युवाहरू अझै झोले हुने कि देश हाँक्ने ?

 बिक्रम लुईटेल

संसद पुनःस्थापनासँगै नेपालको राजनीतिक घटनाक्रम निर्वाचनबाट सत्ता समिकरणतर्फ दौडिन थालेको छ । नेकपाभित्रको द्वन्द्वले संसद विघटनतर्फ गएको मुलुक अहिले पुनःस्थापना हुँदै सत्ता समिकरणमा रुमलिने अवस्था छ । आम जनताको अपेक्षा पुरा गर्नेतर्फ नेकपाको ध्यानकेन्द्रीत नहुँदा तीन वर्षमा नै पार्टी अर्काको साहरामा सत्ता टिकाउनुपर्ने अवस्थामा पुगेको छ । दुई धु्रवमा विभाजित नेकपाको पछिल्लो गतिविधि तिक्ततापूर्ण मात्रै हैन, शत्रुतापूर्ण अवस्थामा छ । दुईदिनको घटनाक्रमले यिनीहरुको एकीकरण पनि हुन्छ कि भन्ने झिनो आसा पनि उत्तिकै छ । तर, एकीकरण भएर पनि आम जनताको हितमा दुबै समूहको शीर्ष नेतृत्व लाग्छ कि लाग्दैन भन्ने अविश्वस उत्तिकै छ ।

दोष पहिलो पुस्ताका नेताहरुलाई दिएपनि अहिलेको परिस्थिति निर्माणमा हुनुमा नेकपाभित्रका दोश्रो तहका नेताहरु पनि उत्तिकै जिम्मेवार देखिन्छन् । मुलतः आफ्नो नेतृत्वलाई सच्चिनको लागि दवाब दिन नसक्ने तर उनीहरुको झोले मात्रै बन्ने प्रवृत्तिले पनि काम गरेको छ । विचार र सैद्धान्तिक कुरा नभइरहेको अवस्थामा दोश्रो तहका नेताहरुले हस्तक्षेपकारी भूमिका खेल्न सक्नुपथ्र्यो । अहिले पनि ती नेताहरुले म कहाँ हुन्छु र मेरो हैसियत के हुन्छ भन्ने नसोचिकन पार्टी एकताको लागि हस्तक्षेपकारी भूमिका देखाउने हो भने मुलुक र बामपन्थी आन्दोलन दुबै जोगिने अवस्था छ ।

संसद पुनःस्थापना हुनेवित्तिकै एकाथरीको उन्माद र अर्काे गुटको उस्तै दवाब रहेको अवस्थालाई हेर्दा एकीकरणको सम्भावना देखिदैन । हेर्दा दुबै गुटलाई आफू शक्तिशाली लागिरहेको छ । तर, चुनावपछिको नतिजाले उनीहरुको अवस्था के हो देखिन्छ नै । त्यसो हुनाले भविष्य बोकेका नेताहरु फुटमा नभई एकताको पक्षमा जुट््ने हो भने बामपन्थी आन्दोलन अगाडि बढ्न सक्छ । नत्र विस्तारै बामपन्थीप्रतिको विश्वास निरासामा परिणत भई पश्चिम बंगालको हालतमा पुग्नसक्छ । अहिले सबैसँग जनता छन् । कुनै न कुनै पद छ, कोही संघमा कोही प्रदेशमा मन्त्री छन्, कसैको तुरुन्तै मन्त्री हुने लाइन छ । यो पटक त सबै कुराहरु प्राप्तिको लागि जनताले पत्याएर पठाएका छन् । तर, अबको चुनाबपछि अवस्था यस्तै रहन्छ भन्ने दिवा सपना मात्रै हुनसक्छ ।

त्यसैले नेताहरुले जोस र आक्रोश बिर्सेर सिद्धान्त र विचारको आधारमा अघि बढ्नुपर्छ । हुन त संसद पुनःस्थापना हुँदा लड्डु खाएर रमाउनेहरु यतिखेर आफूले जितेको र अर्काे पक्षलाई पुछ्दै नपुछ्ने भन्ने भावनाको साथ अघि बढिरहँदा प्रधानमन्त्री भने गैरकम्युनिष्ट दलतिर खोज्नुपर्ने अवस्था छ । यसले जनमत र जनताप्रतिको बाचाको चरम दुरुपयोग गरिरहेकोले झन् भड्खालोमा पर्ने अवस्था छ । नेकपामा नाम चलेका र स्थापित युवा नेतृत्वको कमी छैन । तर, अहिलेको संकटपूर्ण अवस्थामा पनि कसैको झोले मात्रै बन्नु बाम आन्दोलनको लागि सबैभन्दा घातक कुरा हो । यिनीहरुले अहिले क्षमता लुकाएर झोले मात्रै बन्दा भविष्यमा नेतृत्व तहमा पुग्दा जनताले पत्याउने आधार पनि रहँदैन । यसले गर्दा अरु ५० वर्षसम्म बाम आन्दोलनलाई क्षति गर्नेछ । हुनत हरेक समय बाम आन्दोलनलाई हेर्ने र रुप परिवर्तन गर्ने अवस्थाहरु पनि छन् । तर, अब रुप परिवर्तन गरेर पनि त्यो सम्भव हुने अवस्था छ्रैन ।

अब माधव नेपाल, प्रचण्ड र केपी ओलीलाई एक कदम अघिपछि पार्ने वा सबैलाई विदा दिएर नयाँ नेतृत्व ल्याउने प्रयत्न भयो भने एक खालको पद्दति बस्ने र तल्लो तहका कार्यकर्ताहरुमा एकताको सन्देश पुग्ने तथा उत्साह बढ्नेछ । तर, यो एकता जोगाउन अध्यक्ष प्रचण्डको अग्रगामी छलाङ् र प्रधानमन्त्री केपी शर्मा ओलीको तुरुन्तै निर्णय गर्ने क्षमता नै अन्तिम बिन्दु भयो भने अझै लामो समयसम्म कम्युनिष्ट आन्दोलन आन्तरिक कलहमै बित्नेछ । यसर्थ पनि समय छँदै युवा नेतृत्वको प्रयत्न जरुरी छ । तर, त्यसलाई वेवास्ता गर्ने हो भने उनीहरुकै राजनीतिक भविष्य अर्काे चुनाबबाट क्षयीकरणतर्फ जाने छ ।

शुक्रबार, १४ फागुन, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर