विराटनगर । मैथिली भाषा संरक्षणका लागि सबै मैथिल भाषभाषीहरु सङ्गठित हुनु आवश्यक रहकोे मैथिल अभियानकर्मीहरुले बताएका छन् ।

नवगठित मैथिल संचारकर्मी संघका पदाधिकारीलाई बधाई तथा शुभकामना ज्ञापन गर्न शनिबार नेपाल पत्रकार महासंघ मोरङ शाखामा आयोजित एक कार्यक्रमकाबिच मैथिल अभियानकर्मीहरुले यस्तो बताएका हुन । मैथिल ब्राह्मण महासभा यूवा कार्यसमिति मोरङले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै मैथिली सेवा समितिका महासचिव तथा आयोजक संस्थाका सल्लाहकार विपुलेन्द्र झाले पछिल्लो समय भाषाभाषीलाई टुक्राउने खेल भइरहेकाले सजग तथा संगठित भएर अघि बढनुपर्ने आवश्यकता रहेको बताउनुभयो । संचारकर्मी तथा मैथिली अभियन्ता प्रवीणनारायण चौधरीले संचारकर्ममा जुटेका मैथिली संचारकर्मीहरुले आगामी जनगणना लक्षित कार्यक्रम तथा अभियानहरु चलाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

नेपाल प्रेस युनियनका सचिव गोपाल पोखरेलले विविध भाषासंस्कृति र संस्कारहरु राष्ट्रको सम्पति भएको बताउनुहुँदै त्यसको संरक्षण आवश्यक रहेको बताउनुभयो । उहाँले संचारकर्ममा जुटेका संचारकर्मीहरुको क्षमता अबिबृद्धि तथा संरक्षणगर्न सरोकारवालाले ध्यान दिनुपर्ने जोड दिनुभयो । मैथिल संचारकर्मी संघका अध्यक्ष नवीन कर्णले नवगठित संघले संचारकर्मीहरुको क्षमता अभिवृद्धि तथा वृत्ति विकासका निम्ति काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । आगामी दिनमा संघले भाषा सम्बन्धित विभिन्न अभियानहरु संचालन गर्ने बताउनुहुँदै उहाँले त्यसमा सरोकारवालाको सहभागिता र समर्थन आवश्यक रहेको बताउनुभयो ।

यस्तै कार्यक्रमका अन्य वक्ताहरुले पनि मैथिली भाषाको आफ्नै लिपी, व्याकरण, साहित्य र ईतिहास समेत रहेकाले यो भाषा हरेक हिसाबले समृद्ध रहेको बताएका थिए । यद्यपि पछिल्लो समय भाषाभाषीमा फुट ल्याउने तथा कमजोर बनाउने प्रयास भइरहेको भन्दै त्यस बिषयमा सजग रहनुपर्ने उनीहरुले सुझाव दिएका थिए ।

पत्रकार नवीन कर्णको अध्यक्षतामा गत फागुन २९ गते मोरङलाई कार्यक्षेत्र बनाई सक्रिय पत्रकारिता गर्दै आएका सङ्गठित गर्ने उद्देश्यले २४ सदस्यीय मैथिल संचारकर्मी संघको तदर्थ समिति गठन भएको थियो । संघको उपाध्यक्षमा प्रकाश प्रेमी र महिला उपाध्यक्षमा कुमारी श्रेया हुनुहुन्छ । संघको सचिवमा वीरेन्द्रकुमार साह, सह–सचिवमा उषा कुमारी सरदार र कोषाध्यक्षमा राकेश कर्ण हुनुहुन्छ । यसैगरि सदस्यहरुमा सन्तोष मेहता, शिवम मिश्र, निरज चौधरी, प्रेम यादव, प्रियंका कामत, राधा मण्डल, हुसैन शेख र पवन साह हुनुहुन्छ । संघको सल्लाहकारहरुमा ब्रह्मदेव यादव, अरविन्द मेहता, प्रवीणनारायण चौधरी, जितेन्द्र ठाकुर, तेजलाल कर्ण, पुनम सिंह र अमलेश कर्ण हुनुहुन्छ ।

नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झा को प्रमुख आतिथ्यमा गठन गरिएको मैथिल सञ्चारकर्मी संघमा पत्रकार वरुण मिश्रा अन्तराष्ट्रिय सल्लाहकारको जिम्मेवारी ग्रहण गर्नुभएको छ । नवगठित संघका पदाधिकारीलाई आयोजक संस्थाका अध्यक्ष मनोजकुमार मिश्र लगायतले सम्मान गर्नुभएको थियो ।