जमिनमा कार्बनको मात्रा घट्दै

विराटनगर । रासायनिक मल तथा किटनाशनक औषधीको अत्यधिक प्रयोगले प्रदेश नं. १ को खेतीयोग्य जमिनमा पछिल्लो समय कार्बनको मात्रा घट्दै गएको पाइएको छ ।

अर्गानिक उत्पादन पद्दतिको अभावमा कार्बनको मात्रा घट्दै जाँदा माटोमा अम्लको मात्रा भने बढेको छ । माटोमा प्राङ्गारिक पदार्थको अभावमा प्रदेश नं. १ को ८० प्रतिशत खेतीयोग्य भूमि अम्लीय भएको छ । अम्लीयपन बढ्दा माटोबाट बालीलाई चाहिने आवश्यक खाद्य तत्वको आपूर्ति हुन सकेको छैन । जसकारण फलफुल, तरकारी र अन्नबालीको उत्पादन पनि घटन थालेको छ ।

माटोमा भएको अम्लीयपनले माटोको उर्वराशक्तिमा नकारात्मक असर पु¥याउँदा किसानका लागि यो टाउको दुखाईको बिषय बनेको छ । कार्बनको श्रोत रहेको प्राङ्गगारिक मलको ठाउँमा रासायनिक मलको अत्याधिक प्रयोगले माटोमा अम्लीयपन बढ्दै गएको माटो तथा मल परीक्षण प्रयोगशाला प्रदेश नं. १ का माटोविज्ञ तथा सूचना अधिकारी दिगम्बर यादवले बताउनुभयो ।
रासायनिक मल बन्ने प्रक्रियामा एउटा अम्ल प्रयोग हुनेछ । ‘त्यो मल प्रयोग गर्दा त्यसमा भएको तत्व बिरुवाले सोस्छ र अम्ल भने माटोमा बसिरहन्छ, जसको परिणाम स्वरुप अम्ल माटोमा घुलनशील हुँदा अम्लियपनको मात्रा बढछ’ अधिकारीले भन्नुभयो । माटोको उर्वराशक्तिमा दिगोपना ल्याउन तथा बिरुवाको सन्तुलित पोषणका लागि प्राङ्गगारिक मलको प्रयोग बढाउनुपर्ने उहाँको सुझाव छ ।

माटोको अम्लियपन न्युनीकरण गर्न कृषि चुनको प्रयोग गर्नु उपयुक्त हुने कृषिविज्ञहरुले बताएका छन् । माटोमा हाईड्रोजन आयनको मात्रा घनात्मक हुँदा अम्लियपन बढ्ने र ऋणात्मक हुँदा छारियपन बढ्ने गर्दछ । तसर्थ माटोमा पिएचको मात्रालाई सन्तुलन (७ पिएच) मा राख्न रासायनिक मलको प्रयोग घटाउनुपर्ने उनीहरुको तर्क छ ।

जैविक पद्दतिको प्रयोग बढाउनुपर्ने

बिरुवालाई हुर्कन तथा बढ्न नाइट्रोजन, फस्फोरस, पोटास, क्याल्सियम म्याग्नेसियम, सल्फर, नाइट्रोजन र सुक्ष्मतत्वका रुपमा रहेका फलाम, ताँबा, वोरोन, म्याङगानिज, मोलिब्डेनम क्लोरिन लगायतका खाद्यतत्वहरुको आवश्यकता पर्छ । ती खाद्य तत्वहरुको आपूर्ति गर्न माटोमा प्राङ्गारिक पदार्थ हुनु जरुरी हुन्छ ।

तर, पछिल्लो समय माटोमा प्राङ्गगारिक पदार्थको अभावमा बालीनाली मासिने र उत्पादन नहुने लगायतका समस्या देखा पर्दै गईरहेका छन् । यसबाहेक ढुसी, फङ्गज तथा विभिन्न ब्याक्टेरियाहरु अम्लीयपनको अवस्थामै बाँच्ने भएकाले यसले बालीनालीका साथै मानव स्वास्थ्यमा पनि गम्भीर असर गरिरहेको छ ।

माटोको उर्वराशक्ति बढाई बालीनालीको उचित संरक्षण तथा माटोमा प्राङ्गारिक तत्वको पुर्तिका लागि जैविक पद्दति अबलम्बन गर्नुपर्ने बाली संरक्षण प्रयोगशाला प्रदेश नं. १ का प्रमुख मुकेशकुमार यादवले बताउनुभयो । घर वरिपरि पाईने वनस्पति र झारपातलाई आदिलाई टुक्रा पारेर तह–तह बनाउँदै खाडल वा थुप्रोमा उपयुक्त वातावरणको सिर्जना गरी सुक्ष्म जीवाणुका माध्यमबाट कुहाई प्राङ्गारिक मल तयार पार्न सकिने उहाँको भनाइ छ ।

प्राङ्गगारिक मलको संरक्षण भएन

प्राचीनकालदेखि नै प्राङ्गारिक मललाई खासै महत्व नदिईएको कारणले पनि हाल माटोमा अम्लियपनको समस्या आईपरेको कृषि विज्ञहरुले बताएका छन् । मलमा भएका खाद्यतत्वको संरक्षण, सदुपयोगको ज्ञान र सीप अभावका कारण नेपालले एकातिर बर्षेनि करोडौँ मुल्य बराबरको नाइट्रोजन मल गुमाइरहेको छ भने अर्काेतिर विदेशबाट नेपालले अर्बौ रुपैयाँ बराबरको रासायानिक मल खरिद गरिरहेको छ ।

तर, घरआँगनमै सजिलै प्राप्त हुने प्राङ्गगरिक मलको संरक्षण र सदुपयोगमा कसैको ध्यान नपुगेको माटो तथा मल परिक्षण प्रयोगशाला प्रदेश नं. १ का प्रमुख नाथुप्रसाद चौधरीले जिकिर गर्नुभयो । कुहिँदै गरेका कृषि जैविक उत्पादन गाईभैँसीको गोबर, पातपतिङ्गर, सोत्तर, तरकारीको बोक्रा लगायतका कच्चा पदार्थमाथि गँड्यौला राखेर प्राङ्गारिक मलतयार गर्न सकिने उहाँको भनाई छ ।
किसानले चासो दिएनन् ।

प्राङ्गारिक र रासायनिक मलको सन्तुलित प्रयोगबाट मात्र माटोको उर्वराशक्ति र उत्पादन दिगो हुनसक्ने भएपनि यसतर्फ किसानले चासो दिन सकेका छैनन् । बोटबिरुवाबाट आशातित फल पाउन उत्पादनका कारकतत्व माटो, मल, जल, बीउबिजन, उन्नत प्रविधि र बाली संरक्षणमा विशेष ध्यान पु¥याउनुपर्ने हुन्छ । तर, बाली लगाउँदा माटो परिक्षणमा कन्ज्युँस्याई र आलश गर्दा पछिल्लो केही वर्षयता माटो अम्लिय भई उत्पादनमा ह्रास आएको छ ।

माटोको व्यवस्थापन आवश्यक

प्रदेश नं. १ मा कुल क्षेत्रफलको ३१.९१ प्रतिशत अर्थात ८ लाख २६ हजार ६ सय ४६ हेक्टर जमिन खेतीयोग्य छ । जसमध्ये हिमाली भेगमा १ लाख ४ हजार ५ सय ५, पहाडमा ४ लाख २४ हजार ७ सय १३ र तराईमा २ लाख ९७ हजार हेक्टर खेतीयोग्य जमिन रहेको छ । पछिल्लो समय माटोको उर्वराशक्तिमा ह्रास आउँदा उत्पादन निरन्तर ओरोलो लाग्दै गएको छ । बढ्दो जनसङ्ख्याको खाद्यान्नको माग पूरा गर्न सघन बाली प्रणाली अपनाउँदा माटोको उर्वराशक्ति दिगो बनाईराख्न माटो व्यवस्थापन पक्षमा पनि बिशेष ध्यान दिनु आवश्यक देखिन्छ ।

शुक्रबार, ०९ माघ, २०७७, बिहानको १०:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर