सरकार गठनको तीन वर्ष पुरा

अस्थिरताले उद्योगी त्रस्त

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको संसद विघटनको निर्णयलाई मोरङका उद्योगी व्यवसायीले राजनीतिक अस्थिरताको संकेतको रुपमा लिएका छन् ।

संघीय सरकार तथा प्रदेश सरकार गठनको तीन वर्ष पुगेको अवसरमा सोमबार विभिन्न कार्यक्रम गरियो । आफ्ना उपलब्धी भन्दै विभिन्न पुस्तिका तथा किताब सार्वजनिक गरियो । तर, तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बीचको गठबन्धन हुँदै बनेको दुई तिहाई नजिकको सरकारको तीन वर्ष लाग्दा नलाग्दै उद्योगीहरू निराश बनेका हुन् । त्यसको कारण हो प्रतिनिधिसभा विघटन पछिको अन्यौलता । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनले फेरि द्वन्द्व र मुढभेड हुने हो कि भन्ने कुराले मोरङका उद्योगी, व्यवसायी निराश बनेका हुन् ।

विराटनगरका प्रतिष्ठि उद्योगी तथा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेन्द्र राउतले वर्तमान राजनीतिक अवस्थाले आफूहरुको मनोबल कमजोर बनाएको र लगानीको वातावरण विथोलिएको प्रतिक्रिया दिनुभयो ।

‘संविधान निर्माणपछि बहुमत प्राप्त सरकार निर्माण भएकोले निजी क्षेत्र धेरै आशावादी भएको थियो, तर त्यही सरकारबाट एक्कासी अस्थिरता बढाउन काम हुँदा उद्योगी व्यवसायीको मनोवल कमजोर भएको छ,’ उहाँले भन्नुभयो, ‘बहुमतको सरकारले विकासमा बजेट विनियोजन गर्दा निजी क्षेत्र हौसिँदै गएका थिए, संसद विघटनको घटनाले राजनीतिक द्वन्द्व बढाएको छ भने देशको अर्थतन्त्रलाई अधोगतिमा लगेको छ ।’

यस्तै उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा विराटनरकै उद्योगी अविनाश बोहोराले पनि अपेक्षाकृत आर्थिक विकास हुन नसकिरहेको अवस्थामा फेर देशलाई राजनीतिक द्वन्द्वमा लाने काम हुँदा आफूहरूलाई दुःख लागेको बताउनु भयो । ‘प्रधानमन्त्रीबाट वलात संसद विघटनको घटनाले भर्खरै बामे सर्न थालेका नेपाली उद्योगी व्यावसायी माथि बज्र प्रहार गरे जस्तै भएको छ,’ उहाँले भन्नुभयो, ‘कोभिडको विश्वव्यापी महामारी कायमै रहेको अवस्थामा देशमा फेरि राजनीतिक द्वन्द्व उत्पन्न हुनुभनेको देशको अर्थतन्त्र धरासायी हुने अवस्था सिर्जना भएको हो ।’

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाको प्रतिक्रिया पनि उस्तै छ । ‘दुई तिहाईको बहुमत प्राप्त सरकारबाटै देशमा राजनीतिक अस्थिरता निम्त्याउने काम भएको छ, यसले हामी त्रसित भएका छौं,’ मुन्दडाले भन्नुभयो, ‘उद्योगी व्यावसायी स्थिर सरकार र गतिशिल अर्थतन्त्रको पक्षमा रहेकोले राजनीतिक अस्थिरताको पनि विपक्षमै छौं ।’ मुन्दडाले राजनीतिक अस्थिरता र अन्यौलताले चन्दाका लागि दबाब सिर्जना हुने गरि गतिविधि बढ्न सक्ने भन्दै लगानीको वातावरण विथोलिनसक्ने तर्फ आफूहरु सचेत रहेको दाबी गर्नुभयो ।

पर्यटन व्यवसायी भविश श्रेष्ठले सरकारबाटै राजनीतिक अस्थिरता उत्पन्न गर्ने घटनाले आम पर्यटन व्यवसायीलाई हदैसम्म दुःखी र त्रसित बनाएको बताउनु भयो । ‘जनयुद्ध, जनआन्दोलनदेखि विनाशकारी भुइँचालोको मार सहँदै आएका पर्यटन व्यवसायीहरु कोभिडको महामारीले झन् मारमा परेका थिए,’ श्रेष्ठले भन्नुभयो, ‘आन्तरिक पर्यटनको थोरै आश पलाएको थियो, अब त्यो पनि म¥यो, घिडघिडो अवस्थामा बाँचिरहेका हामी त धरासायी हुने नै भयो यसैले दुःखी मात्र होइन हामी त्रसित पनि छौं ।’

यस्तै विराट व्यापार संघका अध्यक्ष सुजन थापाले उद्योग क्षेत्रमा लगानीको वातावरण विग्रिएको विषयमा छलफल हुन सुरु भएको बताउनु भयो । ‘हामी आशावादी थियौं, आनन्दले काम गर्न पाउँछौं । तर, संसद विघटनले फेरि लगानी गर्ने वातावरण बन्दैन कि ? फेरि लगानी गर्न सोच्नु पर्छ कि ? नयाँ व्यवसाय गर्न खोज्नेहरु पनि पछि हट्न खोजेको देखिन्छ,’ थापाले भन्नुभयो, ‘कोरोनाबाट मुक्त हुँदै हामी अगाडि बढ्न खोज्दै गर्दा, अर्को राजनीतिक समस्याले गर्दा हामी निराश छौं, यो उद्योग व्यवसायको लागि उपर्युक्त वातावरण बनेको छैन ।’

मङ्गलबार, ०४ फागुन, २०७७, बिहानको ११:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर