भारतमा कोरोना संक्रमण बढेसँगै प्रदेश १ मा कोरोना संक्रमितहरु बढ्न थालेका छन । तर खुल्ला सीमानाबाट हुने आवतजावत खुलमखुला छ । मानिसहरू निर्धक्क खुला सीमानको फाइदा उठाउँदै भारत जाने आउने गरिरहेका छन् । नाकामा स्वास्थ्य डेस्कहरू पहिले झै अझै राखिएका छैनन् । केही स्थानमा राखिए पनि त्यो देखावटी जस्तो मात्रै छ ।
दोस्रो चरणमा कोराना संक्रमण दर बढेसँगै प्रदेश १ का नागरिकहरू पनि कोरोना संक्रमणले चिन्तित बन्न पुगेका छन् । उनीहरू महामारीको बेला विशेष सर्तकता अपाउनुपर्ने सरकारले विगतबाट झन् पाठ सिकेर विशेष सकर्तकता नअपाएको भन्दै नागरिकहरू कोरोना संक्रमणले कतिखेर प्राणपखेरु हरेर लैजाला भन्ने चिन्तामा धेरै भयभित भइरेहका छन् ।
के भन्छन् विज्ञहरू ?
आफैंले स्वास्थ्य अवस्था पालना गर्नुपर्छ : डा. नवराज सुब्बा (जनस्वास्थ्य विज्ञ)
दोस्रो चरणको कोरोना संक्रमण झन् धेरै जोखिमपूर्ण अवस्थामा देखापरेको छ । भारतको संक्रमण र नेपालको संक्रमण उस्तै अवस्थामा छ । नेपालमा जनसंख्या थोरै भएकोले मात्र कम देखिएको हो । यस्तो अवस्थामा राज्यका सबै तहका सरकार झन् संवेदनशिल हुनुपर्नेमा भएको पाइएको छैन । हिंजो बनेका आइसोलेसन, क्वारेन्टाइन, हेल्पडेस्क, कोभिड अस्पताल सबै लथालिङ अवस्थामा हुनुले हाम्रो अवस्था झन् जटिल हुने पक्का छ । त्यसैले अब हामी सर्वधारणले आफैं शंवेदनशिल भएर सतर्क हुनुपर्छ । स्वास्थ्य मापदण्ड पूर्णरूपले आफैंले पालना गर्नुपर्छ । सकारकारको मात्र भरपर्यौं भने हामी झन् ठूलो जोखिममा पर्ने खतरा छ ।
दुई महिना सर्तक बनौं, त्यसपछि रमाउँला : डा ज्ञानेन्द्रमानसिंह कार्की (कोरोना संक्रमित)
हाम्रो खराब बानी हामीले कहिल्यै सुधार गर्न जानेनौं । जसले गर्दा हामी फेरि भयंकर महामारीको खतरामा पुगेका छौं । हिंजो पाएको दुःखबाट हामीले सिक्न नै चाहेनौं । पहिलो चरणको कोरोना शून्यमा झार्ने सरकारले सबै बिर्सियो । थप तयारी गरेर जोखिम टार्न सक्षम हुनुपर्नेमा बनाएका संरचना हटाउन सरकार हतारियो । मैले त्यसो नगरौं भनेर सल्लाह दिएको पनि हो तर सुनवाई भएन । सरकारको रबैया बेतालको भयो । पहिले पहिले शिकार खेल्न जाँदा कैयौं रात शिकार पर्खने गरिन्थ्यो, तर आजकल त महामारी फेरि आउँछ भनेर हेक्का समेत गरिएन । जसले गर्दा अब बालबालिका र जवानहरू उच्च जोखिममा परिसकेका छन् । मलाई लाग्छ दोस्रो चरणको कोरोनाले विकराल रूप पक्कै लिनेछ । तर सरकारले अझै निजी क्षेत्रसँग सहकार्य गर्न चाहेको छैन । हामी आफैं लाखौं खर्च भार बेहोरेर फेरि कोभिड उपचार सुरु गर्ने तयारीमा छौं ।
सरकारको यस्तो रबैया रह्रो भने संक्रमण रोक्न हामी असर्मथ हुनेछौं । यसैले हामीले आफ्नो सुरक्षामा आफैले विशेष चासो दिनुपर्छ । बालबालिकालाई लिएर अस्पताल, महल, मेला बजार, आदि जाने गर्न हँुदैन । दुई महिना शैक्षिक संस्था बन्द गर्दा केही फरक पर्दैन । आफ्नो सुरक्षामा हामी आफैंले चासो दिनुपर्छ । घरभित्रै बस्नुपर्छ । एउटा होइन दुई वटा मास्क लगाउनुपर्छ । भोजभतेर पार्टी, बिहे उत्सव आदि घरभित्रै सीमित गर्नुपर्छ । सरकारले अस्पतालमा रुटिङ उपचार बन्द गराएर भएपनि दुई महिना कोरोना संक्रमण रोकथाममा विशेष प्राथमिकता दिनुपर्छ । घुमफिर गर्ने रमाउने काम दुई महिनापछि गरौंला । आगो लागेपछि दमकल किन्ने र बाढी आएपछि राहत सामग्री मगाउने माग फारम भर्ने हाम्रो पुरानो चलन त्याग्नुपर्छ ।
सरकार थप गम्भिर हुनैपर्छ : जीवन घिमिरे, पूर्व समाजिक विकास मन्त्री प्रदेश १
हामीले धेरै प्रयास गरेर प्रदेश १ मा कोरोना संक्रमण रोकथामका लागि संरचनाहरू निर्माण गरेर सञ्चालनमा ल्याएका थियौं । हिंजो बनेको २ सय बेडको कोभिड अस्पताल अहिले पूर्ण अवस्थामा सञ्चालन भइरहेको छैन । दक्ष जनशक्तिको नियुक्तिमा पनि सरकारको ध्यान पुगेको देखिँदैन । यन्त्र उपकरण अपुग भए तुरुन्त आपूर्ति गराउनुपर्छ । मेरो पालामा स्विस सरकारसँग ५ करोडको यन्त्र थप्ने सम्झौता भएको थियो । त्यसको अवस्था के छ ? सकारकारले सार्वजनिक गर्नुपर्छ । पहिलो चरणमा प्रदेश १ का चौधवटै जिल्लामा आइसोलेसन, क्वारेन्टाइन स्थापना भएका थिए ती सबैलाई सकारले पुनः तयारी अवस्थामा राखेर सञ्चालना ल्याउन आवश्यक छ । नाका र अस्पतालमा हेल्प डेस्कहरू फेरि सुचारु गराउनुपर्छ । निजी अस्पतालहरुलाई पनि जिम्मेवार बनाउनुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा भनेको सरकारले जारी गरेको स्वास्थ्य निर्देशिका आफैंले पूर्ण पालना गरेर नागरिकलाई पनि पालना गराउन लगाउनुपर्छ ।
मानसिक समस्या झन् जटिल बन्न सक्छ : मन्जिता उपाध्याय (मनोविमर्शकर्ता)
पहिलो चरणको कोरोना संक्रमण कालमा धेरै व्यक्त्ति र घरपरिवार मानसिक समस्या झेल्न बाध्य भैसकेका छन् । कतिले आत्महत्या नै गरेका थिए । यसैले हामीले सरकारलाई मनोविशर्म सेवा सञ्चालन गर्न अनुरोध गरेका थियौं । तर सरकारले चासो दिएन । दोस्रो चरणमा यो समस्या झन् धेरै बढ्ने अवस्था छ । यसैले सरकारले नागरिकहरुको मनोबल उच्च बनाउन मनोविमर्श सेवा अविलम्ब सुरु गराउनुपर्छ । अर्कोतिर हामी आफैंले पनि सुरक्षा मापदण्डलाई पालना गर्न गराउन विशेष सर्तकता अपनाउनुपर्छ । सरकारको मात्र भर परेर हुँदैन ।
आफनो सुरक्षामा आफैं सकर्तक बनौं : बाबुराम तिमल्सिना (क्याम्पस प्रमुख, महेन्द्र मोरङ क्याम्पस, विराटनगर)
सरकार संवेदनशिल नभएको अनुभव भएको छ । राज्यले संक्रमणको अवस्थालाई विशेष चासो दिनुपर्छ । धुन्धुकारी प्रवृत्ती प्रयोग गर्नु भएन । हामी आफैंले पनि सरकारको भर परेर होइन सुरक्षा संवेदनशिलता अपनाएर सुरक्षा मापदण्ड पालना गरेर आफूलाई जोगाउन आवश्यक छ ।
सरकार, नीजि क्षेत्र र नागरिक समाजको सहकार्य हुनुपर्छ : नीतु गड्तौला (निर्देशक, राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ विराटनगर)
दोस्रो चरणको कोरोना संक्रमण झन् भयावह बनेर देखापरेपछि मानव अधिकार आयोगले बालबालिकाको सुरक्षा गर्न आग्रह गर्दैै विज्ञप्ती जारी गरिसकेको छ । तर, सरकारको मात्र भर परेर अहिलेको संक्रमणबाट जोगिन सक्ने अवस्था छैन । यसैले हामी सबै आफैं सजग हुन आवश्यक छ । सबै जनाले सुरक्षा मापदण्ड पालना गरेर घरमै बस्नु उचित हुन्छ । बाहिर हिंडडुल गर्न हामीले छाडेका छैनौं । त्यो बन्द गर्नुपर्छ । सरकारले पनि जारी सुरक्षा निर्देशिका आफैंले पनि पूर्ण पालना गरेर कार्यान्वयन गराउन प्रतिबद्ध हुन आवश्यक छ । उपचार सेवामा कुनै पनि प्रकारको विभेद हुनुहँुदैन । हिंजो बनाएका सबै संरचनालाई ब्यूँताएर थप व्यवस्था गर्नुपर्छ । यसमा नीजि क्षेत्र र नागरिक समाजले पनि सहयोग गर्नुपर्छ ।
सरकारको मात्र भर नपरौं : सरोज पोखरेल (कोरोना संक्रमित युवा)
सकारात्मक सोच राख्नुपर्छ । आत्मबल दह्रो बनाउनुपर्छ । सेवामा वर्गीय विभेद हुनुहँुदैन । राज्यले गैरजिम्मेवार चरित्र प्रदर्शन गरिरहन सुहाउँदैन । नागरिकहरुले पनि सरकारको मात्र मुख ताकेर कोरोना संक्रमण रोकिँदैन आफैं सचेत र जागरुक हुनुपर्छ । कोरोना संक्रमण रोकथाम गर्न पहिलो चरणमा प्रदेश १ सरकारले निर्माण गरेका प्रदेश भरिका आइसोलेसन र क्वारेन्टाइन सेन्टर हटाइसकेको छ । तर कोरोना संक्रमण पुनः सुरु भएपनि अझै सरकारले ती क्वारेन्टाइन र आइसोलेसन सेन्टर सुचारु गराउन विशेष पहल गरेको छैन । जसले गर्दा प्रदेश १ मा कोरोना संक्रमण रोकथाम पहिलो चरणमा भन्दा बढी चुनौतीपूर्ण देखिएको छ । निजी अस्पतालहरूले निर्माण गरेका कोभिड उपचार केन्द्र पनि हटाइसकेका थिए । तर विराटनगरका केही ठूला अस्पतालहरुले आफैं उपचार केन्द्र बनाउन थालेका छन् ।
जनता बाँचे मात्र राजनीति रहन्छ : उमेश विश्वकर्मा, अधिकारकर्मी
कोरोनाले पहिलो चरणमा दलित र गरिबहरू बढी मारमा परेको र दोस्रो चरणमा पनि झन् धेरै मारमा पर्ने जोखिम छ । जनता बाँचे मात्र राजनीति हुन्छ । कोरोना संक्रमण रोकथाममा राज्य सरकार उदासिन हुन हँुदैन बरु झन् बढी जिम्मेवार बन्नुपर्छ । सरकारले पहिलो चरणबाट पाठ सिकेको देखिएन । अझै समय छ नीजि क्षेत्रलाई समेत जिम्मेवार बनाएर सरकार सर्तक हुनुपर्छ । तर सरकारको तयारी भताभुङ्ग झंै भएकोले धेरै भर नपरी आम नागरिक पनि सुरक्षा मापदण्डमा सर्तक बन्नुपर्छ ।
खुला बोर्डरमा निगरानी बढाउनुपर्छ : निलम ढुंगेल, सचिव, जिफन्ट प्रदेश १ समिति
बोर्डर खुला भएकोले दोस्रो चरणको संक्रमण झन् धेरै भयावह हुनसक्नेछ । यसैले सीमा क्षेत्रमा विशेष निगरानी बढाउनुपर्छ । सरकारले पहिले निर्माण गरेका आइसोलेसन र क्वारेन्टाइनलाई पुनः सञ्चालनमा ल्याउन ढिलो गर्नु हुँदैन । हामी नागरिकले पनि सरकारको भर नपरी आफूहरुले पनि सुरक्षा सतर्कता अपनाउनुपर्छ ।
कपिल सुनार : युवा अभियान्ता
सरकारको अदूरदर्शी र लथालिङ्ग तालले गर्दा फेरि निम्न वर्ग कोरोनाको झन् धेरै जोखिममा पर्ने भय बढेको छ । उनीहरूको सुरक्षामा विशेष सचेतना अपनाउन नागरिक आफैं सचेत हुनुपर्छ । सरकारको मात्र भर परेर हँुदैन । तथालिङ्गे सरकारको भताभुङ्गे पारा छ यस्तोमा हुँदा खाने नागरिक झन् धेरै जोखिममा छन् । उनीहरूको बारेमा सबैले सोच्न आवश्यक छ । पहिलो चरणमा झै युवा र नागरिक समाज सुरक्षा मापदण्ड पालना गराउन र सेनिटाइजेसन गर्न अनि संक्रमितलाई साथ सहयोग दिन तयार हुनुपर्ने फेरि समय आएको छ ।