गोकुल पराजुली
नीतिहरुमध्ये सबैभन्दा उच्च स्थानमा राजनीति रहेको मानिन्छ । नीतिहरुको उत्कृष्ट नीति राजनीति हुनु नामका कारणले होइन । त्यो नीति कार्यान्वयनका चरणमा गरिने व्यवहार, त्यसप्रतिको इमान्दारिता, विश्वासको मात्रा, आदि तत्वहरुले राजनीतिको उच्च स्थान निर्धारण भएको हो । उच्च स्तरको नीति भएकै कारण राजनीतिमा नैतिकताको प्रश्न सबैभन्दा अगाडि आउँछ । आज नेपाली राजनीतिमा त्यही नैतिकताको सबैभन्दा धेरै अभाव खड्किएको छ ।
पछिल्लो पुस्ता राजनीतिमा खास चासो राख्दैन । राजनीति अध्ययनशील विद्यार्थीका लागि होइन, इमान्दारहरुका लागि पनि राजनीति होइन, दक्ष र सक्षमहरु राजनीतिभन्दा पर रहनुपर्छ भन्ने मान्यता आजका अधिकांश युवाले राख्ने गरेका छन् । युवाहरु देशको कर्णाधार मानिन्छ । देश बनाउने भविष्यका कर्णाधारनै जब राजनीतिमा चासो राख्दैन, सक्षम र योग्यहरु राजनीतिभन्दा परपर हुन्छन्, इमान्दारहरु राजनीतिबाट कुनै अपेक्षा गर्दैनन् भने मुलुकको भविष्य अनुमान गर्न गाह्रो हुन्छ । किनभने मुलुकको नेतृत्व राजनीतिबाट मात्र सम्भव छ । राजनीतिमा असल, दक्ष, योग्य व्यक्तिहरुको अभाव भयो भने कुनैपनि मुलुक र व्यवस्था सहि ढंगबाट चल्न सक्दैन ।
नेपालको राजनीतिमा अरुलाई खराब देखाएर आफु राम्रो कहलिने गलत संस्कार छ । जतिधेरै गाली गर्न सक्यो त्यति ताली पाउने अवस्थासँग हामी अभ्यस्त छौं । हामीसँग योजनाहरु छैनन् । लक्ष्यहरु स्पष्ट छैनन् । छन् भने सहकर्मीहरुको कमजोरीको पोकाहरु हामीसँग सुरक्षित छन् । ऐनमौकामा हामी त्यही पोका खोल्छौं र सहकर्मीहरुको हुर्मत लिएर लाभ लिन तत्पर हुन्छौं । हामी नीतिमा विश्वास गर्दैनौं तर, राजनीतिमा आवद्ध भएर उचित अनुचित लाभका लागि सँधै तत्पर हुन्छौं । व्यक्तिले गरेको कमजोरीलाई हामी आवश्यकता अनुसार नीतिगत लेपन लगाउने कष्ट गर्छौं तर विरोध गर्ने साहस गर्दैनौं । जसले गर्दा हामीलाई नीतिगतरुपमा भुत्ते र प्रवृत्तिगतरुपमा भ्रष्ट बनाउँदै लगेको छ । काम गर्दा कमजोरीहरु हुन्छन् । तर, हाम्रो राजनीतिले कमजोरी स्वीकार गर्न र सच्याउन सिकाउँदैन । बरु, चाहिने नचाहिने तर्क र फुँदाहरु जोडेर भएको गल्तिलाई नै सहि ठहर्याउने प्रयत्न गर्छौं । यस प्रकारको व्यवहारले हाम्रो राजनीति सहिअर्थमा कार्यान्वयन भइरहेको छैन ।
आजका युवा पुस्ताले यी र यस्ता कुराहरुको राम्ररी अध्ययन गरिरहेका छन् । नेताहरुको आचरण, व्यवहार, उनीहरुको नैतिकता, गुण र दोषहरुको पहिचान गरेका उनीहरु राजनीतिप्रति आकर्षित छैनन् । बरु बिमुख हुँदैछन् । हाम्रा नेताहरुले गर्ने व्यवहार, बोल्ने शैली, छनौट गर्ने शव्द र भाषा आदि राजनीतिक आचरणयुक्त छैनन् । जुन असल मानिसको राजनीतिक यात्रामा प्रवेशका लागि मुख्य वाधक तत्वहरु हुन् ।
मुलुकको नेतृत्व गर्ने व्यक्ति नैतिकवान हुने हो, उनको जीवनशैली र व्यवहार आदर्शवान हुने हो भने राजनीतिप्रतिको विश्वास र आकर्षण लोभलाग्दो हुन्थ्यो । विडम्बना नै मान्नुपर्छ हाम्रो राजनीतिको उच्च स्थानमा पुगेकाहरुमा यि गुणहरुको अभाव देखिन्छ । एकले अर्कालाई सकेसम्म गाली गर्नु उनीहरुको क्षमता हो । सहकर्मीहरुलाई गर्ने अनादार र घृणा उनीहरुको शैली हो । धेरैभन्दा धेरैलाई राष्ट्रिय एकताको सुत्रमा बाँध्ने क्षमता होइन सकेसम्म बिग्रह र बिखण्डन गरेर आफुमात्रै उच्च पदमा रहिरहने स्वार्थ उनीहरुमा विद्यमान क्षमता हो । सत्ता बाहेक सबै कुरा उनीहरुका लागि भ्रममात्र हुन् । नीति, सिद्धान्त, आचरण र व्यवहार जस्ता कुरा सत्तामा पुग्ने भ¥याङ मात्र हुन् । यस्तो अवस्थाको राजनीति भएको मुलुकमा हामीले इमान र नैतिकताको अपेक्षा गर्नु एक प्रकारको भूल नै हो । तरपनि अहिले जे भइरहेको छ त्यो सत्य होइन । सत्य भनेको नीतिहरुको उत्कृट नीति नै राजनीति हो ।
आज राजनीति सहि ढंगले नचलेकै कारण हाम्रा नेताहरुमा राजनीतिक आचरण, व्यवहार र नैतिकताको खडेरी देखिएको हो । नेपालमा नैतिकताको मूल्यमा आफ्नो जिम्मेवारीबाट हट्ने र जिम्मेवारी लिने व्यवहार अपवादमा बाहेक अनुभूत हुँदैन । अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहारलाई हेर्ने हो भने त सबैभन्दा धेरै नैतिक खडेरी उहाँमै देखिन्छ । उहाँमा अराजकता, अनुशासनहीनता, दम्भ, घमण्ड, कृतघ्नता आदि तत्वहरुले जरा गाडेरै बसेको छ । उहाँको त्यस कमजोरी औंल्याइदिने, त्यसलाई सच्याउन सुझाव दिने र राजनीतिलाई नीतिहरुको उत्कृष्ट बनाउने तर्फ उहाँका सहयोगीहरुले काम नगरिदिएकै कारण युवापुस्ता झन्झन् राजनीतिबाट बिमुख हुँदैगएको देखिन्छ ।