गणेश लम्साल
१३ महिनादेखि देश विश्वव्यापी कोरोना महामारीको चपेटामा छ । दोस्रो चरणको लहरसँग नेपालमा कोरोना संक्रमितरुको संख्या ३ लाख नाघिसकेको छ । संक्रमितमध्ये ३ हजारभन्दा बढिले ज्यान गुमाएका छन् । पहिलो चरणको महामारी नेपालीहरुले जेनतेन झेल्न संभव भएपनि दोस्रो चरणको कोरोना संक्रमणले बालबालिका र युवाहरुमा समेत आक्रमण गरिहकोले स्थिति झन् भयावह हुने खतरा बढदै छ ।
खतरा जति बढ्दैछ, उति आपत् विपद्का बेला अभिभावकत्व प्रदान गरेर आफ्नो जिम्मेवारी निभाउनुपर्ने सरकार महामारीमा नागरिको जीउधनको सुरक्षाका लागि उदासिन बनिरहेको पनि प्रत्यक्ष महशुस भैरहेको छ । पहिलो चरणमा निर्माण गरिएका हेल्पडेस्क, आइसोलेसन सेन्टर, होल्डिङ सेन्टर अनि फिभर क्लिनिक र क्वारेन्टाइन तथा कोभिड अस्पतालहरु अलपत्र छन् । सरकारले नयाँ संरचनाहरु निर्माण गराउन त परै जाओस्, पुराना संरचनाहरुलाई समेत अझै सञचालनमा ल्याउन खासै चासो दिइरहेको छैन । बरु प्रधानमन्त्री केपी ओलीको नेतृत्वको सरकार ‘जे आई पर्ला टर्दैजाला, हेर्दै जाउँला’ झै मनस्थितिमा देखिन्छ ।
पहिलो चरणमा पाएको हण्डर र खाएको दुखबाट सरकारले अलिकलति पनि चेतेको पाइएन । नत्र निर्माण गरेका कोभिड अस्पतालहरु बन्द गराउन र कर्मचारी हटाउन सरकार यतिसारो हतार गर्ने नै थिएन । अर्कोरि महामारीका लागि झन् दक्ष जनशक्ति र यन्त्र उपकरणहरु थपेर आफूलाई तयारी अवस्थामा राख्नुपर्नेमा सरकारले ‘अब कोरोना सोरोना सबै पचाईसक्यो, हामी नेपालीहरुलाई केही हुदैन’ भन्ने मुर्ख सोच राखेर आफैंले जारी गरेको स्वास्थ्य निर्देशिकाहरु समेत पालना गर्न गराउन चाहेन । फलस्वरुप दोस्रो चरणमा कोरोना संक्रमण फैलिएसँगै नेपालको अवस्था पहिलेभन्दा जोखिमपूर्ण र जटिल बनेर जाने देखा परिसकेको छ । यसैले सरोकारवाला र बिज्ञहरुले सरकारको ‘लथालिङे पारामा चलिरहेको भताभुङ’ शासन प्रणालीले कोरोना संक्रमणबाट जोगाउन नसक्ने भएकोले आफैं सर्तक हुन आम नागरिकहरुलाई आग्रह गरिरहेका छन् ।
यो बेला अक्सिजनसहितका भेन्टिलेटरयुक्त अस्पताल बनाउनुपर्ने समय हो । तर, प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार आफैं हजारौंलाई भेला गराएर धार्मिक रामरमिता देखाउँदै मन्दिर स्थापना गराउने कार्यलाई प्राथमिकता दिइरहेको छ । मन्दिरमा पुजाआजा गरेर करोडौंको गजुर चढाइरहेको छ । निर्माण सम्पन्न भइनसक्दै र सर्बसाधारणलाई खुल्ला नै नगरि हतारमा जस लिन धराहराको तामझामसहित उद्घाटनमा केन्द्रित गरिरहेको छ । अनि आफैंले जारी गरेको स्वाथ्थ्य निर्देशिका उल्लंघन गर्दै प्रधानमन्त्री निवासमै पार्टीको करिब ३०० जनाको भेला र बैठकहरु आयोजना गरेर कानूनको खिल्ली उडाउने काम गरिरहेको छ । विज्ञ, सरोकारवालाहरुसँग व्यापक छलफल गरेर रुटिङ्कका कामहरुलाई थाँती राखेर भएपनि महामारी रोकथाम र नियन्त्रणमा लागि पर्नुपर्नेमा सरकार आफ्नो सत्ता स्वार्थको रणनीतिमा मात्र केन्द्रित भैरहेको छ ।
आम नागरिकलाई सरकार चाहिने भनेकै आपतबिपद्का बेला हो । अरुबेला त दशनंग्रा खियाएर पसिना बगाउँदै आफ्नै पौरखले नागरिकहरु आफैं बाँचेका मात्र हुदैनन्, कमाएको पैसा सरकारलाई करमार्फत बुझाएकै हुन्छन् । त्यही गरिब नागरिकहरुले कमाएको पैसाले सरकार र उसका प्रशासनिक संयन्त्रहरुले शासक प्रशासक बनेर उल्टै धाक लगाउन र शानमान देखाउन पाइरहेका छन् । ‘अरुबेला जे गर तर आपतबिपद्का बेला हामीलाई संरक्षण देउ’ भनेर चुपचाप बसेका नागरिकहरु महामारीमा सरकारले बिचल्ली अवस्थामा छाडेपछि भित्रैभित्रै मुर्मुरिनसम्म्म मुर्मुरिएका छन् ।
केपी ओली र उनका सर्मथकहरुलाई हेक्का होस्, धराहरा मैले बनाएँ, मेलम्चीमा पानी मैले नै ल्याए भनेर देखावटी काम गरेर आगामी चुनावमा जनताले मत दिनेवाला छैनन् । किनभने जनता आफ्नो अधिकारप्रति सचेत छन् । उनीहरु दया बाँडेर हैन आफैंले पाएको अधिकारबाट मात्र मुक्ति हुन्छ र दिगो बिकास संभव छ भनेर बुझ्न सचेत छन् । यसैले अव पुरानो ढर्राको राजनीति गरेर जनतालाई भ्रमित बनाउन केपी ओली सरकारले छाड्नुपर्छ । किनभने हिजो पूर्वराजा ज्ञानेन्द्रले पनि देशमा संकलटकाल लगाएर मठमन्दिरहरु धाउँदै धुमधामले पुजाआजा गरेकै थिए । आफूविरुद्ध बोल्नेहरुलाई सेना प्रहरी पठाएर सेन्सर गराएकै थिए । सकेसम्म विरोधीहरुलाई तह लगाउन झुठा मुद्दा लगाएर थुनाएकै थिए । तर, जति गरेपनि उनको शासन टिकेन । किनभने नयाँ युग चाहने नेपाली जनताहरुले ज्ञानेन्द्रको तानाशाही तन्त्रलाई पटक्कै रुचाएनन् । यसैले ज्ञानेन्द्रले जनतासँग माफी माग्दै शीर झुकाएर नारायणहिटी छाडेर बाहिरिनुपरो ।
प्रतिगमन रुचाउने केपी ओली र उनका सर्मथहरुलाई पनि हेक्का होस्, ज्ञानेन्द्रपथमा हिँडेर संघीय गणतन्त्र नेपालको रक्षा हुदैन । ओलीबा र उनका मतियारहरुले अहंकारले फुलिएर ‘मैले जे गरिरहेको छु, त्यो नै सर्बक्षेष्ठ कार्य हो’ भनेर ठान्नु बेकार छ । प्रम ओलीले पूर्वराजा ज्ञानेन्द्रले झै जसरी पनि चुनाव गराएर जनादेश लिन्छु र म अझै शक्तिशाली निरंकुश शासक बन्न सफल हुनेछु भन्ने दिवासपना देख्न छाड्नुपर्छ । किनभने जनताले ५ वर्षका लागि दिएको बहुमतको मान भयो कि अपमान, दिगो विकास भयो कि बेकारको भन्ने महामारीको समयमा खुल्लमखुल्ला ठम्याइसकेका छन् ।
हेक्का होस् ! अब जनता पहिलेका झै सोझा छैनन् । ज्ञानेन्द्रकालमा प्रष्ट भएकै हो, दिगो, पारदर्शी विकास र सुशासन रुचाउने नागरिकहरु बाहिर सर्मथक झै देखिएपनि मतदानको बेला चाँही आफ्नो विवेक सही ढंगले परिवर्तनका पक्षमा प्रयोग गर्नेगर्छन् । किनभने नागरिकहरुले सधैभरि अँध्यारोलाई सरापेर रात बिताउनु भन्दा एउटा बत्ती बालेर कोठा उज्यालो बनाउनु उचित हो भन्ने जानिसकेका छन् । निरंकुश शाहीतन्त्रमा ज्ञानेन्द्रपथलाई भोगिसकेका नेपालीहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मौलिक हक र संबिधानबाट प्राप्त आफ्ना हकअधिकारको रक्षाका लागि पेरि ज्ञानेन्द्रपथमा हिँडिरहेको प्रतिमनकारी ओली प्रबृत्तीलाई पटक्कै आत्मसाथ गर्नेछैनन् । विश्व महमारीको बेलासमेत ‘लथालिङ तालमा भताभुङ’ शासन चलाइरहेको सरकारको भरमा परेर अनाहकमा ज्यान गुमाउनुभन्दा आफनो सुरक्षा आफैं गर्नुपर्छ भनेर होसियार बनिरहेका छन् । आफैं जागरण अभियान चलाइरहेका छन् । र, यो नै महामारीबाट जोगिने सही विकल्प पनि हो ।