युवराज पौडेल
२०५२ सालमा प्रधानमन्त्री मनमोहन अधिकारीले महाराजधिराज समक्ष प्रतिनिधि सभा विघटनको सिफारिस गरे र उसैदिन राजा वीरेन्द्रले रिफारिसमा लालमोहर लगाएर प्रतिनिधि सभा विघटनको घोषणा गरे । लगत्तै, विघटन बिरुद्ध सर्वाेच्च अदालतमा रिट दायर भयो ।
त्यसबेला म धनकुटा बहुमुखी क्याम्पसमा स्नातक तह दोश्रो बर्षमा अध्ययनरत थिएँ । अंग्रेजी र राजनीतिशास्त्र मेरा मुख्य बिषय थिए । राजनीतिशास्त्र अन्तर्गत एउटा बिषय थियो –विश्वका प्रमुख संविधानहरु । संसद विघटन हुँदा जीवनाथ चापागाईं सरले हामीलाई बेलायतको संविधान पढाउदै हुनुहुन्थ्यो । पढाइ छोडेर कक्षामा मुद्दाका बिषयमा छलफल हुन थाल्यो । आफु विरुद्द अविश्वास प्रस्ताव पेस भइसकेपछि त्यसबाट जोगिन अधिकारीले संसद विघटन गरेका थिए । चापागाईं सरले नेपाल अधिराज्यको संविधान २०४७ राखेर केहि दिन छलफल गराउनु भयो । हाराहारी २० वर्षको उमेर समुहका हामी बडो उत्साहका साथ छलफलमा भिड्यौं । हाम्रो सरदर चेतनास्तर राम्रै थियो , त्यसमा पनि संविधानको विद्यार्थी भएकाले बहस चोटिलो र पोटिलो हुन्थ्यो । गुरुको विद्वता र वाकपटुताले बिषयवस्तु छर्लंग हुन्थ्यो । विघटन असंवैधानिक छ, सर्वाेच्चले प्रतिनिधि सभा पुनसर््थापनाको फैसला गर्छ भन्ने हाम्रो निष्कर्ष निस्कियो ।
उता मेरो अर्काे जिम्मेवारी पनि थियो– म अनेरास्ववियू क्याम्पस कमिटीको अध्यक्ष थिएँ । जिल्ला पार्टी कार्यालयको जमघटमा नेताहरु सरकारले मुद्दा जित्छ, चुनाब हुन्छ भन्थे । हामीलाई उल्लीबिल्ली पार्थे । भदौ १२ गते फैसला आयो –सर्वाेच्चले प्रधानमन्त्रीको रिफारिस र महाराजधिराजको लालमोहर खारेज गरिदियो, प्रतिनिधि सभा पुनसर््थापना भयो ।
एमाले सर्वाेच्चको फैसा विरुद्ध सडकमा निस्कियो, देशभर प्रदर्शन भए । धनकुटामा पनि खुब नाराबाजी भयो । मन नलागी नलागी पार्टी निर्देशन शिरोधार्य गरियो । धनकुटा बजारका बांगाटिंगा सबै बाटामा सर्वाेच्च विरुद्ध अनेक नारा घन्काइयो । कसैको केहि लागेन । जागेको प्रतिनिधि सभाले अविश्वासको प्रस्ताव अघि बढायो । प्रस्ताव पास भयो, प्रधानमन्त्रीले राजिनामा दिए । कांग्रेस, राप्रपा र सद्भावनाले बहुमत जुटाए । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बने ।
२५ वर्षपछि फेरि कम्युनिष्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले प्रतिनिधि सभा विघटन गरे । अहिले पनि अवस्था उस्तै छ– सर्वाेच्चमा मुद्दा चल्दैछ, प्रमुख प्रतिपक्षी कांग्रेस नै छ , प्रमुख प्रतिपक्षी दलका नेता देउवा नै छन् । चेतनास्तरको विकास र संचारको सुलभ पहुँचले अहिलेको बहस अझ दमदार बनेको छ । संसद पुनसर््थापना हुन्छ र हँुदैन भन्नेबीच कडा वादप्रतिवाद छ । मान्छे नानाथरीका शंका उपशंका र दबाव प्रभावका कुरा गर्छन् । म त ढुक्क छु –सर्वाेच्चले स्वतन्त्र भएर फैसला दिन्छ , प्रतिनिधि सभा पुनसर््थापना हुन्छ । तत्पश्चातको कार्यदिशा संसदले तय गर्छ । यो मेरो सर्वाेच्च अदालतप्रतिको विश्वास हो र सँगसँगै मेरो आफ्नै विश्वासको परीक्षण पनि हो यो ।
हिजोका मदन र आजका केपी
२०४६ पछिको दलीय व्यवस्थामा सर्वाधिक लोकप्रिय नेता मदन भण्डारी हुन् । अति प्रभावशाली भाषणकलाका कारण उनी विपक्षीहरूका समेत आकर्षणका केन्द्र थिए । वाकपटुतामा आजसम्म उनलाई कसैले उछिन्न सकेको छैन । उच्चस्तरको धाराप्रवाह भाषण गर्न सक्ने व्यक्तिलाई अहिले पनि मदन भण्डारीको उपमा दिइन्छ । खुल्ला राजनीतिमा साढे तीन वर्ष मात्र देखिएर ४१ वर्षको अल्पायुमै अस्ताएका भण्डारी आजसम्म पनि सर्वाधिक नेता–कार्यकर्ताका रोलमोडल हुन् ।
यस कालखण्डमा सर्वाधिक चर्चित नेता भने केपी ओली हुन् । यति ठुलो संख्यामा सर्वसाधारण, समर्थक र विरोधि सबै खाले मान्छेको ध्यान आफूतिर खिचिराख्न सक्ने नम्बर वान नेता ऊनी नै हुन् । उनले बोलेका कुरा र गरेका काम ठिक या बेठिक जस्तासुकै हुन्, तिनले तत्काल चुम्बकीय गतिमा साराको ध्यान खिच्छन् । राजनीतिमा ओलीले आफुलाई बिल्कुलै नयाँ शैलीमा ब्रान्डिंग गरेका छन् । ठेट नेपाली लवज, प्रष्ट र खरो प्रस्तुति, अदम्य आँट, प्रवल सामथ्र्य, कुटिल चातुर्य लगायतका फरक धारका गुणहरुले ओलीलाई विशिष्ठ चर्चा दिलाएका छन् । २०१५ सालपछि जनताको यति ठुलो समर्थन र संसद्को यति ठुलो विश्वास प्राप्त गर्ने भाग्यमानी प्रधानमन्त्री उनी नै हुन् ।
यति उच्चस्तरको विश्वास र अवसर पाउँदापाउँदै पनि उग्र महत्वकांक्षा, सहकर्मीहरुसँगको समन्वय अभाव, नियत बाङ्गिएका सल्लाहकारहरुको साँगुरो घेरा, विधिविधान एवं पद्दति विपरितका कर्मबाट शक्ति आर्जन गर्ने लालसा र म नै राज्य हुँ भन्ने स्वप्निल भ्रमका कारण ओलीको शिखर व्यक्तित्व द्रुत गतिमा स्खलित भइरहेको छ । हुँदाहुँदा, उनले आफुलाई प्रधानमन्त्री जन्माउने मातृथलो प्रतिनिधि सभाको वध गर्नेसम्मको दुस्साहस गरे । निश्चित छ अबको केहि दिनमा सर्वोाच्च अदालतबाट प्रतिनिधि सभा पुनस्र्थापनाको फैसला आउने छ, र त्यहि प्रतिनिधि सभाले ओलीको राजनीतिक उत्तरार्धको नँया इतिहास लेख्ने छ ।