अनन्तराज न्यौपाने
आगामी भदौभित्रमा नेपाली काङ्ग्रेसले महाधिवेशन सम्पन्न गरेन भने के होला ? उत्तर अत्यन्त स्पष्ट छ, नेपाली काङ्ग्रेसको संवैधानिक औचित्य समाप्त हुनेछ । निर्वाचन आयोग लगायतका संवैधानिक निकाय अनि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका गरी तीन वटै अङ्गले नेपाल काङ्ग्रेसलाई चिन्ने छैनन् । नेपाली काङ्ग्रेस विसर्जित इतिहासको पानामा सीमित हुनेछ । के देउवाले यही चाहेका हुन् त ? अवश्य होइनन् । उनले नेपाली काङ्ग्रेसको वैधानिकता समाप्तलाई निरन्तरता दिन हरसम्भव प्रयास गर्ने कुरामा शङ्का छैन । र यसको अचुक उपाय भनेको प्रधानमन्त्री केपी शर्मा ओलीको पाउ दबाउनु हो । ओलीको शरण पर्नु हो । शेरबहादुर यही गर्ने ताकमा छन् ।
भदौपछि पनि नेपाली काङ्ग्रेसको वैधानिकतालाई कायम राख्न संविधानमा संशोधन गर्नुपर्ने हुन्छ । संविधान संशोधनका लागि नेकाको एक्लै ह्याउ पुग्दैन किनकि यस निम्ति संसदमा दुई तिहाई बहुमत चाहिन्छ । दुई तिहाईका लागि ओलीको साथ चाहिन्छ । यसरी नेपाली काङ्ग्रेसजस्तो तीन–तीन वटा सफल क्रान्तिको अगुवाइ गरेको ऐतिहासिक पार्टीलाई यसकै सभापति शेरबहादुर देउवाले इतिहासकै सबैभन्दा बदनाम र भ्रष्ट प्रधानमन्त्री खड्गप्रसादका पाउमा बुझाएका छन् । आफ्ना पाउमा बुझाइएको काङ्ग्रेसलाई कदाचित् खड्गप्रसादमा सनक चढ्यो भने उनले फुटबलझैँ फ्यालिदिन पनि सक्छन् । अर्थात् संविधान संशोधनमा सहयोग नगर्न सक्छन् । तर प्रमुख प्रतिपक्षका नेता देउवाले खड्गप्रसादलाई जसरी सुरुदेखि नै काँध हालेका छन्, यसबाट विश्वास गर्न सकिन्छ– ओलीले देउवाको सभापतित्व बचाउन भरमग्दुर प्रयास गर्नेछन् ।
महाधिवेशन गर्न नेपाली काङ्ग्रेसलाई कुनै कुराले रोकेको र छेकेको थिएन । गत वर्षको लकडाउनका अवधिमा काङ्ग्रेसले भित्रभित्रै समायोजन र क्रियाशील सदस्यताको समस्या सुल्झाउन सक्थ्यो । छठलगत्तै स्थानीय तह, निर्वाचन क्षेत्र र जिल्ला–जिल्लामा अधिवेशन गर्न सक्थ्यो । अनि गत माघ वा फागुनमा सजिलै महाधिवेशन गर्न सकिन्थ्यो । सत्ताका चतुर खेलाडी शेरबहादुरले यति सानो कुरा नबुझेका होइनन् । तर उनले के बुझिसकेका छन् भने पार्टीको आगामी महाधिवेशनबाट उनी सभापतिमा फेरि पनि चुनिने कुरा भनेको फलामको च्युरासरह छ । त्यसैले उनी अन्तिम हदसम्म सभापति पदमा टाँसिइरहन चाहन्छन् ।
दोस्रो, मुलुकको प्रधानमन्त्री भएर पार्टीको महाधिवेशन गराउने चाहना पनि उनको हुनसक्छ । र, यसका लागि उनी उचित समयको पर्खाइमा छन् । आफू प्रधानमन्त्री पदमा बहाल रहेका बेला महाधिवेशन गर्न पाइयो भने सत्ताको उपयोग तथा सरकारी साधनस्रोतको दुरुपयोग गरेर फेरि पनि सभापतिको कुर्सी हत्याउँला भन्ने देउवाको सोच हुनसक्छ । यो सोच जति निम्न स्तरको छ, त्यति नै अनैतिक पनि छ । उनको पदलोलुपता र सत्तामोहलाई काङ्ग्रेसका अति सामान्य कार्यकर्ताले पनि बुझिसकेका छन् । त्यसैले सत्ताको उपल्लो कुर्सीमा बस्नेबित्तिकै यस पटक देउवा सभापतिमा चुनिने कुनै सम्भावना देखिँदैन । प्रत्येक महाधिवेशनमा काङ्ग्रेसमा प्रतिनिधि मतदाताले सही र विवेकपूर्ण निर्णय गर्दै आएका छन् । देउवा काङ्ग्रेस सभापति भएपछि वाग्मतीमा धेरै पानी बगिसकेको छ । जनजनमा चेतनाको स्तर आकासिएको छ । काङ्ग्रेसका असल कार्यकर्ता अहिले शेरबहादुरको विकल्प खोजिरहेका छन् । देउवा बिनाको काङ्ग्रेसले मात्र प्रजातान्त्रिक समाजवादको रक्षा गर्ने र भ्रष्टाचारविहीन तथा नैतिक राष्ट्र बनाउन सक्ने कुरामा अधिकांश कार्यकर्ता सहमत छन् । त्यसैले आगामी महाधिवेशनले देउवालाई सत्ताच्युत गर्ने कुरामा शङ्का छैन ।
अहिलेसम्म देउवाले प्रम ओलीलाई किन सहयोग गरेका रहेछन् भन्ने कुरा पनि यति बेला आएर छर्लङ्ग हुँदैछ । सरकारको वार्षिक नीति तथा कार्यक्रममा कुनै पनि प्रतिपक्षी दलले समर्थन गर्नु भनेको सपनामा समेत चिताउन नसक्ने कुरा हो । राजनीतिक बेइमानी र अनैतिकताको सीमापार हो । तर देउवाले गरिदिए । लोकतन्त्रका लागि सात दशक अथक सङ्घर्ष गरेको पार्टीका सभापति स्वयंले लोकतान्त्रिक आचरण, मूल्य र मान्यताको रक्षा गर्न सकेनन् । अर्को शब्दमा भन्नुपर्दा उनले काङ्ग्रेसका समस्त मतदाताको मतलाई वामपन्थी दरबारको फोहर नालीमा अफाल्ने काम गरे ।
पुस ५ मा ओलीले प्रतिनिधि सभाको हठात् विघटन गरेपछि मुलुकमा उत्पन्न राजनीतिक परिस्थितिमा देउवा सजिलै प्रधानमन्त्री हुनसक्थे । तर उनले ओलीलाई हटाएर आफू सत्तासीन हुन चाहेनन् । प्रदेश नम्बर १ लगायतका प्रदेशमा माओवादीले ल्याएका अविश्वास प्रस्तावमा मत हाल्न काङ्ग्रेसका प्रदेश सांसदलाई रोके । नभए प्रदेश १ को मुख्यमन्त्रीमा आज शेरधनका ठाउँमा राजीव कोइराला हुन्थे ।
नेपाली काङ्ग्रेसको महाधिवेशन समयमा नहुनुमा देउवा मुख्य दोषी छ छँदैछन् । तर पार्टीको केन्द्रीय नेतृत्वमा रहेका उपसभापति विमलेन्द्र निधि र महामन्त्री डाक्टर शशाङ्क कोइराला लगायतका नेता पनि त्यत्तिकै जिम्मेवार छन् । निधि र शशाङ्क आफू मात्र नेता होइनन् । शशाङ्क पार्टीका संस्थापक एवम् जननायक बीपी कोइरालाका अनि निधि त्याग र निष्ठाका प्रतिमूर्ति महेन्द्रनारायण निधिका छोरा पनि हुन् । विमलेन्द्र र शशाङ्क अहिले विरासतको राजनीति पनि गरिरहेका छन् । तर महाधिवेशनको विलम्ब सँगसँगै दुबै नेताको ईमान र विरासतमा पनि प्रश्न चिह्न लागेको छ ।