विराटनगर । मोरङको कटहरी–४ स्थित क्वालिटी केम प्रा.लि.ले उद्योगबाट निस्कने हानिकारक रसायनयुक्त पानी सिधै खोलामा बगाउने गरेको पाईएको छ ।
रसायनयुक्त पानी खोलामा बगाउने गरेको कारण आसपासका स्थानीय चर्मरोगको शिकार हुनुका साथै पानी पिउने घरपालुवा जनावर पनि मर्ने गरेका छन् ।
उद्योगबाट विषर्जित हानिकारक रसायनयुक्त प्रदूषित पानी सिधै लोहन्द्रा खोलामा बगाउने गरेकोले आसपासको कृषिजन्य उत्पादनमा पनि ह्रास आएको स्थानीयले बताएका छन् । साबुन, सर्फ र वनस्पति घ्यु उत्पादन गर्ने क्वालिटी केमले उद्योगकै पछाडि रहेको लोहन्द्रा खोलामा सिधै हानिकारक रसायनयुक्त पानी मिसाउने गरेको छ ।
उद्योग परिसरबाट अन्डरग्राउन्ड नाला बनाएर उद्योगले सिधै खोलामा प्रदूषण मिसाउने गरेको हाम्रोमत टिमले समेत फेला पारेको छ । अहिले कटहरीका गरिब तथा विपन्न वर्गका अधिकांश नागरिकहरु खोलाकै पानीमा नुहाउने तथा लुगा धुने गरेका छन् ।
प्रदूषणयुक्त खोलाको पानीमा नुहाएका कारण अधिकांश स्थानीयले चर्मरोगका शिकार हुनुपरेको छ । कटहरी–४ का रञ्जित सिंह विगत २ वर्षदेखि चर्मरोगको औषधी सेवन गर्दै छन् । उद्योगको रसायनयुक्त पानीले खोला नै प्रदूषित हुँदा कटहरी–४ को सिङ्गो फुलटोलका बासिन्दा प्रभावित छन् ।
खेती किसानी र पशुपालन गर्ने सो टोलका बासिन्दा खोलामै आश्रित रहेका कारण बढी पीडित हुनु परेको हो । खोलाकै डिलमा पशुपालन गर्दै आएका उनीहरुको कतिपय जनावरहरु पनि मरेका छन । कटहरी–४ का जसाई मुर्मुले खोलाको पानी खाएकै कारण आफ्नो एउटा भैंसी मरेको बताए । उद्योगबाट निस्कने फोहोर बन्द नभएको कारण फेरि भैंसीपालन गर्न नसकेको उनको भनाइ छ ।
स्थानीयको गुनासोको आधारमा करिब २ वर्षअघि कटहरी गाउँपालिकाले उद्योगको अनुगमन गर्दै औद्योगिक प्रदूषण रोक्न निर्देशनसमेत दिएको थियो । तर, निर्देशन दिएको हप्तादिन नबित्दै उद्योगले पुनः विषाक्त रसायन खोलामा मिसाउँदै आएको छ ।
गाउँपालिकाको निर्देशनसमेत पालना नगरेको र उद्योगको प्रदुषणले मानवीय स्वास्थ्यमा समेत प्रतिकुल असर पर्दैै गएकाले अब कारबाही गर्नुको अरु कुनै विकल्प नरहेको कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले बताए । ‘समाजले होहल्ला गर्दा प्रदूषण रोक्ने र फेरी केही समयमै सूरु गर्ने होडबाजी अब धेरैदिन चल्दैन’, उनले भने, ‘खोलामा भएका झिँगा, किरा, मच्छर सिधै खानामा आएर बस्छन, यसले त पुरै कटहरीमा महामारी फैलिन सक्छ ।’
उद्योगका सञ्चालक विवेक काबराले उद्योगबाट निस्कने फोहोर उद्योग परिसरभित्रै व्यवस्थापन हुँदै आएको दावी गरेका छन् । उनले पानी खोलामा मिसाएको बारे अनविज्ञ रहेको बताए ।