विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ का बालकृष्ण मेहता (७५) नयाँ घरदेखि पश्चिमतर्फ रहेको आफ्नो पुख्र्याैली घरमा आँखा लगाइरहन्छन् । विशेषगरी बिहानको खानापछि उनी पुरानै घरनेर रहेको एउटा सानो घरबाहिरको कुर्सीमा बसेर पुर्ख्यौली घर र युवावस्थाको उमेर सम्झिँदै आनन्द लिन्छन् ।
पुरानो घर लगभग भत्किसकेको अवस्थामा छ । वरिपरि रुखहरूले घेरिएको छ । त्यो घरमा उनको बाल्यकाल र युवावस्थाको उमेरका तितामिठा पलहरूको सम्झना छ । त्यी सम्झनाहरू बुढेसकालका सहारा बनेका छन् ।
हुनतः उनकी सहारा श्रीमति फुलुदेवी मेहताका साथै छोराछोरी अनि नातिनातिना पनि छन् । त्यहिपनि उनलाई आफ्नो विगत प्यारा लाग्छन्, सुन्दर लाग्छन् । अनि त्यहि विगतले कहिलेकाहीँ उनलाई मनमा काउकुत्ती लाग्नेगरी सताउँछन् पनि ।
२००३ साल साउन २४ गते जन्मिएका बालकृष्णको विगत मिठा मात्र छैनन् । कुनै–कुनै घटना काँडाजस्तै बिझाउँछन् पनि । सानै छँदा उनलाई आफ्नो बुबा वंशी मेहताजस्तै बन्न मन थियो । वंशी मेहता देवानगञ्जमा मात्र होइन, सुनसरी वा त्यसभन्दा पनि बाहिर राजनीतिक विषयमा चर्चित थिए । नेपाली काङ्ग्रेसका एक प्रभावशाली व्यक्ति थिए ।
त्यतिखेर पार्टीमा आस्था राख्न पाइन्थ्यो तर पार्टीप्रतिको सक्रियता देखाउन पाइँदैनथियो । पार्टीका बैठकलगायतका भेला सीमापारि भारतमा हुन्थ्यो । त्यहि पनि वंशीको छबीका कारण ठूला ठूला काङ्ग्रेसका नेताहरू उनलाई भेट्न देवानगञ्जस्थित उनको घरसम्म आइपुग्थे ।
विपी कोइराला परिवारका साथै गणेशमान सिंहलगायतका व्यक्तिहरू आफ्नो बुबालाई भेट्न घरैसम्म आएको देख्दा बालकष्णलाई पनि आफू बुबाजस्तै प्रभावशाली व्यक्ति बन्ने मनसाय जाग्थ्यो । तर, बुबासँग यस्ता प्रकारका कुरा गर्न बालकृष्णलाई मुख लाग्दैनथ्यो । किनकि त्यस समय बुबासँग शीर ठड्याएर बोल्न हिम्मत कोही पनि छोरा–छोरीलाई हुँदैनथ्यो ।
बुबा वंशीलाई भने छोरा बालकृष्णलाई शिक्षक बनाएर गरिबका छोराछोरीलाई शिक्षा–दिक्षा देओस् भन्ने इच्छा थियो । ‘मेरा बुबा मलाई शिक्षक बनाउन चाहनुहुन्थ्यो, यसैले त मलाई उहाँले पढाउनका लागि देवानगञ्ज र विराटनगर गर्नुभयो । आफूले चिनेजानेका नेता भएठाउँ पुग्नुभयो,’ बालकृष्ण सम्झन्छन् ।
बालकृष्णका बुबा बितेको ८ वर्ष भयो । बुवा वंशीकै प्रेरणामा उनले आफ्नो जीवन अध्यापनमा धकेलेका थिए । उनले २०२४ सालको वैशाख महिनाबाट शिक्षण पेशा थालेका थिए । आफूले अध्ययन गरेको विद्यालय कृष्ण माध्यमिक विद्यालय (तत्कालीन कृष्णप्रसाद प्रावि) मै अध्यापन गराउन पाउँदा हर्षित् थिए, उनी ।
उमेरले सानै भएपनि उनमा शालीनता थियो, हक्की र निडर स्वभावका थिए । युवास्थादेखि नै उनी नेपाली टोपीमा सजिन्थे । प्रायःगरी पाइजामा र कुर्ता लगाउँथे । चिटिक्क परेर हिँड्थे । बालकृष्ण केही समयपछि नै सहायक प्राध्यापक बन्न सफल भएका थिए । उनको अध्यापन जीवन पनि उकाली–ओराली र रोचक लाग्दो बन्यो । उनले जीवनको एक कालमा तीन महिना हालसम्म पनि नदेखेको बम राखेको आरोपमा पक्राउ पनि परेका थिए ।
देख्दै नदेखेको बम राखेको आरोपमा पक्राउ
२०३० मा बालकृष्णले शिक्षण पेशा थालेको ६ वर्षजति बितिसकेको थियो । सो समय बालकृष्ण राजनीतिभन्दा ढाटा थिए । किनकि एउटा शिक्षक निष्पक्ष र स्वतन्त्र हुनुपर्ने नैतिकता पनि थियो । राजनीति गरेको हल्ला मात्र भयो भने पक्राउ परेर जेलमा बस्नुपर्ने अवस्था थियो ।
२०३० मा हरिनगर प्रहरी थाना नजिकैबाट प्रहरीले बम बरामद गरेको थियो । बम फेला परेपछि बम राखेको आरोपमा कृष्ण प्राविका प्रअ बालकृष्णसहित राजनीतिमा सक्रिय रहेका अन्य १७ जनालाई प्रहरीले हत्कडी लगायो । बालकृष्णलाई अचम्म लाग्यो, किनकि बम राखेको आरोपमा पक्राउ परेका उनले बमका बारेमा जानेका थिएनन्, अझ उनले आफ्नो जिन्दगीमै बम देखेका थिएनन् । उनी भन्छन्, ‘बमका बारेमा जान्नु त के मैले बम देखेको पनि थिइँन । मलाई सम्झिँदा पनि अचम्म लाग्छ, जुन अपराधमा म पक्राउ परेँ । त्यो कुरा मैले देखेको पनि छैन । अहिलेसम्म मैले बम देखेको छैन ।’
राजनीतिमा सक्रिय नहुँदा पनि पक्राउ गरेपछि उनी अचम्मित थिए । पक्राउ परेका सबैमाथि बमकाण्डबाहेक भारतबाट ‘तरुण पत्रिका’ ओसारपसार गरेको आरोप पनि थियो । त्यतिबेला पक्राउ पर्नेमा बालकृष्णका साथै राम–लक्ष्मण पनि थिए, दुवै जनाको अनुहार एकार्कासँग मिल्थ्यो । अनि नोना कोइरालाका श्रीमान केशवप्रसाद कोइरालालगायत पनि पक्राउ परेका थिए ।
बमकाण्डका मुख्य अभियुक्त सुकदेव मेहता पनि पक्राउ परेका थिए । सुकदेव मेहतालाई ५ वर्षको जेल सजाय सुनाइएको थियो । तर, जनमत सङ्ग्रह भएपछि उनी ४ वर्षमा जेलबाट छुटे । देख्दै नदेखेको बम राखेको आरोपमा पक्राउ परेका बालकृष्णले विराटनगर जेलमा तीन महिना बिताएका थिए । नामकै कारण उनी जेल परेका थिए ।
हरिनगराका प्रकाश मेहताले पार्टीमा केही परेमा बालकृष्णलाई पनि समेट्नु भनेका कारण अरू साथीहरूले उनको नाम खुलाएका रहेछन् । ‘प्रहरी आएर मलाई मेरै घरबाट समात्दा म मात्र होइन, मेरा परिवार सबै अचम्मित भएका थिए । तर, त्यतिबेला साथीहरूले मलाई पार्टीको काममा समेट्नु भनेर भनेपछि म पक्राउ परेको हुँ’ उनले भने ।
बालकृष्णलाई राजकाज अपराध लगाएर ७० दिने म्याद राखेर हाजिरी गराइएको थियो । जेलमा बस्दा उनी उपन्यास र पत्रपत्रिका पढ्थे । त्यतिबेला उनले विपी कोइरालाले लेखेको ‘दोषी चस्मा’, गुल्सन नन्दको ‘कटि पतङ्ग’जस्ता साहित्यिक कृषिहरू पढेका थिए । किनकि, उनी पढ्नमा सौखिन थिए । जेमा उनलाई काङ्ग्रेसी नेताहरूका विषयमा केही खोल्छ कि भनेर सोधिन्थ्यो पनि ।
एकपटक उनलाई गिरिजाबाबुलाई चिन्छौं भनेर सोधिएको थियो । उनलाई गिरिजाबाबुका बारेमा थाहा नहुने कुरै भएन । तर, उनले भनिदिएछन्,– ‘म चाहिँ उहाँलाई मज्जाले चिन्छु । तर उहाँले मलाई चिन्नुहुन्नँ ।’ हुनतः गिरिजाबाबुले पनि उनलाई नचिन्ने कुरै थिएन ।
जेलबाट छुटेर उनले आफूले अध्यापन गराउँदै गरेको कृष्ण प्राविमा पढाए । ‘तारिख धाउँदा पनि मैले स्कूल पढाउन छोडिनँ । इनरुवास्थित तत्कालीन जिल्ला शिक्षा अधिकारी सत्यजंग राणा अधिकारीले सिडिओ कार्यालयबाट लेखाएर ल्याउनुस् म तलब दिन्छु भनेका थिए । तर, म हेडमास्टर थिएँ । आफूले काम नगरेको तलब खानु उचित लागेन र तीन महिना तलब थापिनँ,’ उनी सम्झन्छन् ।
त्यसपछि उनले शिक्षण पेशालाई निरन्तरता दिएर पार्टीमा पनि जोडिए । तर, शिक्षण पेशाको मर्यादाले सक्रिय राजनीतिम आएनन् । पछि ६ छोरी र १ छोराको पिता बनेपछि त उनमा अझ जिम्मेवारी थपियो ।
अहिले आफ्ना बुबालाई हेरेर जुन सपना देखेका थिए, सो सपना लगभग पूरा भइसकेको उनको अनुभूति छ । किनकि, उनका बुबालाई भेट्नका लागि जुन तहका व्यक्तिहरू घरैमा पुग्थे, त्यसरी नै उनलाई भेट्न अहिले विभिन्न तह–तप्काका मानिसहरू आउँछन् ।
तथापि, उनी उमेरले बूढा भइसकेका छन् । अहिले उनी उमेरले ७५ पुगे । अब उनमा पहिलेजस्तो जोश रहेन । काम गर्न सक्दैनन् । शिक्षण पेशाबाट अवकास लिइसकेका छन् । छोरा, बुहारी नातिनातिना छन् । परिवारलाई २ बिघा १० कठ्ठा जग्गा जिम्मा लगाइदिएका छन् । त्यसैको उब्जनी र पेन्सनले परिवारको जीविकोपार्जन भइरहेको छ ।
बालकृष्णका छोरा पनि कृष्ण माविमा पढाउँछन् । उनका छोरा पनि बालकृष्णकै बाटोमा छन् । फरक यति छ, बालकृष्णले कृष्ण प्राविमा पढाए उनका छोराले कृष्ण माविमा ।