प्रदेश १ मा यस्तो छ संक्रमितको उपचार प्रबन्ध

विराटनगर । सामान्य अवस्थामा विश्वस्तरकै उपचार सेवा दिने प्रचार प्रदेश १ का निजी अस्पतालहरुले गर्ने गरेका छन् । तर, संकट आएको अवस्थामा उनीहरु जिम्मेवारीबाट पन्छिने गरेका छन् । अघिल्लो वर्ष कोरोना महामारीमा नाम चलेका ठूला अस्पतालले भर्ना नलिँदा धेरै विरामीले ज्यान गुमाए ।

कोरोनाविरुद्धको तयारी थाल्दा प्रदेश सरकारले विराटनगरका कहलिएका ठूला निजी अस्पतालहरुलाई कोरोनाको उपचार गराउन मनाएको थियो । प्रदेश सरकारले सोही अनुसार व्यापक प्रचार पनि ग¥यो । तर, जब साँच्चै संक्रमित फेला पर्न थाले, निजी अस्पतालहरुले विरामीको भर्ना लिन पसिन मानेनन् ।

उदयपुरमा पहिलोपटक संक्रमित भेटिँदा विराटनगरका ठूला अस्पतालले त्यो जिल्लाकै अन्य विरामीकोसमेत भर्ना लिएनन् । अपरेशन थिएटरमा प्रवेश गराईएका विरामीले खोकेको र हाच्छिउ गरेको बहानामा बाहिर निकाल्ने काम भयो ।

‘हामीलाई त्यो बेला सामुदायिक स्वास्थ्यको महत्वबोध उच्च रुपमा भएको थियो’, तत्कालीन सामाजिक विकासमन्त्री जीवन घिमिरे भन्छन् ‘त्यही बुझेर रातारात गरेर बनाएको कोरोना अस्पताल, सरकारी अस्पतालमा खडा गरेको अलग्गै उपचार केन्द्र सबैभन्दा फलदायी सावित भयो ।’ कोरोनाको पहिलो लहर सुरु हुने बेलामा प्रदेश १ सरकारले देखाएको तदारुकताले सरकारी अस्पतालहरुमा कोभिड उपचारको प्रबन्ध राम्रो भएको थियो ।

त्यसबेला पनि सरकारी अस्पतालको क्षमताले धान्ने अवस्था नभएपछि बेड नपाएर धेरैले ज्यान गुमाए । ‘अहिले त्यस्तो हुन नदिन हामी दिनरात काम गरिरहेका छौं’, सामाजिक विकास मन्त्रालय अस्पताल तथा चिकित्सक महाशाखा प्रमुख डा. संगिता राईले भनिन् ‘अस्पतालमा बेड र जनशक्ति अभाव हुन नदिने गरी तयारी भइरहेको छ ।’

मन्त्रालयका अनुसार धरानको वीपी प्रतिष्ठानमा कोभिड उपचार केन्द्रकै लागि ७२ वटा आइसीयु र १९ वटा भेन्टिलेटरसहितको एक सय बेड सञ्चालनमा छ । कोशी अस्पतालमा आइसीयु ६ वटा, ५ वटा भेन्टिलेटर, मेची अस्पतालमा ६ वटा आइसीयु सञ्चालनमा छन् ।

प्रदेश सरकारको पहलमा स्थापित कोशी कोभिड अस्पतालमा कूल १ सय ८० बेड छन् । जसमध्ये पछाडि थपिएको सय वटा बेडमा अक्सिजनको सप्लाई जडान भएको छैन । ती बेड सञ्चालनमा आउन केही दिन लाग्ने अस्पतालले जनाएको छ । ‘बेडहरु तयारी अवस्थामा छन्’, अस्पतालका संयोजक एपोलो भगतले भने ‘तर, अक्सिजन सञ्चालनका लागि चाहिने विद्युतीय उपकरणहरु धमाधम जडान भइरहेकोले केहि दिन लाग्नेछ ।’ यो अस्पतालमा ३० वटा भेन्टिलेटर र ५० वटा एचडीयु कक्ष छन् ।

प्रदेश सरकारकै पहलमा निर्माण भएर सञ्चालन भएको मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको कोरोना उपचार केन्द्र भने अहिले बन्द छ । सामाजिक विकास मन्त्रालयले विराटनगरमा बेड र उपकरण थपेर त्यसको विकल्प तयार पारिएको जनाएको छ । प्रदेश सरकारले कोरोना उपचारका लागि झापा र मोरङमा रहेका मेडिकल कलेज र ठूला अस्पतालको पूर्वाधारलाई पनि गणनामा राखेको वर्ष दिन नाघेको छ । तर, ती अस्पतालले कोरोना संक्रमितलाई उपचारै नगरी फर्काउने गरेका छन् ।

विराटनगरको न्यूरो, नोवेल मेडिकल कलेज, विराट मेडिकल कलेज, झापाको बीएण्ड सी लगायतका अस्पतालहरुमा कोरोना उपचारकै लागि ६० वटा भेन्टिलेटर र ४१ वटा आइसीयु तयार रहेको प्रदेश सरकारको तथ्यांकमा उल्लेख छ । तर, तथ्य ठीक उल्टो छ । अघिल्लो साता मात्रै कोरोनाको एन्टीजेन परीक्षण रिपोर्ट पोजिटिभ आएकी उदयपुरकी एक महिलालाई विराटनगरका ठूला अस्पतालले ढोकाबाटै फर्काइदिएका थिए । अस्पताल घुमाउँदा घुमाउँदै उनको मृत्यु भएको थियो ।

स्वास्थ्यकर्मीहरु तुलनात्मक रुपमा पूर्वाधारको स्थिति राम्रो भए पनि संक्रमित ह्वात्तै बढे केही भन्न नसकिने बताउँछन् । ‘अहिले नै बेड नपाउने अवस्था छैन, सरकारी अस्पतालका बेडहरुले पुगेकै छ’, विराटनगरका चिकित्सकहरु भन्छन् ‘तर, जुन दरमा संक्रमण बढेको छ, त्यसले केही भन्न सक्ने स्थिति छैन ।’

मङ्गलबार, १४ बैशाख, २०७८, दिउँसोको ०३:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर