विराटनगर । प्रदेश १ का सांसदहरुले खुवालुङलाई कुनै क्षति नपु¥याई कोशीमा जल यातायात सञ्चालनको सम्भावना उच्च रहेको भन्दै ढुंगो फुटाउने मुर्खता नगर्न सरकारलाई चेतावनी दिएका छन् ।
सत्तारुढ नेकपा एमाले, मुख्य विपक्षी नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका ७ जना सांसदको टोलीले सोमबार खुवालुङ क्षेत्रको अवलोकन गरेपछि वैकल्पिक उपायहरु प्रशस्त रहेको ठहर गरेको हो ।
‘हाम्रो नांगो आँखाले समेत जल यातायातका लागि प्रशस्त विकल्पहरु देखिरहेको छ’, सांसदहरुको सामूहिक आवाज थियो ‘सरकारले प्राविधिक अध्ययन गरेरै यसको विकल्प खोज्नसक्छ । सुनकोशी, अरुण र तमोरको त्रिवेणी क्षेत्रको अवलोकन, स्थानीयबासी र खुवालुङ संरक्षण समितिका पदाधिकारीहरुसँग अन्तरक्रियापछि माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले खुवालुङ संरक्षण राज्यको दायित्व भएको बताउनुभयो ।
‘यहाँ आएर हेर्दा जल यातायातका लागि प्रशस्त विकल्पहरु देख्न सकिन्छ’, प्रदेशका पूर्व आर्थिक मामिला मन्त्रीसमेत रहनुभएका उहाँले भन्नुभयो ‘विकल्पहरु अघि सारेर धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्न सकिन्छ । खुवालुङ संरक्षण गरेर पनि जल यातायात चलाउन सकिन्छ । यसबारे राज्य गम्भीर बन्नुपर्ने खाँचो मात्रै छ ।’ खुवालुङ फुटाउने सरकारी योजना सफल हुन नदिने दृढता व्यक्त गर्दै आङ्बोले किरात समुदायको आस्थाको थलोमा धावा बोलेर होइन, संरक्षण गरेर विकास गर्न सरकारलाई सुझाव दिनुभयो ।
मुख्य विपक्षी दल नेपाली काँग्रेसका सचेतक सुयर्माराज राईले ऐतिहासिक र सभ्यतासँग जोडिएको खुवालुङ संरक्षणको विकल्प नै नभएको बताउनुभयो । ‘यो किरात जाति समुदायसँग मात्रै सम्बद्ध विषय होइन, यो राष्ट्रको सम्पत्ति हो’ उहाँले भन्नुभयो, ‘विकास भनेको संस्कृतिको विनाश होइन, हुनुहुँदैन । विनाश नगरी पनि प्रशस्त विकल्प देख्न सकिन्छ ।’ केपी ओली नेतृत्वको कम्युनिष्ट सरकार संस्कृतिमाथि प्रहार गर्न उद्यत रहेको भन्दै उहाँले काँग्रेसले यसको प्रतिवाद गर्ने बताउनुभयो ।
एमाले सांसद राजन राईले खुवालुङ समग्र नेपालीको साझा सम्पत्ति भएको बताउँदै नेपालको पूर्वी भागमा कोशीबाटै मानव सभ्यता विकास भएकाले खुवालुङ सभ्यतासँग जोडिएको उल्लेख गर्नुभयो । ‘विकासका लागि यस्ता अमुल्य निधिहरु नामेट गर्न पाइन्न’ उहाँले भन्नुभयो, ‘हामीले नांगो आँखाले हेर्दा त सम्भावना देखिन्छ, सरकारले सम्पूर्ण अध्ययन गरेर विकल्प खोज्नुपर्छ । सम्पदा नामेट पार्न जबरजस्ती हुन्छ भने कसको सरकार हो, को हो भन्ने कुरा हेरेर बसिन्न ।’
संसद्को अर्थ समिति सभापति मोहनकुमार खड्काले कोशी सभ्यता मानव सभ्यताको अमूल्य निधि भएको बताउँदै त्यही सभ्यताको ऐतिहासिक प्रमाण नष्ट गर्न खोज्ने सरकारी योजना दयालाग्दो भएको बताउनुभयो । ‘यति महत्वको सम्पदा फुटाउँछु भन्ने सरकार विकास होइन, संस्कृति मास्न उद्यत रहेको देखिन्छ’, उहाँले भन्नुभयो ‘जल यातायात चलाउन प्रशस्त विकल्प यहाँ छन्, सरकारले आँखा खोलेर हेरोस् ।’
प्रदेशसभाको उद्योग पर्यटन वन तथा वातावरण समिति सभापति सीता थेवेले जल यातायात सञ्चालनका लागि धेरै विकल्प देखिएको बताउँदै यसलाई जोगाउँदै विकल्पहरु खोजेर संरक्षण गर्नुपर्ने बताउनुभयो । ‘यहाँ धेरै विकल्प देख्न सकिन्छ ’, उहाँले भन्नुभयो ‘संसद्मा, संसदका समितिमा यो कुरा अघि बढाइनेछ ।’
खुवालुङ फुटाउने वा सार्ने सरकारको योजनाको सर्वत्र विरोध भइरहेको छ । खुवालुङ क्षेत्र नजिकै बस्ने किरात समुदायका सर्वसाधारणले प्रदेश सरकारको नेतृत्वमा जनजाति समुदायकै शेरधन राई मुख्यमन्त्री भएको बेला आफ्नै जातीय समुदायको आस्थाको केन्द्र भत्काउने र सार्ने योजना बनाउनु दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।
‘प्रधानमन्त्री केपी ओलीलाई त यसबारे चासो भएन रे’, धनकुटा साँघुरीगढीका स्थानीय रामकुमार राईले भन्नुभयो ‘तर, राई समुदायकै मुख्यमन्त्रीले त यसको महत्व बुझ्नुपर्ने हो नि । तर, आफै खुवालुङ फुटाउने र सार्ने योजना बनाएको सुनियो । यो एकदमै गलत काम हो ।’ सांसदहरुको टोली आउने खबरपछि खुवालुङ क्षेत्रमा भेला भएका सर्वसाधारणले आफ्नो धार्मिक आस्थाको धरोहरमा धावा बोलेर प्रधानमन्त्री ओली र मुख्यमन्त्री राईले गलत काम गरिरहेको भन्दै आक्रोश पोखेका थिए ।
सांसदहरु, स्थानीयबासी, खुवालुङ संरक्षण समिति लगायतले मुख्यमन्त्री राई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन पालनामा जुटेको भन्दै आलोचना गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी आमसभामार्फत घोषणा गरेको सप्तकोशीको खुवालुङ (ढुंगो) फुटाउने योजना नागरिक प्रतिरोधको बलमा रोकिएको छ ।
मुख्यमन्त्री शेरधन राई खुवालुङबारे विकल्पहरुमा छलफल गरिरहेको बताउनुभएको थियो । त्यो ढुंगालाई क्रेनले सारेर, जस्ताको तस्तै उठाएर अन्यत्र राख्ने, ढुंगाको खास भागलाई अर्को ठाउँमा सार्ने वा नदीको वहावलाई नै परिवर्तन गर्ने विकल्पमा छलफल भइहरेको उहाँको भनाइ छ ।
मुख्यमन्त्रीले भनेका तीनमध्ये पहिलो दुई विकल्पले खुवालुङको सौन्दर्य र अर्थमा प्रहार गर्ने अनुसन्धाता एवम् लेखक भोगिराज चाम्लिङको भनाइ छ । सर्वसाधारणले पनि यसको विरोध गरेका छन् । किरात राई भाषामा‘खुवा’भनेको पानी हो भने ‘लुङ’भनेको ढुंगा हो । कोसीको बीचमा भएको यो ढुंगालाई पानीढुंगो पनि भन्ने गरिएको छ ।