निक्षेप संकलनभन्दा कर्जा प्रवाह बढी : अर्थतन्त्र सुधारोन्मुख अवस्थामा

विराटनगर । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षमा निक्षेप सङ्कलनभन्दा कर्जा प्रवाह बढी भएकाले अर्थतन्त्र चलायमान भएको बताउनुभएको छ ।

शुक्रबार उद्योग सङ्गठन मोरङको ४८ औं बार्षिक साधारणसभामा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चालु आर्थिक बर्षको हालसम्म आईपुग्दा ५ सय ७७ अर्ब कर्जा प्रवाह हुँदा निक्षेप संकलन भने झण्डै ५ खर्ब भएको जानकारी दिनुभयो । थप कर्जा प्रवाहले आर्थिक क्रियाकलाप बढेको र अर्थतन्त्रमा सुधारोन्मुख अवस्थामा पुगेको उहाँले जिकिर गर्नुभयो ।

उहाँले हालसम्म पुर्नकर्जा मात्र १ खर्ब प्रदान गरिसकिएको स्पष्ट पार्नुभयो । कोरोना महामारीका कारण थलिएका उद्योग क्षेत्रलाई पुनः उकास्न राष्ट्र बैंकले पनि आफ्नो मौद्रिक नितिमा केही फेरबदल गर्दै पुर्नकर्जा र सहुलियतपुर्ण कर्जालाई प्रोत्साहन गरेको गभर्नर अधिकारीको भनाई छ ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीका बिशेष आर्थिक सल्लाहकार मोती दुगडले सबैभन्दा बढी कर तिर्ने र मुलुकलाई समृद्ध बनाउन सघाउ पुर्‍याउने क्षेत्र उद्योगधन्दा तथा कलकारखाना रहेको बताउनुभयो । यद्यपि बेलाबखत निजी क्षेत्रमाथि कालाबजारी र कर चुहावटको निराधार आक्षेप लाग्दै आएको भन्दै उहाँले गुनासो समेत गर्नुभयो । यी यस्तै कारणले मुलुक पछि परेको छ, उहाँले भन्नुभयो, ‘परम्परागत कमजोेर मानसिकताकै कारण मुलुक अझै पनि विकासमा पछि परेको छ । उद्योग क्षेत्रमा नयाँ लगानीको अवस्था शुन्य बराबर छ ।’

निजी क्षेत्रले विगत लामो समयदेखि मुलुकको आर्थिक वृद्धिदर दोहोर अंकमा पुर्‍याउने प्रयास गरिरहँदा पनि सरकारको अस्थिर नितिकै कारण त्यसो हुन नसकेको उद्योगी व्यावसायीको गुनासो छ । अर्थतन्त्रको विकासका लागी निजी क्षेत्रले सरकारको स्थिर पोलिसीको माग गरेका छन् ।

यता नेपालको कुल ग्राहस्थ उत्पादनलाई दोहोरो अंकमा पुर्‍याउने लक्ष्यका साथ निजी क्षेत्रले पनि कृषि, उद्योग र सेवा क्षेत्रलाई समेटेर आगामी १० बर्षभित्र १० अर्ब डलर बराबरको अर्थतन्त्र तयार पार्ने रणनिति तय गरेको जनाएको छ । उक्त कार्यका लागी तयार पारिएको भिजन पेपरको सम्बन्धमा पनि विभिन्न निकायसँग आवश्यक छलफल र गृहकार्य भईरहेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष शेखर गोल्छाले बताउनुभयो । हामीले आवश्यक गृहकार्य गरिरहेका छौं, उहाँले भन्नुभयो, ‘चैत्र १० गतेभित्र भिजन पेपर सार्वजनिक गर्ने प्रारम्भिक तयारी रहेको छ ।’

कार्यक्रममा भने उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे, नेपाल उद्योग परिसंघका अध्यक्ष शतिश कुमार, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदार र मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुण्डदासहित प्रदेश सरकारका प्रमुख सचिव, सचिव लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

शुक्रबार, २८ फागुन, २०७७, रातीको १०:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर