गोकुल पराजुली
सामान्यतयाः समाजमा दुईथरी मानिसहरु हुँदारहेछन् । एकथरी बनाउन खोज्ने, निर्माण गर्ने, सिर्जनशील । अर्काथरी भत्काउन खोज्ने, बिगार्ने, विध्वशकारी वा विघटनवादी । सामाजिक संरचनाहरुमा समाजको प्रतिछाया देखिन्छ । त्यो राजनीतिक संगठन वा पार्टीमा पनि स्वभाविकरुपमा प्रतिविम्बित हुन्छ । संसद वा सरकारमा पनि त्यसको प्रतिबिम्व देख्न सकिन्छ ।
अहिले नेपालको राजनीतिको केन्द्रभागमा प्रधानमन्त्री केपी ओली बिराजमान छन् । उनको शासन गर्ने तरिका, कार्यशैली, व्यवहार र कामको सरसर्ति मूल्यांकन गर्ने हो भने उनी दोस्रोथरी मानिसको समूहमा पर्छन् । उनको कामले प्रधानमन्त्रीलाई सिर्जनशील भन्ने अवस्था रहेन । तर, उनी विध्वंशकारी वा विघटनमा माहिर, विघटनवादी भने प्रमाणित भएका छन् । परिचयका लागि त यो पनि एउटा गतिलै टिप्स् हो । ‘नाम हो या बदनाम, मगर गुमनाम न हो’ भन्ने हिन्दी आख्यान झैं उनको चर्चा भने चलेकै छ ।
विघटनवादी भनेर केवल ओलीलाई फत्तुर मात्र लगाउने अभिप्रायले यसो भनिएको होइन । तथ्यहरुले स्पष्ट गरेको छ कि ओली विघटनमा माहिर छन् । त्यसको अर्थ उनी सिर्जनशील होइन ध्वंशकारी छन् । केही तथ्यहरुलाई राम्ररी हेरौं, केपी ओली के हुन् स्वतः पुष्टि हुन्छ ।
पुरानो कुरा नगरौं । तीन वर्ष अघि उनले सबैभन्दा पहिले नेकपा एमाले नामको सिंगो सग्लो पार्टी विघटन गरे । प्रधानमन्त्री बन्ने उपाय खोज्दाखोज्दै पार्टीमा कसैसँग सल्लाह नगरी उनले एमाले विघटन गर्ने निर्णय लिए । उनले एमाले मात्र विघटन गरेनन् । एमालेहरुले बाइबलकै रुपमा अपनाएको जनताको बहुदलीय जनवाद (जबज)लाई नै विघटन गरिदिए । फलस्वरुप उनलाई प्रधानमन्त्रीको कुर्सी प्राप्त भो । दुईतिहाईको शक्ति प्राप्त भो । तर, शक्तिको उन्माद यति बढ्यो कि आफु बाहेक अरु योग्छ छैनन् र हुन सक्दैन भन्ने अनौठो ब्रम्हज्ञान पनि उनले पाए ।
त्यसपछि उनले आपूmलाई दुईतिहाईले समर्थन गरिरहेको प्रतिनिधिसभा विघटन गरे । संविधानमा हुँदै नभएको व्यवस्थालाई जबरजस्ती छ भनेर प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्रीलाई सर्वोच्च अदालतले भनिदियो विघटन गर्ने अधिकार तिमीसँग छैन ।
प्रतिनिधि सभा विघटन गर्ने निर्णय असफल भएर रन्थनिएका उनी अब आफ्नै पार्टी विघटन गर्न उद्यत भए । आफ्नो ओहदा र शक्तिको दुरुपयोग गरेर सेटिङमार्फत उनी नेकपा विघटन गर्न सफल भए । नेकपा विघटन गरेर नाचगान र खुसीयाली मनाएका उनी र उनका सहयोगीहरु अब पुनर्गठित नेकपा एमाले विघटन गर्ने तयारीमा छन् । विघटन गर्न वा विभाजन गर्नकै लागि अदालतमार्फत ब्युँताएको एमालेको जेठ २ गतेको संगठनात्मक स्वरुपलाई अनावश्यक गिजोलिसकेका छन् । उनको यो कार्यले कि त एमाले विभाजन हुन्छ कि भने विघटन हुन्छ ।
त्यतिमा मात्रै ओलीले चित्त बुझाउनेवाला छैनन् । उनले राष्ट्रपतिलाई छेउमै राखेर भनिसकेका छन् ‘अदालतले विघटन हुन सक्दैन भनेपनि संविधानमा विघटन गर्ने व्यवस्था छ ।’ यो जिद्दिपनाले प्रमाणित गर्छ उनी फेरी पनि प्रतिनिधि सभा विघटन गर्न चाहन्छन् । उनले यस अघि नै चाहेका थिए संघीयता र धर्मनिरपेक्षता विघटन गर्न । आँट नपुगेरमा मात्र नगरेका हुन् । आँट हुन्थ्यो भने उनले संघीयता पुस ५ पछि नै विघटन गरिसक्थे अध्यादेशबाट । अझैपनि गर्न सक्छन् । गणतन्त्र पनि उनको चाहना होइन । उनी प्रधानमन्त्री बनिरहने सर्तमा यि संरचना र उपलब्धिहरु जुनसुकैबेला विघटन हुनसक्छन् ।
आफ्नै पार्टी विघटन गर्ने, आफूलाई दुईतिहाई समर्थन रहेको सभा विघटन गर्ने, अदालतले हुँदैन भनेपनि दोहो¥याई ते¥याई विघटनकै कुरा गर्ने उनी निर्माणकर्ता हुनै सक्दैनन् । उनी ध्वंसकारी र विघटनवादी मात्र हुन् ।
पछिल्ला कृयाकलाप र उनको चाहनालाई हेर्दा केपी ओलीले विघटन गर्न बाँकी भनेको हाम्रो राष्ट्र मात्र हो । यतिधेरै व्यक्तिवादी सोच भएको मानिसले मुलुक विघटन गर्दैन भनेर भन्न पनि सकिदैन । दुईतिहाई मत प्राप्त भएको सिक्किम एउटा नेताको व्यक्तिगत आकांक्षाकै खातिर विघटन भएको इतिहास ताजै छ । त्यसैले केपी ओली विघटनमा माहिर प्रमाणित छन् । त्यसैले उनले प्राप्त गरेको वर्तमानको जिम्मेवारी ढाकरमाथिको जाँतो भएको छ । जतिसक्दो छिटो ढाकर बिसाउन लगाउन सकिन्छ उति राष्ट्रलाई सुरक्षित राख्न अवसर प्राप्त हुन्छ ।