प्राविधिक विश्वविद्यालयको अनुसन्धान केन्द्र सञ्चालनमा

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–४ हातिमुढास्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा अनुसन्धान केन्द्र संचालनमा आएको छ । विश्वविद्यालय परिसर भित्र सुविधासम्पन्न अनुसन्धान केन्द्र स्थापना भएको हो ।

अनुसन्धान केन्द्रमा तीन जना इन्जिनियरहरू अनुसन्धानमा जुटेका छन् । इन्जिनियर गोपाल सापकोटाको नेतृत्वमा तीन जना इन्जिनियरहरु अनुसन्धानको काममा जुटेका हुन् । उनीहरूले स्वदेशमै रसायनिक मल उत्पादन गर्न आवश्यक पर्ने तत्व र पानीबाट सवारी साधान गुडाउने इन्धनका रूपमा प्रयोग गरिने ‘हाईड्रोजन ग्याँस’ उत्पादन गर्ने तर्फ अनुसन्धान थालेका छन् ।

युरिया मल उत्पादन गर्न आवश्यक पर्ने र प्रदुषणरहित तरिकाले सवारी इन्धनका रुपमा प्रयोग गर्न सकिने ‘हाईड्रोजन’ ग्याँस पानीबाट उत्पादन गर्ने अनुसन्धानमा जुटेको इन्जिनियर गोपाल सापकोटोले जानकारी दिनुभयो । ‘हाईड्रोजन’ ग्याँस उत्पादनको अनुसन्धानमा मनमोहन विश्वविद्यालयका इन्जिनियर सापकोटाको नेतृत्वमा मेकानिलक इन्जिनियर सञ्जय चौधरी र इलेक्ट्रिक इन्जिनियर विनोद घिमिरेको टीम जुटिरहेको छ । ‘अनुसन्धानमा जुटेको एक महिना भएको छ,’ इन्जिनियर सापकोटोले भन्नुभयो, ‘अहिले हामी प्रारम्भिक चरणमा रहेका छौं ।’
लकडाउनले गर्दा आवश्यक सामग्री र उपकरणहरू भारतबाट ल्याउन ढिलाई भएको र नेपालमा चाहेजस्तो सामग्री निर्माण हुन नसकेकोले अनुसन्धानमा समय लागेको सापकोटाले बताउनुभयो । उहाँका अनुसार उनीहरुले पानीबाट ‘हाईड्रोजन’ ग्याँस उत्पादन गरेर भण्डारण गरि प्रयोग गर्ने परियोजनाबारे अनुसन्धान भइरहेको छ । ‘अहिले पानीबाट हाइड्रोजन ग्याँस निकाल्ने काम सकिएकोले धमाधम स्टोर गर्नका लागि ग्लास सेटअप गर्ने काम भैरहेको छ,’ इन्जिनियर सापकोटाले जानकारी दिनुभयो ।

इन्जिनियर सापकोटाका अनुसार ‘हाईड्रोजन’ ग्याँस अभावमा नेपालमा रसायनिक मल उत्पादन गर्ने कारखाना स्थापना हुन सकेको छैन । ‘रसायनियक मल उत्पादन गर्न उच्च विद्युतीय शक्ति आवश्यक पर्दछ । त्यसका लागि मिथेन वा हाईड्रोजन ग्याँस आवश्यक पर्दछ । मिथेन ग्याँस अति नै प्रज्वलनशिल हुने भएकोले विदेशबाट ढुवानी गर्न पनि समस्या हुृन्छ । अनुसन्धान सफल भएमा नेपालमै खोलाको पानीबाट हाईड्रोजन ग्याँस निकालेर मल कारखाना सञ्चालन गर्न सकिने छ,’ उहाँले भन्नुभयो, ‘मल बनाउन आवश्यक पर्ने अन्य सबै कच्चा पर्दाथहरू प्रयाप्त मात्रामा नेपालमा उपलब्ध छ ।’

तथ्यांङक अनुसार नेपालमा प्रतिवर्ष ६ अर्ब रुपैया बराबरको युरिया मल दोस्रो र तेस्रो मुलुकबाट आयात हुने गरेको छ । नेपालमा हरेक वर्ष १३ अर्ब बढीको रसायिनक मलको कारोबार हुने गरेको छ । रसायनिक मल मुख्य बिद्युत, कोइला र ग्याँसबाट उत्पादन हुने गरेको छ । तर सबै भन्दा सस्तो मल ‘हाईड्रोजन ग्याँस’ बाट मात्र उत्पादन हुन्छ । नेपालमा अलग्गै ३८० मेगावाट बराबरको बिद्युतीय पावर प्लान्ट निर्माण भएको छैन । यसैगरि कोइला र ‘हाईड्रोजन ग्याँस’ पनि उत्पादन भैसकेको छैन ।

‘हाईड्रोजन’ ग्याँसबाट युरोपियन देशहरुमा मोटर पनि कुदाउन थालिएको छ । यो ग्याँसले मोटर कुदाउदा बायु प्रदुषण शुन्य हुने गरेको जानकारहरुको भनाई छ । इन्जिनियर सापकोटाका अनुसार एक केजी हाईड्रोजन ग्यासले ९१ किलोमिटरसम्म मोटर गुडाउन सकिने छ । नेपालमा पानीको स्रोत प्रयाप्त भएकोले हाईड्रोजन ग्याँस उत्पादन गरेर प्रयोगमा ल्याउन सके सवारी ईन्धन अति नै सास्तो पर्नेछ । यसबाहेक ग्याँसबाट उत्पादन भएको बिद्युत नेपाल बिद्युत प्राधिकरण मार्फत प्रयोग गर्न सकनेछ । हाईड्रोजन ग्याँस उत्पादन गर्ने क्रममा सँगसँगै अक्सिजन पनि उत्पादन हुन्छ । उत्पादन भएको अक्सिनज अस्पताल र खानीहरुमा बिक्री गर्र्ने योजना रहेको ईन्जिनियर सापकोटाले सुनाउनुभयो ।

मनमोहन प्राविधिक विश्वविद्यालयले अनुसन्धान गर्न चाहने जो कोहीलाई पनि आफनो केन्द्र खुल्ला गरेको बताएको छ । नयाँ आविष्कार गर्न चाहने कोही पनि बिद्यार्थीलाई बास बस्ने व्यवस्था र आवश्यक उपकरण समेत सहयोग गर्ने योजना रहेको प्रशासन प्रमुख मदन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बाहिरका विद्यार्थीलाई अनुसन्धानमा सहयोग गर्न काठमाण्डौ स्थित राष्ट्रिय अविश्कार केन्द्र्रसँग पनि सम्झौता भएको छ ।

बुधबार, २१ माघ, २०७७, बिहानको १०:५२ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर