मुख्यमन्त्रीज्यू, रिसानी भए माफ पाउँ

 लीलावल्लभ घिमिरे

माननीय मुख्यमन्त्री शेरधन राईज्यूलाई वैवाहिक जीवनको अनगिन्ती शुभकामना । साथै तपाँईले प्रदेशसभा बैठकमा सामान गर्न लाग्नुभएको अविश्वासको प्रस्तावमा समेत सफलता मिलोस् भन्ने कामना जोड्न चाहे ।

मुख्यन्त्रीज्यू, माघ १६ गते साँझ विराटनगरमा भएको तपाईको विवाह भोजमा उपस्थित हुने अवसर दिनुभएकोमा धन्यवाद । सरदर विराटनगरमा मैले अहिलेसम्म खाएका विवाह भोजमध्ये त्यो भोज ८० प्रतिशत सालीन, सम्भय र शान्त रात्रीभोज थियो । त्यसका लागि पनि विषेश धन्यवाद । मुख्यमन्त्रीज्यू, जति बेला म त्यहाँ पुगेको थिए, त्यसको अनुमानमा त्यो भोजमा करीव २ हजार ५ सय भन्दा वढि मजस्तै निम्तालुहरु पुगेका हुनुपर्छ । त्यसका अलवा तपाईको विवाह भोजमा निम्ता गर्न कारणवस भुल्नुभएका धेरैले मसँग व्यक्तिगत रुपमा नै गुनासो गर्नुभएको थियो । तथापी म त्यसको कुनै पक्ष त थिइन, तरपनि उहाँहरुले गल्ती नै गर्नुभयो भन्न भने खोजेको हैन ।

मलाई राम्रोसँग के कुरा थाहा छ भने मुख्यमन्त्रीज्यूले दिल खोलेर विवाह भोज दिन पाउनुभएको भए ५० हजारभन्दा माथि मान्छेहरु आउन तयार थिए । तर, त्यता नजाउँ, मैले यहाँनेर विवाह भोज खाएर पनि सानो अनिष्ट गर्ने प्रयास गरेको छु । मुख्यमन्त्रीज्यू, रिसानी भए माफ पाउँ । मलाई विश्वास छ, तपाँइले यसअघि पनि दुईचार पटक माफी दिसक्नु भएको छ । तर, मलाई अहिलेको नयाँ डर के मात्र हो भने नेता महेश बस्नेतहरुले यो कहाँ कतै पढ्नु भयो भने माफ दिनुहुन्छ कि हुदैन भन्ने मात्र चिन्ता हो ।

यो कम्युनिष्ट भन्ने शब्दको एकदमै नराम्रो छापा मेरो दिमागमा बसेको छ । मेरो घर धनकुटाको साविक तेलीया भन्ने गाउँमा हो । म सानो छँदा हाम्रो काका उमाकान्त घिमिरे कम्युनिष्टमा लाग्नुभएको थियो । त्यसबेला कम्युनिष्ट भन्दा पनि उहाँलाई वामे, वामे भन्थे । उहाँ शिक्षक पनि हुनुहुन्थ्यो । उहाँका धेरै कुरा हामीले सुन्न पाएका थियौं । पछि प्रजातन्त्र स्थापनापछि एसएलसी दिएर गाउँमा गाइ चराउँदा मेरो दाजुको ससुराली घर कुरुले तेनुपाबाट कम्युनिष्ट विचारधाराका केही किताब मैले राम्रोसँग पढेको छु । ती किताव मेरा सोल्टी हेमराज भण्डारीले पढ्न प्रेरित गर्नुभएको हो । उहाँको चाहाना थियो । माओवादी जनयुद्धमा म पनि लागौं ।

सायद म कम्युनिष्ट हुन्थे होला । मलाई मैले पढेको कम्युनिष्टको सिद्धान्त निक्कै मन पर्छ । पहिलादेखि मेरो मुखमा कमरेड भन्ने शब्द झुण्डिएको छ । यो शब्द राम्रो पनि लाग्छ । तर, म कम्युनिष्ट नभएको एउटै कारण हो, त्यहाँभित्रको अनुशासन मलाई त्यो अलि मन नपरेको कुरा हो । त्यसमा बाँधिन सकिदैन भनेर कम्युनिष्ट भइएन । २०५४ सालतिर आइपुग्दा एमाले कम्युनिष्ट हैनन्, यिनीहरु कितावमा पढ्दा रहेछन् तर व्यवाहार देखउँदा रहेनछन् भन्ने हेक्का भयो । केहि समयपछि माओवादी जनयुद्धको ज्वाला पूर्वतिर आयो । हेमराज सोल्टीले पनि बन्दुक भिर्नुभयो । त्यस बेलाका युवा उमेर माओवादीका धेरै प्रशिक्षण लगिन्थ्यो । लाग्न मन नलागे पनि केही हुन्छ भन्ने आशा थियो, भित्र कुनामा । तर, अहिले आफूलाई आफैसँग गर्व लागिरहेको छ । उनीहरु अरुलाई भन्थे खसी टाउँको झुण्डाएर बाख्राको मासु बिक्री गर्नछन् । तर, उनीहरु चाही खसीको टाउँको झुण्डाएर कुकुरको मासु बिक्री गर्दा रहेछन् ।

अब म फेरि मुख्यमन्त्रीज्यूको विवाहसँंग जोडिन चाहे । मुख्यमन्त्रीको उमेर यति फरक भयो । अलि बढि हाँस्नुभयो । अलि बढि नर्भस हुनुभयो । भिडियोमा यो भयो, त्यो भयो । यी सबै कुरा गौण हुन् । मलाई लागेको एउटा प्रश्न यो मात्र हो कि एउटा सच्चा कम्युनिष्टको विद्यार्थीले यी सब भोक गर्न मिल्छ ? तपाँई कसैको छोरो, भाइ, भतिज दाजु जे हुनुहुन्छ होला र अहिले श्रीमान पनि बन्नुभयो होला । तर, त्यो भन्दा मैले तपाईलाई गर्ने भनेको एउटा सच्चा इमान्दार कम्युनिष्ट पार्टीको सिपाही हो । मुख्मन्त्रीज्यू मलाई अर्को कुरा पनि थाहा छ। आज सामान्य कुनै युवायुवतीले विवाह गर्न चाहे भने तपाईको भन्दा भव्य भोज र धेरै मान्छे बोलाउनुपर्ने बाध्यता छ । तर, मैले यहाँ भन्न खोजेको यति मात्र हो यो देशको कानून तपाईहरुलाई अव्यवहारिक छ भन्ने हेक्का हुँदाहुदै पनि किन सुधार गर्न चाहनुहुन्न ? त्यसको एउटै उत्तर हो, त्यो कानूनले तपाईहरुलाई रोक्दैन ।

आज हाम्रो कानून ५१ जनाभन्दा बढि जन्ती लग्न पाइदैन भन्छ । त्यसको त्यसको कार्यान्वयन तपाईहरुलाई सनक चडेका बेला मात्र हुन्छ । मलाई थाहा छ, केही वर्ष अघि मात्र विराटनगरका प्रतिष्ठित उद्योगपति मोती दुगडले यही कानूनका कारण आफ्नो छोराको विवाह गर्न पाएका थिएनन् । हुन अहिले मोती दुगड नेपाल सरकारको एउटा मन्त्री सरहको हैसियतमा प्रधानमन्त्रीको आर्थिक सल्लाहाकार पदमा विराजमान छन् । मोती दुगडले पनि त्यो दिन भुलिसकेका छन् । उनले पनि यस्ता कानूनलाई सुधार गर्न लाग्नुपर्ने हो । तर, त्यो अपेक्षामा आम नागरिकले मोती दुगडबाट भन्दा बढि शेरधन राईबाट अपेक्षा गरेका हुन्छ । आज पनि यहाँका उद्योगी ब्यापारी घरनाहरु त्यही कानूनसँग तर्सिरहेको अवस्था छ । त्यसैले मुख्यमन्त्रीज्यू ,तपाईले पाएजस्तै अधिकार सबै तपाईका प्रदेशवासीले पाउनुपर्छ भन्ने कुरा मात्र मैले यहाँ उठाउन खोजेको हो ।

जे होस्, यो सुधार होला नहोला आफ्नो पाटोको कुरा भयो । तर, तपाईले तीन वर्षअघि मुख्यमन्त्रीमा वहाली हुँदैगर्दा गरेको एउटा बाचा पुरा गर्नुभएको छ । त्यसबेला तपाईंले धेरै वाचा गर्नुभएको थियो । अन्य वाचा पुरा भए कि भएन, खोजौंला ।

यो मुख्यमन्त्रीज्यू सँग जोडिएको कुरा मात्र हैन, यस्ता हजारौं साना तर निमुखालाई लाग्ने ठूलालाई नलाग्ने र व्यवहारमा गर्नैपर्ने कानून छन् । तिनलाई कसले सुधार गर्ने थाहा छैन् । जसले सुधार गर्ने हो, उनीहरुलाई कानून लाग्दै लाग्दैन । जसलाई लाग्छ । उसले सुधार गनै सक्दैन । त्यसैले फेरि पनि भन्न मन लाग्छ नेपालको कानून दैवले जानुन् ।

आइतबार, १८ माघ, २०७७

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर