लोड हुँदैछ...

मेनु

पति गुमाएकी धनकुमारीको प्रश्न

पति गुमाएकी धनकुमारीको प्रश्न

विराटनगर । सरकार र विप्लव समूहबीचको वार्तामा तीन बुँदे सहमति भएको खबरलाई धेरैले ‘ठूलो उपलब्धि’ का रुपमा प्रचार गरिरहेका छन् । तर, मोरङ मिक्लाजुङ २ की धनकुमारी श्रेष्ठलाई यो खबरले पटक्कै छोएको छैन । लगभग भावहीन मुद्रामा टोलाइरहेकी उनी सोधिरहनुभएको छ ‘अब मेरो श्रीमान फिर्ता आउनुहुन्छ ?’

बिहीबार ८८ दिन पूरा भयो, धनकुमारीका शिक्षक पति राजेन्द्र श्रेष्ठको हत्या भएको । यी दिनहरु उहाँको र परिवारका लागि पीडादायी र शुन्य जस्तै छन् । घरमा सबैथोक छ, अभिभावक राजेन्द्रबाहेक ।

परिवारका सदस्यहरु अझै पनि पीडाबाट बाहिर आउन सकेका छैनन् । निर्दोष राजेन्द्रको ज्यान विप्लव समूहले लिएको थियो, जसका सर्वोच्च नेतालाई प्रधानमन्त्री केपी ओलीले काठमाडौंमा स्वागत गर्दै महान् काम गरेको बताउनुभयो । ‘न प्रधामन्त्रीले राजेन्द्रहरुको हत्याबारे केहि बोलेको सुनियो, न विप्लबले गल्ती महशुस गरेको’ पीडित परिवारको गुनासो छ ।

‘उहाँले के बिगार गर्नुभएको थियो र मारेको ?’, धनकुमारीले सोधिरहनुहुन्छ । उहाँका आँशु अझै थामिन सकेका छैनन् । ५३ वर्षीया धनकुमारी भक्कानिंदै भन्निुहुन्छ ‘चित्त बुझाउने कुनै उपाय भेटेको छैन ।’ मंसिर २३ गतेको घटना सम्झेपछि उहाँलाई भाउन्न हुन्छ । आफूले टेकेको धर्ती धस्सिएजस्तो हुन्छ । कानमा पतिका आवाज गुञ्जिन छाडेका छैनन् ।

विप्लव नेतृत्वको नेकपा कार्यकताले शिक्षक श्रेष्ठको घाँटी रेटेर बर्बरतापूर्वक हत्या गरेको ३ महिना हुँदा विप्लबले शान्ति प्रक्रियामा आउने सहमति सरकारसँग गरेका छन् । अघोषित सशस्त्र गतिबिधि गरिरहेको विप्लबसँगको सहमतिमा सो समूहसँग रहेको हतियारबारे कुनै उल्लेख नहुँदा धेरैलाई झस्काएको छ ।

विप्लब समूहका कार्यकर्ताहरुमाथि राज्यले लगाएको मुद्दा फिर्ता गर्ने, जेलमा रहेका कार्यकर्ताहरु रिहाइ गर्ने, सो समूहमाथि लगाइएको प्रतिबन्ध हटाउने र विप्लब समूहले शान्तिपूर्ण राजनीतिक गतिविधि सञ्चालन गर्ने सहमति सार्वजनिक भएको छ । सहमतिपत्र सार्वजनिक कार्यक्रममा न प्रधानमन्त्री र न विप्लब कसैले पनि राजेन्द्र जस्ता निर्दोश व्यक्तिहरु सम्झिएनन् । विप्लब समूह प्रतिबन्धित भएपछि देशभर ११ जनाको ज्यान गएको प्रहरीको तथ्यांक छ ।

सहमतिसँगै बिनाकारण हत्या गरिएका मिक्लाजुङको सरस्वती आधरभूत विद्यालयका प्रधानध्यापक श्रेष्ठको परिवारले न्याय पाउनेमा संशय पैदा भएको जनाएको छ । श्रेष्ठलाई गत २३ मंसिरमा बिहानै हतियारधारी समूहले अपहरण गरी नजिकैको जङ्गलमा लगेर घाँटी रेटेर हत्या गरेको थियो । हत्याको जिम्मेवारी विप्लव समूहले लिएको थियो ।

घटनामा संलग्न भएको आरोपमा विप्लव समूहका डिबी सिलवाल भनिने धनबहादुर विश्वकर्मा प्रहरीको लामो मिहेनतपछि पक्राउ परेका छन् । उनीसहित ३५ जनाविरुद्ध सरकारी वकिलको कार्यालयले मोरङ अदालतमा अपहरण तथा कर्तव्य ज्यान मुद्दा चलाएको छ । बिक अहिले पुर्पक्षको लागि थुनामा छन् । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ लगायतलाई पनि मुद्दामा प्रतिवादी बनाइएको छ ।

श्रीमानसँग मिक्लाजुङ १ बर्खेमा बस्दै आएकी धनकुमारी श्रीमानको हत्या भएपछि अहिले छोरा, बुहारी र नातीहरुसँग मिक्लाजुङ्ग २ रचनागाउँमा बस्दै आउनुभएको छ । ‘श्रीमानको हत्याको घटनामा एक जनालाई प्रहरीले पक्राउ गरेको भनेको सुनेको थिएँ,’ उहाँले भन्नुभयो, ‘हत्या आरोपीहरुसँगै वार्ता गरेर समझदारी बनाएपछि न्याय नपाउने चिन्ताले सताएको छ ।’
व्यक्ति हत्या भएकोले दोषीलाई कडा कारवाही हुनुपर्ने धनकुमारीले बताउनुभयो । ‘दोषीलाई कारवाही भए मात्र मेरो श्रीमानको आत्माले शान्ति पाउँछ,’ उहाँले भन्नुभयो, ‘न्यायको लडाइँको लागि अन्तिमसम्म लागिपर्नेछु ।’ अहिले झट्ट कसैले घटनाबारे सोधिहालेमा पनि उहाँ झस्किनुहुन्छ । धेरै पटक उनले त्यो क्षण भुल्न खोजिन् । ‘जति जति भुल्न खोजें, उति पिरोलिरह्यो’, धनकुमारी सुनाउँछिन् ।

श्रीमान गुमाएपछि छोरा छत्रबहादुर र बुहारी अनुसँग बस्दै आउनुभएको छ । ‘श्रीमानको कमाइले आडभरोसा थियो । आम्दानीको स्रोत नभएपछि अहिले १४ वटा बाख्रा पालन सुरू गरेको छु,’ उहाँले भन्नुभयो, ‘राज्यले पनि अहिलसम्म कुनै सहयोग गरेको छैन ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds