इटहरी । सुनसरीको इटहरी ६ मा कपडा पसल सञ्चालन गर्दै आएका ४२ वर्षीय श्रवण चौधरी फेरि लकडाउन हुने चिन्तामा छन् । छिमेकी साहु र बैंकबाट ऋण लिएर ब्यवसाय थालेका चौधरीले कोरोनाको कारण फेरि लकडाउन भए बिल्लिबाठमा पर्ने गुनासो गर्छन् ।
चौधरीजस्तै इटहरीको हटियालाइनमा सामान्य किराना पसल गर्दै आएका हिमाल रिजालको व्याथा छ । दोश्रो चरणको कोरोना फैलिएको हल्ला र फेरि पनि लकडाउन हुने चर्चाले मनमा पिरलो थपिएको उनी बताउँछन् ।
अघिल्लो वर्षको चैत्र ११ गतेदेखि ९ महिना भएको लकडाउन र निषेधज्ञाले चौपट बनेको व्यापार ब्यवसाय कोरोना जोखिम कम भएसँगै तंग्रिदै गरेको छ । तर, पुनः लकडाउन भएमा ठूलो क्षति हुने व्यवसायीहरुको भनाइ छ । कोरोना संक्रमणको दर दैनिक दुई गुणाले बढ्दै जाँदा लकडाउनको विकल्प नभएको चर्चा भइरहेको छ भने १२ जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ ।
सरकारले जोखिम देखिएका जिल्लाहरुमा लकडाउन वा निषेधाज्ञा जारी गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयहरूलाई दिएको छ । प्रशासनले अहिले सचेत रहन र स्वास्थ्य मापदण्ड पालना गर्न अपिल गरिरहेकोमा अवस्था विग्रदैं गएमा निषेधाज्ञा जारी हुने जनाएको छ ।
सुनसरीको १२ वटा स्थानीय तहमध्ये इनरूवामा आंशिक लकडाउन भइरहेको छ । धरान र इटहरीमा भने सुरक्षा सतर्कता अपनाउँदै व्यवसायहरू सुचारू छन् । सतर्कता अपनाएर काम गरे जोखिम नआउने विश्वास लिएको धरान उपमहानगरका मेयर तिलक राईको भनाइ छ ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै योजनावद्ध काम गरिरहेको इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीले बताएका छन् । कोरोना संक्रमणको दर उच्च बन्दै गएमा लकडाउन गर्न बाध्य हुनुपर्ने उनको भनाइ छ ।
होटल ब्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुली लकडाउनको बिकल्प खोज्नुपर्ने बताउँदै अघिल्लो लकडाउनले धरासयी बनाएको पर्यटन क्षेत्र फेरि लकडाउन भए उठ्न नसक्ने अ वस्थामा पुग्ने बताउँछन् । फेरि लकडाउन भए होटलको चाबी सरकारलाई बुझाउनुपर्ने अवस्था आउने उनको भनाइ छ ।
इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भीमबहादुर पौडेलले नागरिक सचेत भएमा लकडाउन गर्नुपर्ने अवस्था नआउने बताए । तत्काल लकडाउन गर्न नहुने भन्दै उनले पुनःलकडाउन भए व्यवसायीहरू सडकमा आउने बताए ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले पनि तत्काल जिल्लामा लकडाउन गर्नुपर्ने अवस्था नरहेको बताउँदै संक्रमणको अवस्था हेरेर थप निर्णय लिने बताएका छन् ।