विराटनगर । कोरोना महामारीबाट प्रभावित भएको उद्योग व्यापार क्षेत्र पुरानै लयमा फर्किन थालेको छ पाइएको । झण्डै ६ महिना संकटग्रस्त अवस्थाबाट गुज्रिएको ब्यापार र उद्योग क्षेत्र कत्तिकयता सुधारोन्मुख हुँदै पुरानो लयमा आइपुगेको हो ।
आन्तरिक राजश्व कार्यालय विराटनगरले चालु आर्थिक वर्ष २०७७÷७८ को अर्धवाार्षिक अवधिमा राजश्व लक्ष्य अनुसारको प्रगति हासिल गरेबाट उद्योग ब्यापारको क्षेत्रमा सुधार देखिएको हो । चालु वर्षको पुस मसान्तसम्म कार्यालयले ९९ प्रतिशत लक्ष्य प्राप्त गरेको छ ।
आर्थिक वर्षको पहिलो तीन महिनामा कोरोना महामारी र क्षेत्रगत लकडाउनका कारण व्यापार व्यवसाय तथा उद्योग क्षेत्र प्रभावित बनेको थियो । उक्त अवधिमा मूल्य अधिवृद्धि कर, आयकर, अन्तशुल्क लगायत सबै राजश्व आम्दानी न्यून मात्र संकलन भएको थियो । कार्तिक महिनापछि भने राजश्व आम्दानीमा सुधार भएको र कार्तिकदेखि लक्ष्य अनुसार प्राप्त हुँदै आएको राजश्व पुसमा आइपुग्दा सुधार देखिएको कार्यालयका प्रमुख विमल सापकोटाले जानकारी दिनुभयो ।
पुस महिनासम्म ३ अर्ब ९१ करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको कार्यालयले लक्ष्यभन्दा साढे २ करोड कम अर्थात ३ अर्ब ८८ करोड ९७ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । चालु वर्षको ६ महिनाको अवधिमा मूल्य अभिवृद्धि कर भने १५९ प्रतिशत संकलन भएको छ । जुन अघिल्लो वर्षको तुलनामा २७ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षमा १ अर्ब ६१ करोड ९६ लाख रुपैयाँ मूल्य अभिवृद्धि कर संकलन गर्ने लक्ष्य रहेकोमा पुस मसान्तसम्म १ अर्ब १४ करोड १९ लाख रुपैयाँ संकलन गरिसकेको छ ।
कार्यालयलाई चालु वर्षको अर्धवार्षिक अवधिमा ७१ करोड मूल्य अभिबृद्धि करण संकलनको लक्ष्य दिइएको थियो । यसबाट उद्योग व्यापारको क्षेत्रमा सुधार देखिएको कार्यालय प्रमुख सापकोटाले बताउनुभयो । कार्यालयले पुस महिनामा लक्ष्यभन्दा बढि १६२ प्रतिशत मूल्य अभिवृद्धि कर संकलन गरेको छ । पुस महिनामा १२ करोड मूल्य अभिवृद्धि कर संकलन गर्ने लक्ष्य रहेकोमा १९ करोड ४७ लाख रुपैयाँ संकलन गरेको हो ।
कार्यालयले आयकरतर्फ पनि लक्ष्यभन्दा बढी संकलन गरेको छ । आयकर १३२ प्रतिशत संकलन भएको कार्यालय प्रमुख सापकोटाले जानकारी दिनुभयो । आयकर अघिल्लो वर्षको अर्धवार्षिक अवधिको तुलनामा ३ प्रतिशतले बढेको छ । चालु वर्षमा २ अर्ब ६९ करोड ५३ लाख रुपैयाँ आयकर संकलन गर्ने लक्ष्य पाएको कार्यालयले पहिलो ६ महिनामा १ अर्ब ५३ करोड ८७ लाख रुपैयाँ संकलन गरेको छ ।
पुस महिनामा आयकर १५४ प्रतिशत संकलन भएको छ । पुसमा ४५ करोड ३० लाख आयकर संकलन हुने अनुमान गरिएकोमा ६९ करोड ५७ लाख संकलन गरेको हो ।
उद्योग र ब्यापारतर्फ राजश्व संकलन राम्रो भएपनि अन्तशूल्कमा भने कार्यालयले लक्ष्य भेटाउन सकेन । पुस मसान्तसम्म लक्ष्यको ५९ प्रतिशत मात्र अन्तशुल्क संकलन भएको कार्यालयले जनाएको छ । चालु वर्षमा ४ अर्ब ५१ करोड अन्तशुल्क संकलन गर्ने लक्ष्य रहेकोमा ६ महिनाको अवधिमा १ अर्ब २० करोड मात्र संकलन भएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा भने ८ प्रतिशतले बढी छ ।
मूल्य अभिवृद्धि कर र आयकर पुस महिनामा लक्ष्यभन्दा निकै बढी संकलन भएपनि अन्तशुल्कले भने पुसमा पनि लक्ष्य भेट्टाउन सकेन । पुस महिनामा ४३ करोड ६८ लाख अन्तशुल्क संकलन गर्ने लक्ष्य रहेकोमा २९ करोड २४ लाख ७८ हजार रुपैयाँ मात्र संकलन गर्न सकेको देखिन्छ ।
उद्योग र व्यापार क्षेत्रको अवस्था सुधार भएपनि अस्पताल र पर्यटन क्षेत्र हुने आम्दानीमा भने गिरावट आएको कार्यालयले जनाएको छ । कोरोना महामारीका कारण होटल व्यवसाय सबैभन्दा धेरै प्रभावित भएको छ भने अस्पतालको अवस्था पनि अझै सुधार भइसकेको छैन । जसले गर्दा चालु वर्षको पहिलो ६ महिनामा त्यस क्षेत्रबाट अपेक्षित राजश्व संकलन नभएको कार्यलय प्रमुख सापकोटाले बताउनुभयो ।
उद्योग र ब्यापारको क्षेत्र पुरानै लयमा फर्किको देखिएपनि सीमा खुल्ला भएको खण्डमा बजारमा नकारात्मक प्रभाव पर्ने सापकोटाको भनाइ छ । ‘अहिले ब्यापार र उद्योगको क्षेत्रमा सुधार भएको छ । उनीहरु करिव पुरानै लयमा आइपुगेका छज् । तर, सीमा नाका खुला गर्ने हो भने व्यापारको क्षेत्रमा देखिएको सुधार कायम राख्न गाह्रो हुन्छ,’ प्रमुख सापकोटाले भन्नुभयो ‘सीमा नाका तत्काल खुलेन भने यो सुधारको अवस्थालाई दिगो बनाउन सहयोग पुग्ने देखिन्छ ।’