गणतन्त्रका योद्धाको परिवार छिन्नभिन्न

बुढेशकालको साहारा बनेको छोरो अनायसै जेल परेपछि तुलाराम बेसहारा

विराटनगर । तुलाराम भगतको आँखाका परेली नजोडिएको महिनौं भइसकेको छ । निन्द्रा नपरेपछि रातहरु कष्टले मात्र बित्छन् । दीर्घ रोग कुनै छैन । तर पनि उनी निदाउँदैनन् । ‘मनमा चिन्ता भएपछि निन्द्रा नलाग्ने रहेछ’ तुलाराम भन्छन् ‘न निन्द्रा लाग्छ न भोक । बाँच्नका लागि करले खान्छु तर करले निन्द्रा लाग्दोरहेनछ ।’

बुढेशकालको साहारा बनेको छोरो अनायसै जेल परेपछि तुलाराम बेसहारा झैं भएका छन् । रोगसँग लडिरहेकी ७० वर्षे श्रीमती, बाबुआमा भएर पनि टुहुरा झैं भएका दुई नातिहरुको हेरचाह गर्न ७४ वर्षे तुलाराम अहिले पनि दिनरात हाड खियाउन बाध्य छन् ।

ऐलानी जग्गाको बास कतिबेला भत्किने हो, ठेगान छैन । हरेक वर्षात्मा पोखरी झैं हुन्छ घर । ‘अघिल्लो साल आधा घर पानीमा डुब्यो, लत्ताकपडा सबै बिग्रियो । फेरि वर्षा लाग्न लाग्यो, के गर्ने हो सोच्न सकेका छैनौं,’ तुलारामकी पत्नी कला भगतले भन्नुभयो । तुलारामले पनि कहिलेसम्म बुढो शरीर घोटेर परिवार पाल्लान् भन्ने चिन्ता कलालाई छ । देश बदल्छु भनेर क्रान्तिमा लागेको छोरोलाई गणतन्त्र आएपछि गणतन्त्र ल्याउनेहरुले नै जेल पठाएका छन् । त्यसपछि तुलाराम र कलाको दुःखका दिन सुरु भएको हो ।

नेपाली सेनामा १८ महिना जागिर गरेका झलककुमार भगतमा देशमा चलिरहेको माओवादी जनयुद्धको प्रभाव राम्रैसँग परेको थियो । समाज परिवर्तन गर्न जनयुद्ध सफल हुनैपर्छ भन्ने उनी ठान्दथे । जनयुद्ध उत्कर्षतिर बढिरहेको थियो । नेपाली सेनामा रहेका झलक भोजपुरमा कार्यरत थिए ।

२०६२ साल साउन ८ गते उनी नेपाली सेनाबाट बिद्रोह गरेर जनमुक्ति सेनामा समाहित हुने निष्कर्षमा पुगे । उनले आफ्नो साथमा रहेको एउटा राइफल र ग्रिनेट मात्र होइन सँगैका साथी भीमबहादुर खड्काको राइफलसमेत लिएर ब्यारेकबाट निस्किए । दुई नाल राइफल बोकेर माओवादीको सम्पर्कमा पुगेका झलकले तत्कालिन जनमुक्ति सेनाका कमाण्डर बाशुदेव घिमिरे पावेललाई हतियार बुझाएर जनमुक्ति सेनामा भर्ती भए ।

उनलाई जनमुक्ति सेनामा सामेल गर्ने घिमिरे सेना समायोजनपपछि अहिले नेपाली सेनाका कर्णेल छन् । बिद्रोही चेत भएका झलक भने मकवानपुरको भिमफेदी कारागारमा थुनिएका छन् । उनी थुनिएका मात्र छैनन्, राज्यले उनको सर्वश्वहरण गरेको छ । अदालतको फैसलाबाटै उनलाई सर्वश्वसहित जन्मकैदको सजाय गरिएको छ ।

‘मेरो छोरो लडेर गणतन्त्र ल्यायो, त्यसको सजायँ अहिले भोग्दैछ,’ तुलारामले भन्नुभयो, ‘के गल्ति गरेको थियो र ?’ जसरी सोच्दा पनि तुलारामको मन बुझ्दैन । छोराको लडाईलाई देशले स्वीकारेकै थियो । विदेशीले पनि स्वीकारेको उहाँले सुन्नुभएको थियो । लड्ने दुबै पक्ष मिलेपछि फेरि मुद्दा कसरी लाग्यो ? उहाँले नबुझेको कुरा यहि हो ।

झलककुमारको सर्वश्वहरण भएको छ । विपन्नतामै भएपनि रमाएर बसेको उनको परिवार क्षतविक्षत भएको छ । छोराछोरीको लालनपालन गर्न भनेर काखेनानी छोडेर विदेश गएकी झलककी श्रीमती गीता उतै पक्षघातको शिकार भएकी छन् । रक्त क्यान्सरबाट पीडित १४ वर्षे छोरो सुशान्त फुपुको घरमा सहारा लिएर बसेको छ । ५ वर्षे कान्छो छोरो सक्षमलाई बहिनी सीताले हेरचाह गर्दैछिन् ।

झलकले कुदाउने मोटरसाइकल तीन वर्षदेखि गोठमै थन्किएको छ । बृद्ध अवस्थाका बाबुआमा सहाराबिहीन भएका छन् । ‘जेलबाट बेलाबेलामा फोन गर्छ र भन्छ म छिट्टै आउँछु, चिन्ता नगरि बस्नु है,’ आमा कलाले आँशु पुछ्दै भन्नुभयो ।

झलकका छोरा सक्षम कक्षा १ मा पढ्दैछन् । पोहोर जेलमा बाबालाई भेट्न जाँदा ‘राम्ररी पढ्नु, मिठो बोल्नु, दिदीलाई पैसा मागेर दुःख नदिनु भन्नुभएको छ,’ सक्षमले भने ‘म राम्ररी पढ्छु । ठुलो भएर बाबालाई त्यहाँबाट निकाल्छु ।’ दाजु बिरामी भएको र बस्नेखाने ठेगान नभएकोले पढ्न सकेन भन्ने पनि सक्षमलाई थाहा छ । सुशान्त ५ कक्षामा पढ्दैछन् ।

‘जुन पार्टीका लागि भनेर उसले आफ्नो पुरै जीन्दगी अर्पण ग¥यो अहिले त्यो पार्टीले पनि वास्ता गरेको छैन,’ झलकको भाइ (मामाको छोरा) अर्जुन माझीको दुखेसो छ, ‘भएको जागिर छोड्यो, देशका लागि भनेर लड्यो, उसले लडेर ल्याएको गणतन्त्रमा नेताहरु मस्ती गर्दैछन् । तर, मेरो दाइ जेलको हावा खाइरहेको छ । यो कस्तो व्यवस्था ल्याइयो, जसले हामीलाई अन्याय र पीडा बाहेक केही पनि दिएन ।’

झलक जेलबाट छुट्लान् र लथालिंग भएको परिवार सम्हाल्लान भन्ने आशा उनीहरुमा अझै मरिसकेको छैन । तर, उनीहरु निराश भएका छन् । ‘हामीले हरेश खाइसक्यौं, तर पनि केही भइपो हाल्छ की भन्ने पनि लाग्छ,’ अर्जुनको भनाइ छ, ‘युद्ध सम्झौता भइसक्यो, लडाकुको हतियार सरकारको भइसक्यो, मुद्दाहरु सत्य निरुपण मेलमिलाप आयोगमा जाने भनेको छ । तर, पनि जेल सजाय कसरी हुन्छ ? यो प्रधानमन्त्रीले निर्णय गरेर निर्दोषलाई मुक्त गर्नुको विकल्प छैन ।’

केही दिनअघि उनीहरुले एउटा समाचार रेडियो सुनेछन् ‘पूर्वजनमुक्ति सेनालाई अब प्रधानमन्त्रीले संरक्षण गर्ने’ भनेर । जनमुक्ति सेना भएकै कारण जेल परेको छोरो छुट्ला कि भन्ने झिनो आशा अहिले उनीहरुमा पलाएको छ । तर, उनीहरु विश्वस्त भने छैनन् ।

‘केपी ओलीले भनेजस्तो गर्दैनन् रे, बरु प्रचण्ड हुन्थे भने छुट्थ्यो कि’ परिवारको आशा छ । अघिल्लो वर्ष नेकपा अध्यक्ष प्रचण्डले वृद्ध अवस्थाका तुलाराम, कला र बालकहरुको शिक्षामा सहयोग होस् भनेर ५० हजार रुपैयाँ पठाएका रहेछन् । त्यसले पनि उनीहरुमा थोरै आशा बचेको हो । ‘प्रचण्डले पठाएको भनेर अमनलाल मोदीले ५० हजार रुपैयाँ ल्याइदिएका थिए, घरभरी बिरामी थियौं, उपचारमा खर्च ग¥यौं,’ कलाले भन्नुभयो ।

सरकारसँग उनीहरुको माग पनि केही छैन आमा कला भन्नुहुन्छ ‘बस्, हाम्रो छोरो छुटोस्, मेरा बुढा राम्ररी निदाउन सकुन्, साना केटाकेटी बाबुको काखमा बस्न पाउन्, हामी त जानेबेला भएकै छ, सरकारले त्यति कुरा सुनिदिए पुग्छ ।’ झलकलाई नेपाली सेनाले सैनिक ऐन अन्तर्गत प्रतिकुल आचरण गरेको अभियोगमा मुद्दा चलाएको थियो । सैनिक अदालतले हतियार चोरी गरी विध्वंशको कार्यमा प्रयोग गरेको भन्दै उनलाई सर्वश्वसहित जन्मकैदको फैसला गरेकोमा सर्वोच्च अदालतले पनि त्यसलाई सदर गरिदियो ।

अदालतका कारण एउटा आन्दोलनको सिपाही, गणतन्त्र ल्याउन महत्वपूर्ण योगदान गरेको नागरिकमाथि साँच्चै अन्याय भएको छ । तर, राज्यसत्तामा पुगेकाहरुलाई त्यो पीडाको अनुभूति छैन ।

आइतबार, ०२ फागुन, २०७७, बिहानको १०:४१ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर