उपभोक्ता स्वास्थ्यमाथि खाद्य उद्योगको खेलवाड

गुणस्तरहीन खाद्यवस्तु बजार पठाउने ७ उद्योगविरुद्ध मुद्दा दायर

विराटनगर । विराटनगर क्षेत्रका केही खाद्यवस्तु उत्पादक उद्योगहरु नाफाका लागि उपभोक्ताको अधिकार र स्वास्थ्यमा गम्भीर खेलवाडमा लागेको पाइएको छ ।

गुणस्तरहीन र लेबल नलगाइ खाद्यवस्तु विक्री बितरण गर्ने विराटनगरका ७ वटा उद्योगका संचालकविरूद्ध मुद्दा दर्ता भएको घटनाले ती उद्योगले उपभोक्ता स्वास्थ्यमाथि खेलवाड गरिरहेको प्रमाण फेला परेको हो ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले गरेको ल्याब परीक्षणमा गुणस्तरहीन खाद्यवस्तु भेटिएको र लेबल नलगाइ खाद्यवस्तु बिक्री वितरण गर्ने ७ उद्योगका संचालकविरूद्ध मुद्दा दर्ता गरेको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले मोरङ जिल्ला अदालत र जिल्ला प्रसाशन कार्यालयमा मुद्दा दर्ता गर्दछ । मुलुकी अपराध संहिता २०७५ ऐन लागू भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले उत्पादन भएको खाद्यवस्तुमा कैफियत भेटिए अदालतमा खाद्य ऐन २०२३ र नियमावली २०२७ बमोजिम मुद्दा दायर गराउँदै आएको छ । लेबल नलगाइ खाद्यवस्तु विक्री वितरण गर्ने उद्योगका संचालकलाई प्रतिवादी बनाएर मोरङ प्रहरीमा मुद्दा दर्ता गराउने गरेको छ ।

गत मंसिर २१ गते विराटनगर– ९ कलेज रोडमा सञ्चालित विराट गोल्छा घ्यु प्याकेजिङ उद्योगले उत्पादन गरेको घ्यू गुणस्तरहीन भेटियो । विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको ल्याबमा गरिएको नमुना परीक्षणमा उक्त उद्योगको घ्यु गुणस्तरहीन भएको पुष्टि भएपछि दुई सय केजी घ्यु नष्ट गरियो । रमेशकुमार गोल्छा संचालक रहेको घ्यु बजारमा सस्तो मूल्यमा बिक्री वितरण हुँदै आएको थियो । बजार मूल्यभन्दा सस्तोमा उपलब्ध घ्यूमा मिसावट रहेको पाइएको थियो । जिल्लास्थित संयुक्त बजार अनुगमन समितिले गत असोज ३० गते उद्योगको अनुगमन गरेर नमूना संकलनपछि शिलबन्दी गरेको थियो ।

प्रयोगशाला परीक्षणका क्रममा घ्यूमा मिसावट रहेको र गुणस्तरहीन भेटिएपछि खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालयले माघ १९ गते उद्योग संचालक गोल्छाविरूद्ध मोरङ अदालतमा मुद्दा दायर गरेको छ । उक्त कार्यालयले न्यून गुणस्तरको घ्यू उत्पादन गर्नेविरूद्ध ५० हजार रुपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायको मागदाबी राखी अदालतमा अभियोग दर्ता गरेको छ । यो मुद्दा अदालतमा विचाराधिन छ ।

यस्तै, विराटनगर – ९ बालाजी डेरी उद्योगले उत्पादन गरेको घ्यू न्यून गुणस्तरको उत्पादन भएको पुष्टि भयो र उक्त उद्योगका संचालक विमलेश कुमार साह र बालाजी ट्रेडिङ्ग एण्ड कन्सर्नका संचालक रीता रानी साह विरूद्ध मोरङ अदालतमा अभियोग दर्ता भयो । मोरङ अदालतले केही दिन अगाडि उद्योग संचालक विमलेश कुमारलाई २ लाख ५० हजार र टे«डिङ्गका संचालक रीता रानीलाई ५० हजार रुपैयाँ धरौटी तोकिदियो । उल्लेखित घटना प्रतिनिधि मात्रै हुन्, यस्ता धेरै घटना छन्, जसले उपभोक्ता अधिकार र स्वास्थ्यमा गम्भीर अपराध गरिरहेका छन् ।

चालु आर्थिक वर्षको फागुन महिनासम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले गुणस्तरहीन, न्युन गुणस्तरको खाद्यवस्तु उत्पादन गरी विक्री वितरण गर्नुको साथै खाद्यवस्तुमा लेबल विवरण पूरा नराखेको कैफियत भेटेपछि ७ वटा उद्योग र त्यसका संचालहरूविरूद्ध मुद्दा दर्ता गरेको हो ।

चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा विराटनगरको ६ र मोरङको बुढीगंगा गाउँपालिकाभित्र रहेको १ गरी ७ वटा उद्योगका संचालकविरूद्ध मुद्दा दायर गरेको खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालले जानकारी दिए । उनका अनुसार ५ वटा जिल्ला प्रशासन कार्यालयमा र २ वटा मोरङ अदालतमा अभियोग दर्ता गराएको छ । ‘अदालत र प्रशासनमा दायर भएको अहिलेसम्म ७ वटा मुद्दा हो,’ उनले भने, ‘अन्य उद्योगहरुको अनुगमन गरेर नुमना संकलन गरी ल्याएको खाद्यवस्तुको रिपोर्ट आउन बाँकी छ ।’

विराटनगर– ४ शिवम् डेरी उद्योगले उत्पादन गरेको खाद्य पदार्थमा अस्पष्ट लेबल विवरण उल्लेख गरी विक्री वितरण गरेको भेटिएको थियो । उद्योगका संचालक पुनिता सिन्हाविरुद्ध माघ ९ गते जिल्ला प्रशासन कार्यालय मोरङमा १० हजार रुपैयाँ जरिवाना माग दाबी राखेर अभियोग दर्ता गराएको छ । मोरङको बुढीगंगा गाउँपालिका ७ स्थित एसियन फिड्स प्रालिले उत्पादन गर्ने कुखुराको दाना गुणस्तरहीन भेटियो । त्यसपछि सो उद्योगका संचालक सुजन थापाविरूद्ध माघ २३ गते जिल्ला प्रशासन कार्यालय मोरङमा २० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवना वा १ महिना देखि १ वर्षसम्म कैद सजायको माग दावी राखेर अभियोग दर्ता गराएको छ । यसैगरी विराटनगर ९ कपिस इन्टरप्राइजेजले उत्पादन गरेको ‘ज्वानो’ मा उत्पादन मिति र म्याद सकिएको मिति उल्लेख नभएको खाद्यवस्तु बिक्री वितरण भएको भेटियो र संचालक नितु अग्रवाल बशंल विरूद्ध मोरङ प्रशासनमा फागुन ९ गते अभियोग दायर गरेको छ । सो मुद्दामा संचालक अग्रवालविरुद्ध १० हजार रुपैयाँ जरिवनाको माग दाबी छ । यस्तै विराटनगर ११ स्थित सगुन पाउरोटी उद्योगले उत्पादन गरेको केक र वन पाउरोटीमा लेबेल विवरण पूरा नभएको भेटियो । त्यसपछि उद्योगका संचालक अरबिन्द स्वर्णकारविरुद्ध १० हजार रुपैयाँ माग दाबी राखेर फागुन ९ गते जिप्रका मोरङमा अभियोग दर्ता छ ।

यस्तै विराटनगर ११ मा संचालित रुमन फुट एण्ड बेभरेज उद्योग प्रालिले उत्पादन गरेको भुजिया लेबल नभएको भेटियो र उद्योग संचालक गुञ्जनकुमार सिंहविरुद्ध फागुन ९ गते जिप्रका मोरङमा १० हजार रुपैयाँ मागदाबी राखी अभियोग दर्ता गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अभियोग दर्ता गराएको ७ वटा अभियोगमध्ये १ वटा मात्र आदेश भएको छ भने बाँकी सबै मुद्दा विचाराधीनमा रहेको कार्यालयले जनाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आइतबार विराटनगरमा सार्वजानिक गरेको दोस्रो चौमासिक प्रगति विवरण अनुसार उद्योगहरू अनुगमन गरी ८१ वटा नमुना संकलन गरेको जानकारी गरायो । १ सय ४३ वटा उद्योग निरीक्षण गरेको अभिलेखमा देखिन्छ । ५ सय ७६ वटा खाद्य, दाना उद्योगको अनुज्ञापत्र जारी, नवीकरण तथा उद्योग सिफारिस गरेको कार्यालय प्रमुख रिजालले जानकारी दिए ।

सोमबार, ०२ चैत, २०७७, दिउँसोको ०३:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर