लोड हुँदैछ...

मेनु

सरकारको निर्णय : ५ सय संक्रमित भएको जिल्लामा निषेधाज्ञा

७६८ संक्रमित भएको मोरङका प्रजिअ भन्छन् : आत्तिनु पर्दैन

७६८ संक्रमित भएको मोरङका प्रजिअ भन्छन् : आत्तिनु पर्दैन

विराटनगर । कोरोना भाइरस (कोभिड १९ ) को दोस्रो लहरको संक्रमण तीब्र बनेपछि सरकारले देशभरका विद्यालय बन्द गर्दै आंशिक लकडाउनको निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिश अनुसार सबै विद्यालय बन्द गर्ने निर्णय गर्दै संक्रमण धेरै देखिएका जिल्लामा निषेधाज्ञा जारी गर्न प्रमुख जिल्ला अधिकारीलाई अधिकार दिएको छ ।

मन्त्रिपरिषदको निर्णयमा पहाडी तथा हिमाली जिल्लामा २०० तथा उपत्यकाका र तराई–मधेशको हकमा ५०० भन्दा धेरै संक्रिय संक्रमित भएका जिल्लामा वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गर्ने उल्लेख छ । मन्त्रिपरिषदको निर्णय अगाडिै काठमाडौं उपत्यकामा निशेषज्ञा जारी भइरहेको छ भने अन्य ८ जिल्लामा पनि निषेधाज्ञा जारी भएको छ ।

कोरोना भाइरस संक्रमणको दोस्रो लहर नियन्त्रणका लागि ११ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञाको आदेश जारी भएको छ । मंगलबारसम्म काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, दाङ, कैलाली, रुपन्देही, पर्सा, सुर्खेत र कास्कीमा पूर्ण निषेधाज्ञा छ । बर्दिया, बाग्लुङ र कालिकोटमा आंशिक निषेधाज्ञा छ ।

मंगलबार साँझसम्ममा चितवनमा सक्रिय संक्रमित संख्या ५ सय पुगिसकेको भएपनि प्रशासनले कुनै आदेश जारी गरिसकेको छैन । कोरोना संक्रमणको चेन ब्रेकको लागि कम्तिमा १५ दिन निषेधाज्ञा जारी गर्नुपर्ने सरकारको निर्णय छ ।

मोरङका मंगलबार सक्रिय संक्रमितको संख्या ७६८ पुगेको छ । तर, मोरङमा आत्तिहाल्नु पर्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताएका छन् । अधिकांश बिरामीहरु घरमै आइसोलेटेड रहेको र उपचारका लागि अस्पताल पुग्नेको संख्या थोरै भएकोले अहिलै नै आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

कोसी कोभिडमा उपचाररत २८ जना बिरामीमध्ये पाँच जना मात्र आइसियुमा रहेको र भेन्टिलेटरमा कोही पनि नरहेको अवस्थालाई सामान्यरुपमै बुझ्न पर्ने प्रजिअ निरौलाले बताए । ‘पश्चिमको जस्तै संख्या बढ्यो भने बेग्लै कुरा हो’ उनले भने, ‘तर, अहिलेको अवस्था हेर्दा तुरुन्तै आत्तिएर केही गरिहाल्नु पर्छजस्तो लागेको छैन ।’

जिल्लामा तत्काल निषेधाज्ञा वा लकडाउन गर्ने विषयमा नसोचेको प्रशासनले जनाएको छ । प्रशासनले आत्तिनुपर्ने अवस्था नरहेको बताएपनि प्रदेशमा संक्रमण दर तीब्र रहेको छ । चैतको अन्तिमसम्म प्रदेश १ मै सक्रिय संक्रमितको संख्या करिब शुन्य रहेको थियो ।

चैतको अन्तिमबाट प्रदेशमा संक्रमणको दोस्रो लहरको असर देखिन थालेको हो । वैशाखको दुई सातामा मात्र प्रदेशमा १ हजार ३७९ पुगेको छ । जसमा आधाभन्दा धेरै मोरङका छन् । संक्रमितको ठूलो संख्या विराटनगरभित्र छ ।

निषेधाज्ञाको समयमा जिल्लाहरुमा खाद्य सामग्री, औषधि पसलबाहेक सबै व्यवसाय बन्द हुनेछन् भने अतिआवश्यक सवारीसाधनहरु मात्रै चल्नेछन् । सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय, चिडियाखाना बन्द गरिनेछन् ।

सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवा दिने कार्यालय मात्र सञ्चालन हुनेछ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन चल्न पाउनेछन् ।

1 प्रतिक्रिया

1 प्रतिक्रिया

Bibek yadav
April 29, 2021 10:49 AM

Ahile sano tino samasya mane ra paxi India jastai hunuparxa ni

प्रतिक्रियाहरू बन्द छन्।