विराटनगर । तस्करी भएर ठूलो परिमाणमा भारतीय बिस्कुट पैठारी हुन थालेपछि नेपाली बिस्कुट उद्योगहरु धमाधम बन्द हुन थालेका छन् ।
सरकारले नेपाली बिस्कुट उद्योगहरुको संरक्षणमा ध्यान नपु¥याउँदा राष्ट्रिय उत्पादनमा योगदान र हजारौंलाई रोजगारी दिँदै आएका उद्योगहरु बन्द भएका हुन् । चलेका सीमित उद्योगहरु पनि पछिल्लो समय प्रतिष्पर्धा गर्न नसकी धराशायी बनेका छन् ।
पाँच वर्ष अघिसम्म नेपालमा ३५ वटा बिस्कुट उद्योगहरु सञ्चालनमा थिए । बिस्कुट उत्पादन र आपुर्तिमा नेपाली उद्योगको उत्पादन करिव आत्मनिर्भर हुने अवस्थामा पुगेको थियो । तर, अहिलेसम्म २१ वटा बिस्कुट उद्योग बन्द भइसकेका छन् । चलेका केही उद्योगहरु पनि रुग्ण बनेको नेपाल बिस्कुट संघ केन्द्रीय कार्यालयका सचिव अजय पराजुलीले बताउनुभयो ।
नेपाली उद्योगबाट उत्पादन भएकै गुणस्तरका बिस्कुटहरु सहजरुपमा भारतबाट आयात हुने गरेका छन् । भारतबाट आयात हुनेमा सबैभन्दा धेरै पार्लेजी, गुडडे, ह्याप्पी ह्याप्पी, टफ लाइफ जस्ता ब्राण्डका बिस्कुटहरु छन् । नेपाली बजारमा ती ब्राण्डका जति बिस्कुट भेटिन्छन् भन्सारको औपचारिक मार्ग भएर न्यूनमात्र आयात हुने गरेको छ । ठूलो भोल्युममा ती ब्राण्डका बिस्कुटहरु अनौपचारिक मार्ग (तस्करी) भएर आउने गरेकोले नेपाली उद्योगका उत्पादन समस्यामा परेका हुन् ।
नेपाली बजारमा चर्चित ब्राण्ड बनिसकेका धेरै बिस्कुट उद्योगहरु अहिले बन्द भएका छन् । मयुर बिस्कुट, चौतारी बिस्कुट, बबी बिस्कुट, सनसाइन बिस्कुट आदि अहिले बजारमा भेटिदैनन् । केही समयअघि ती उद्योगहरु भारतीय उत्पादनसँग प्रतिष्पर्धा गर्न नसकेकै कारण बन्द भएको बिस्कुट बजारीकरणको क्षेत्रमा काम गर्दै आएका छत्र बिष्टले जानकारी दिनुभयो ।
बिस्कुट उद्योगहरु बन्द हुँदा यस अवधिमा ठूलो संख्यामा रोजगारी पनि गुमेको छ । एउटा सामान्य बिस्कुट उद्योगमा न्यूनतम २०० देखि ४०० जनासम्म उत्पादनमा प्रत्यक्ष जोडिएका कामदारहरु हुन्छन् भने बजारीकरणको क्षेत्रमा त्यतिकै संख्यामा प्रत्यक्ष रोजगार पाउने कर्मचारीहरु हुन्छन् । पाँच वर्षको अवधिमा बन्द भएका बिस्कुट उद्योगबाट मात्र झण्डै १५ हजारले रोजगारी गुमाएका छन् ।
बिस्कुट उद्योगहरुले सहज प्रतिष्पर्धा गर्न नसक्नुको पछाडि कच्चा पदार्थ आयातमा कठिनाई हुनु र आत्मनिर्भर बन्न लागेको उद्योगलाई संरक्षण गर्ने सरकारको नीति नहुनु प्रमुख कारण भएको उद्योगी तथा नेपाल बिस्कुट संघका केन्द्रीय उपाध्यक्ष महेश जाजुको भनाइ छ । नेपाली बिस्कुट उत्पादकहरुले सरकारसँग कच्चा पदार्थ आयातमा सहजीकरण गरिदिन माग गर्दै आएको भएपनि सरकारले त्यसको सुनुवाई नगर्दा उद्योगहरु बन्द गर्नुपर्ने अवस्थामा पुगेका हुन् ।
बिस्कुट उद्योगका लागि पिठो र चिनी मुख्य कच्चा पदार्थहरु हुन् । बिस्कुट उत्पादनका लागि मसिनो चिनीको आवश्यकता पर्छ । उद्योगीहरुले उद्योगको उत्पादन र विगतको खपत अनुपातका आधारमा सहुलियत मूल्यमा चिनी आयात गर्न पाउनुपर्ने माग गर्दै आएका छन् । बिस्कुट उद्योगहरुले चिनी आयात गर्दा ४० प्रतिशत भन्सार महशुल तिर्नुपर्ने भएकोले उत्पादन लागत बढ्न गई भारतीय विस्कुटसँग प्रतिष्पर्धा गर्न नसक्ने अवस्था रहेको उद्योगीहरुको भनाइ छ ।
तस्करी भएर आउने बिस्कुटले बजार ओगट्नाले पनि नेपाली उद्योगहरु धराशायी बनिरहेको गुडलाइफ बिस्कुटका बजार ब्यवस्थापक विष्टले बताउनुभयो । भारतीय उत्पादनका कारण नेपाली बिस्कुटको बजार संकुचन भई करिव ३५ प्रतिशतमा सीमित हुन पुगेको छ । बिस्कुटको झण्डै ७० प्रतिशत नेपाली बजारको हिस्सा भारतीय उत्पादनले ओगटेको छ ।
भएका उद्योगहरु बन्द हुँदै जाने र तस्करी भएर पैठारी भएका विदेशी उत्पादनले बजार ओगट्ने अवस्थाले नेपाली आर्थिक क्षेत्रमा पनि नकारात्मक असर परेकोमा बिस्कुट उत्पादक संघले चिन्ता जनाएको छ । संघले अनधिकृत पैठारी रोक्न माग गर्दै ध्यानाकर्षण गराएको छ ।
यो सब हाम्रो सुरक्षा कर्मी र स्थानीय निकायको कमी हो