प्रदेश १ मा १३ हजारलाई कोरोना खोप

विराटनगर । प्रदेश १ मा १३ हजार बढीले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् ।

खोप सुरु भएको ५ दिनको अवधिमा १३ हजार २ सय ८३ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएका हुन । पछिल्लो ५ दिनको अवधिमा सुनसरीमा २ हजार ६ सय ५४, झापामा २ हजार ५ सय ८१, मोरङमा २ हजार २ सय २४, इलाममा १ हजार १ सय ४, भोजपुरमा ५ सय ८२, ओखलढुङ्गामा ५ सय ६३, धनकुटामा ५ सय ३९ र पाँचथरमा ४ सय ८९ जनाले कोरोना विरुद्धको खोप लगाएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार तेर्‍हथुममा ४ सय ४२, खोटाङमा ३ सय ४६, उदयपुरमा ३ सय ३४, सोलुखुम्बुमा २ सय २६, संखुवासभामा २ सय ८१ र ताप्लेजुङमा पनि २ सय १८ जनाले खोप लगाएका छन् ।

प्रदेश १ मा माघ १४ गतेदेखि कोभिड-१९ विरुद्धको खोप लगाउने अभियानको सुरुवात गरिएको थियो । अभियान अनुसार हाल मोरङमा ५, सुनसरीमा ४, झापा र ईलाममा ३–३ तथा अन्य जिल्लाहरुमा १–१ वटा खोप केन्द्रमार्फत खोप लगाईने गरिएको स्वास्थ्य निर्देशनालय धनकुटाका निमित्त निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो ।

पहिलो चरणमा सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी र सरफाईकर्मी सहित ३५ हजार ५ सय ७६ जनालाई खोप लगाउने सरकारको कार्यक्रम छ । भारत सरकारको सहयोगमा आएको कोरोना विरुद्धको कोभिसिल्ड खोप गत सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश १ को राजधानी विराटनगर पठाएको थियो । प्रदेश १ का लागि मन्त्रालयले ९६ हजार डोज खोप पठाएको थियो ।

गत सोमबार विराटनगर आईपुगेको खोप मङ्गलबार बेलुकासम्म प्रदेश नं. १ का सबै जिल्लाहरुमा पुगिसकेको थियो । मोरङ, सुनसरी र झापाका जिल्ला अस्पताल तथा केही ठुला अस्पतालबाट ६ हजार ८७ जना स्वास्थ्यकर्मीहरुले कोभिड–१९ विरुद्धको खोप लगाईसकेका छन् ।

कोरोना विरुद्धको खोप पूर्ण रुपमा सुरक्षित देखिएको र अहिलेसम्म खोप लगाएकाहरुलाई कुनै समस्या नदेखिएको प्रदेश सरकारले जनाएको छ । खोप लगाएपछि कसैकसैमा रिङ्गटा लाग्ने, ज्वरो आउने, बान्ता हुने र टाउको दुख्ने जस्ता सामान्य असर देखिएको निर्देशक बस्नेतले बताउनुभयो ।

कोरोना विरुद्धको खोप गर्भवती महिला, स्तनपान गराईरहेका आमा र १८ बर्षमुनिका बालबालिकाहरुलाई भने लगाउन दिइएको छैन् । प्रथम पटक खोप लगाईसकेका व्यक्तिले २८ दिनमा पुनः दोश्रोपटक खोप लगाउनुपर्नेछ ।

आइतबार, १८ माघ, २०७७, साँझको ०७:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर