विराटनगर । विराटनगरमा वायु प्रदूषण उच्च भएपछि विराटनगर महानगरपालिकाले अत्यावश्यक काबाहेक घरबाहिर ननिस्कन अपिल गरेको छ ।
महानगरपालिकाले प्रदूषण कमगर्न फोहर डढाउने र विकास निर्माणको काम पनि रोक्न अनुरोध गरेको छ ।
प्रदूषण उच्च तहमा पुगेकाले मर्निङवाक गर्नेलाई पनि घरबाहिर ननिस्कन महानगरपालिकाले अनुरोध गरेको हो । सामान्यतया हावाको गुणस्तर एयरक्वालिटी इन्डेक्स ०–६० सम्मको अवस्थालाई राम्रो मान्ने गरिएइकोमा विराटनगरमा हावाको गुणस्तर (एयर क्वालेटी इन्डेक्स) १६० भन्दा माथि छ ।
प्रदूषण उच्च रहेकोले विराटनगरमा खतराको संकेत देखिएको महानगरले जनाएको छ । बेलुकाको हावामा प्रदूषण झन् बढ्ने महानगरले जनाएको छ । विज्ञहरुका वायु प्रदूषणले तत्काल असर नदेखिए पनि दिर्घकालीन रुपमा गम्भीर असर गर्नसक्छ ।
चिसोका कारण वायु प्रदूषणको मात्रा बढेको बताइएको छ । चिसो बढेका कारण धूलो उडेर धेरै टाढा जान नसक्ने भएकोले हावाको तल्लो तहमा रहेका धुवाँ धूलोेले मानव स्वास्थ्यलाई हानी गर्नेछ । औद्योगिक क्षेत्रबाट निस्कने प्रदूषण र सवारी चाप पनि उच्च रहेकोले विराटनगरको हावामा प्रदूषण बढेकोहो ।
प्रदूषित हावामा लिड, मर्करी, क्याडनियमजस्ता धातुको मात्रा बढी पाइने भएकोले श्वासप्रश्वासको माध्यमबाट ती शरीरमा पुगेर स–साना कोषहरु बन्द गर्न सक्ने विज्ञहरु बताउँछन् । प्रदूषित हावाका कारण श्वासप्रश्वासको समस्यासँग सँगै अन्य गम्भिर रोग देखिनसक्छ ।
विराटनगर महानगरपालिकामा सडक विस्तारको क्रममा धेरै रुख काटिएकोले पनि वातावरण सन्तुलन हुन नसकेको हो । काठमाडौंमा जोखिम बढेको सूचनासँगै विराटनगरमा गत साउनयता नियमित रुपमा हावाको गुणस्तर मापन गर्न थालिएको छ । प्रदूषणको मापनका लागि महेन्द्र मोरङ क्याम्पसमा उपकरण जडान गरिएको छ ।
वातावरणको अवस्था जानकारी दिनका लागि जिल्ला वन कार्यालय अगाडि डिस्प्ले बोर्ड राखिएको छ । पछिल्लो समय ह्वात्तै बढेको वायु प्रदूषणको जोखिम काठमाडौंमा कम हुँदै गएपनि विराटनगर, जनकपुर र हेटौँडामा कायमै रहेको विज्ञहरुले बताएका छन् ।
वायु प्रदूषणको स्तर कम हुँदै गएपछि काठमाडौँमा निम्तनसक्ने भयानक जोखिम टर्ने अवस्थामा पुगेको छ । मौसममा आएको परिवर्तनसँगै मंगलबार र सोमबार काठमाडौंलगायतका शहरमा प्रदूषण घातक स्तरमा पुगेको थियो ।
मौसममा सुधार आएसँगै काठमाडौँमा वायु प्रदूषणको मात्रा पनि घटेको वातावरण विभागले जनाएको छ । वायु प्रदूषणको स्तर अत्यधिक बढेपछि सरकारले सूचना सार्वजनिक गरी बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटुका बिरामीलाई सावधानी अपनाउन तथा सकेसम्म घरबाहिर ननिस्कन आग्रहसमेत गरेको थियो ।
काठमाडौंमा वायु प्रदूषण विश्व स्वास्थ्य सङ्गठनको मापदण्डभन्दा झण्डै पाँच गुणामाथि पुगेको थियो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा सन् २०१८ मा वायु प्रदूषणका कारण झण्डै ३७ हजार जनाको ज्यान गएको थियो ।