होला,’ विगत सम्झँदै सन्तामायाले भनिन्, ‘उम्रिदै गरेको हरियो सागको पात त्यहीँ सुकेर माटो भयो होला । सम्झेर मात्रै के गर्नु ! फर्किएर जाउँ त कहाँ जानु !’ भुटान सरकारले लखेटेपछि नेपाल चिन्ने अगुवाको साथ लागेर श्रीमान र परिवारको साथ सन्तमाया नेपाल आइन् । अहिले मोरङ पथरी शनिश्चरे भुटानी शरणार्थी शिविरमा बस्दै आएकी छन् ।

आफ्नै पुर्खा जन्मेको देश नेपालमा पनि पराइ झैं व्यवहार खेप्नुपर्दा मन कुँडिएको उनको दुखेसो छ । ‘पहिले हामीलाई बस्तीका आफ्नै दाजुाभाइले लखेट्न खोजे,’ भावुक हुँदै उनले सुनाइन्, ‘हामीलाई भुटानी भन्दै हेला गर्थे । त्यो सम्झिँदा अहिले पनि दुःख लाग्छ ।’

भुटानबाट विस्थापित भएर पूर्वी नेपालमा विभिन्न शिविरमा बसोबास गर्दै आइरहेका भुटानी शरणार्थी तेस्रो देश पुनर्वास भएसँगै अहिले शिविरमा चहलपहल छैन । सन्तमायाको पनि केही सन्तान अमेरिका पुगेका छन् । सन्तानलाई आफूबाट अलग्याएर अर्काको देश पठाउन बाध्यता भएको सन्तमायाले सुनाइन् ।

आफ्ना सन्तानहरु विदेशिए पनि आफू जीवनको उत्तराद्र्धमा पुगेकाले आफ्नो प्राण पुर्खाको देशमा नै त्याग्ने इच्छा रहेको सन्तमायाले सुनाइन् । ‘उमेरले डाँडा काट्यो, अब विदेश गरेर के गर्नु र’ उनले भनिन्, ‘आफू जन्मेको देश छोडेर आइयो, अन्तिम श्वास पुर्खाको भूमिमा त्याग्ने इच्छा छ ।’

नेपाली भएर मर्ने इच्छा

शिविरमा बस्ने ८७ वर्षीय यमबहादुर तामाङको पनि दुःखका पहाड सन्तमायाको भन्दा कम छैन । २०५० सालमा भुटानबाट लखेटिएर नेपाल आएका उनी त्यसयता दुःखका अनेकौं जँघार तर्दै शरणार्थी शिवरमा बस्दै आएका छन् । उनको कुनै सन्तान सुनौलो भविष्यको खोजीमा अमेरिका पुगेका छन् भने एउटा छोरा उनीसँगै दुःखसुख बाँड्दै बसिरहेका छन् ।

पुख्र्याैली थलो ओखलढुङ्गा हो भन्ने यमबहादुरलाई थाहा छ । तर, भुटानबाट लखेटिएका उनी मोरङको पथरी शनिश्चरे आएर बसेको तीन दशक बितेपनि त्यहाँ पुगेका छैनन् । शिविरमा रहँदा कुनै समय नेपाली दाजुभाइबाट नै कुटपिट सहनु परेको तीतो विगत पनि उनीसँग छ । पछिल्लो समय भने त्यस्तो व्यवहार हट्दै गएको यमबहादुरले बताए ।

‘पहिले हामीलाई कुट्न शिविरमा नै आउँथे हाम्रा दाजुभाई’ विगत सुनाउँदै उनले भने, ‘हामी परिवार पाल्नका लागि सस्तोमा ज्याला मजदुरी काम गथ्र्यौ, त्यही बहाना बनाएर गाउँलेहरू शिविरका मान्छेलाई कुट्न आउँथे ।’ नेपालमा आफ्नै दाजुभाइको विभेद र हिंसाले यमबहादुरहरूको मन कहिले काहीँ थाक्थ्यो । भुटान फर्किन पाएँ हुन्थ्यो भन्ने लाग्थ्यो । तर, आजभोलि नेपालकै माटो र समाज प्यारो लाग्न थालेको उनले सुनाए ।

लामो समय संघर्ष र पीडा भोग्दै दशकौं पार गरेका यामबहादुरसँग नेपाली नागरिकता लिएर आनन्दले अन्तिम श्वास यही माटोमा फेर्ने इच्छा छ । ‘हामीले पनि नेपाली नागरिकता पाउँछौ रे भन्ने सुनेको छ’ उनी भन्छन्, ‘तर, नेपाल सरकारले हाम्रो नागरिकताको विषयमा बोले जस्तो लाग्दैन । नागरिकता पाए अन्तिम श्वास आनन्दले जाने थियो ।’

अन्धकारमा बित्यो दशकौं

शिविरमा छेउमा चिल्लो मोटर बाटो छ । गाउँमा बिजुलीले झिलिमिली छ । तर, शिविरमा अझै बिजुली बत्ती पुगेको छैन । दशकौंदेखि टुकी र सोलारको भरमा रात काट्दै आइरहेका शिविरवासीलाई सरकारले बिजुलीको व्यवस्था गरेको छैन । बिजुली जडानका लागि पैसा तिरिसके पनि आफूहरूले नपाएको उनीहरूको गुनासो छ ।

शिविरका केही झुपडीमा भने बिजुली बत्ती पुगेको छ । नेपाली नागरिकता भएको बुहारी भित्र्याएपछि ती झुपडीमा बिजुली जडान सहज भएको ७० वर्षीय बहादुर राईले बताए । ‘अहिले नेपाली बुहारी ल्याएका छौ’ उनले भने, ‘बुहारीको नागरिकताबाट विद्युत जडान गरेर झिलिमिलि पारेका छौं ।’