विराटनगर । गतवर्ष फैलिएको कोरोनाले बालबालिकालाई धेरै असर नगरेको बताउने विशेषज्ञहरुले नयाँ भेरियन्टको कोरोना चाहिँ फरक भएको बताएका छन् ।
पछिल्लो समय नेपालमा व्यापक फैलिरहेको कोरोनाको नयाँ अर्थात् ‘यूके भेरियन्ट’ बाट १८ वर्षमुनिका बालबालिका बढी जोखिममा रहेको विशेषज्ञहरुले बताएका छन् ।
यसको प्रमाण पोखरा लगायतका सहरमा देखा पर्न थालेको छ । उक्त भेरियन्ट नेपालमा पनि भित्रिएको भन्दै सरकारले विशेष सतर्कता अपनाउन भनेको छ । भाइरससम्बन्धी विषयमै जापानको ओसाका सिटी विश्वविद्यालयबाट पिएचडी गरेकी डा. लुना भट्टका अनुसार ‘यूके भेरियन्ट’ बाट १८ वर्षमुनिका बालबालिका बढी जोखिममा पर्नुका मुख्य तीन कारण छन् ।
पहिलो कारण– ‘यूके भेरियन्ट’ पहिलेको भन्दा बढी आक्रामक छ । यसले जसलाई पनि सहजै आक्रमण गर्नसक्छ । डा. भट्ट भन्छिन्, ‘यूके भेरियन्टभित्रै पनि पहिलेभन्दा केही परिवर्तन आएको छ । पहिले पनि सजिलै फैलिने त थियो तर यति धेरै भन्ने चाहिँ थिएन । पहिले संक्रमण भइसकेकालाई फेरि हुने भन्ने थिएन तर अहिले संक्रमण भइसकेकालाई पनि पुनः संक्रमण हुन्छ भन्ने छ ।’
दोस्रो– बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । उनीहरूमा रोगसँग लड्ने क्षमता मज्जाले विकसित भइसकेको हुँदैन । जसले गर्दा संक्रमणसँग जुध्ने क्षमता उनीहरूमा कमजोर हुन्छ । ‘बच्चा हुर्किंदै जाँदा प्रतिरोधात्मक क्षमता पनि विस्तारै बढिरहेको हुन्छ । १८ वर्षमै प्रतिरोधात्मक क्षमता बलियो भइसकेको हुँदैन । त्यसैले उनीहरू बढी जोखिममा हुन्छन्,’ डा. भट्ट बताउँछिन् ।
यदि बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता कमजोर भए सुरूमै भित्रिएको भाइरसले उनीहरूलाई किन बढी आक्रमण गरेको भन्ने प्रश्नमा उनले पहिलेको भाइरस अहिलेको नयाँ भेरियन्ट जस्तो बढी आक्रामक नभएको बताइन् । थप प्रष्ट्याउँदै उनले भनिन्, ‘पहिलेको भाइरस यति धेरै फैलिने खालको थिएन । साथै ‘रिसेप्टर’ (भाइरस टाँसिने भाग) मा पहिलेको भाइरस मज्जाले टाँसिदैनथ्यो । जसले गर्दा भाइरस सजिलै अन्य भागमा फैलिनसक्थेन । तर, अहिलेको नयाँ भेरियन्ट ‘रिसेप्टर’ मा मज्जाले टाँसिन्छ । त्यसले गर्दा बालबालिका बढी जोखिममा छन् ।’
तेस्रो– बालबालिकाहरू पहिले यो भाइरससँग कम संक्रमित हुनु हो ।
जसले गर्दा उनीहरूमा संक्रमणविरूद्ध लड्ने ‘एन्टिबडी’ बनेको नहुने डा. भट्ट बताउँछिन् । उनका अनुसार पहिले संक्रमण भइसकेको मानिसमा ‘एन्टिबडी’ बन्न सुरू गर्छ र त्यसले पुनः संक्रमण हुनबाट बचाउँछ । साथै संक्रमण भइहाले पनि त्यसविरूद्ध लड्न मद्दत गर्छ । तर, बालबालिकामा भने पहिलोपटक संक्रमण देखिने सम्भावना रहेको भन्दै उनीहरूमा भाइरसविरूद्ध लड्ने कुनै एन्टिबडी बनिसकेको हुँदैन । जसले गर्दा संक्रमण भइहाले बालबालिकालाई थप गाह्रो हुनसक्ने डा. भट्ट बताउँछिन् ।
‘बालबालिकामा एन्टिबडी बनिसकेको हुँदैन । त्यसले गर्दा संक्रमण भइहाले उनीहरूलाई थप गाह्रो हुनसक्छ । ओठ सुनिने, रगत जम्ने, एलर्जी भएजस्तो हुने र श्वासप्रश्वासमा समेत समस्या देखिनसक्छ,’ उनले भनिन् । यद्यपि बालबालिकालाई संक्रमण भइहाले उनीहरूमा एन्टिबडी उत्पादन नहुने भन्ने हुँदैन ।
उनका अनुसार संक्रमण भइसकेपछि शरीरमा दुई प्रकारका एन्टिबडी उत्पादन हुन सुरू गर्छ । पहिलो भनेको आइजिएम र दोस्रो आइजिजी । आइजिएम संक्रमण भएको पहिलो सातामै बन्न सुरू गर्छ भने आइजिजी कम्तीमा दश दिनबाट उत्पादन हुन थाल्छ । अर्को कुरा भनेको आइजिजीको तुलनामा आइजिएम एन्टिबडी निकै कमजोर हुन्छ । अर्थात् यसको संक्रमणविरूद्ध लड्ने क्षमता कम हुन्छ। आइजिएम हप्ता दिनभित्र हराएर जान्छ भने आइजिजी लामो समयसँग रहनसक्छ । तर बालबालिकाको हकमा भने बढी आइजिएममात्रै सक्रिय हुनेगर्छ ।
‘बालबालिकामा पनि संक्रमण भएपछि एन्टिबडी त बन्छ तर एन्टिबडी आइजिएमबाट आइजिजीमा परिवर्तन नै नहुने समस्या देखा पर्नसक्छ,’ डा. भट्टले भनिन् । गुणस्तरीय हिसाबले हुने दुइटा एन्टिबडीमध्ये पनि बालबालिकामा भने नचाहिने एन्टिबडी बढी उत्पादन हुने हुँदा त्यसले झन् बेफाइदा पु¥याउने उनले बताइन् । उनका अनुसार गुणस्तरीय हिसाबले शरीरमा दुई प्रकृतिको एन्टिबडी हुन्छ ।
पहिलो भनेको भाइरसलाई ‘न्युट्रलाइज’ (समातेर राखिराख्ने) गर्ने र दोस्रो न्युट्रलाइज नगर्ने । डा. भट्टले बालबालिकामा भने भाइरसलाई नसमात्ने एन्टिबडी बढी उत्पादन हुने बताइन् । जसले गर्दा भाइरसहरू जथाभावी कोषहरूमा टाँसिने र बढी फैलिने जोखिम रहन्छ । ‘एन्टिबडी आफैंले भाइरसलाई खाँदैन । यसले त समात्ने मात्र काम गर्ने हो । पछि अरू कोषहरू आएर अवस्था हेरेर भाइरसलाई आक्रमण गर्ने हो,’ उनले भनिन् ।
पछिल्लो समय ‘यूके भेरियन्ट’ नेपालमा पनि भित्रिएको र यसबाट बालबालिका बढी जोखिममा रहेका कारण उनीहरूप्रति विशेष ध्यान पुर्याउनुपर्ने डा. भट्टको सुझाव छ । उनले नयाँ भेरियन्टबाट ४० वर्षमुनिका मानिसहरू र त्यसमा पनि बढी १८ वर्षमुनिका प्लस टु र स्कुलमा पढ्ने विद्यार्थीहरू बढी जोखिममा रहेको बताइन् ।
(एजेन्सीहरुको सहयोगमा)