विराटनगर । नेपालमा साईबेरिया, पूर्वी युरोप तथा एशियाका क्षेत्रबाट आएका चराहरुले गन्तव्य बदल्न थालेका छन् ।
बढ्दो अव्यवस्थित शहरीकरण, मानवीय चहलपहलमा वृद्धि, बासस्थानको विनाश, सिमसार क्षेत्रमा वनभोज स्थलको विकास र छेउछाउको खेतमा बिषादीको अत्याधिक प्रयोग लगायतका कारणले चराहरुले गन्तव्य बदल्न थालेका हुन् । पछिल्लो २ बर्षमा नेपालमा हालसम्म गणना भएका ८ सय ८८ प्रजातिका चराहरुमध्ये दुई चौथाई चराहरु नेपालहुँदै दक्षिण भारतीय क्षेत्र जाने गरेको पाईएको छ । सुनसरीको कोशी गाउँपालिका स्थित कोशी टप्पु वन्यजन्तु आरक्षमा हाल ५ सय २८ प्रजातिका चराहरु छन् । तर चराविद्हरुको बिश्लेषण अनुसार आरक्षमा २०७५ को तुलनामा २०७६ मा चराहरुको संख्यामा ६५ प्रतिशतले कमी आएको छ । यसबर्ष पनि सो क्रम जारी रहने उनीहरुको आङ्कलन छ ।
नेपालमा प्रत्येक बर्ष असोज महिनाको अन्त्यतिर रुसको साईबेरिया, पुर्वी युरोप र पुर्वी एशियाका क्षेत्रहरुबाट विभिन्न प्रजातिका चराहरु बसाँईसरी आउने गर्दछन् । करिब ७ महिनाको बसाईपछि जेठ महिना सुरुवातसँगै तिनीहरु आफ्नो घर फर्किने गर्दछन् । सर्वाधिक पौष, माघ र फाल्गुण महिनामा विभिन्न प्रजातिका चराहरु देख्न पाईने चराविद्हरुको अध्ययन छ । तर पछिल्लो समय ती चराहरु पनि दक्षिण भारतीय क्षेत्रमा जान थालेको कोशी पन्क्षी समाजका अध्यक्ष सञ्जीव आचार्यले बताउनुभयो ।
संरक्षण आवश्यक
नेपालमा भने हालसम्म गणना भएका ८ सय ८८ प्रजातिका चराहरुमध्ये ५ सय २८ प्रजातिका चराहरु कोशी टप्पु वन्यजन्तु आरक्षमा पाईन्छन् । बाँकी ३ सय ६० प्रजातिका चराहरु भने पुर्वको बेतना र उर्लाबारी तथा प्रदेश २ को भारदह र कमलदह सिमसार क्षेत्रमा पाईन्छन् । चराहरुले शान्त र ठुलो क्षेत्रफल भएको ठाउँ तथा फार्म ल्याण्डहरु मन पराउँछन् । राती गएर फार्म ल्याण्डमा चर्ने र दिनभरि आराम गर्ने तिनीहरुको आवश्यकता हो । तर यथोचित बासस्थानको अभाव, सिमसार क्षेत्रमा वनभोज स्थलको विकास, सवारीसाधनको चाप र ध्वनि प्रदुषण, आम सर्वसाधारणको बाक्लो चहलपहल, उचित फोहोर व्यवस्थापनको अभावका कारण हाल ती चराहरु पनि विस्तारै लोप हुँदै गएका छन् । तिनीहरुको संरक्षणको लागी स्थानीय निकायबाटै पहल हुनु आवश्यक देखिएको कोशी पन्क्षी समाजका अध्यक्ष सञ्जीव आचार्यको भनाई छ ।
जलपन्क्षी गणना सुरु
पौष १८ देखि प्रदेश नं. १ र २ का सिमसार क्षेत्रहरुमा जलपन्क्षीहरुको गणना सुरु भएको छ । ६ जना विज्ञ गणकसहित २५ जनाको समुहले पौष १८ देखि जलपन्क्षीहरुको गणना सुरु गरेका हुन । १८ गते पहिलो दिन समुहले बराहक्षेत्रका पन्क्षीहरुको गणना गरेका थिए । १९ गते कोशी टप्पु वन्यजन्तु आरक्षको पुर्वी भाग र २० तथा २१ गते आरक्षको पश्चिम कमलपुरका सिमसार क्षेत्रका पन्क्षीहरुको गणना गरिएको कोशी पन्क्षी समाजले जनाएको छ । बुधबार सो समुहले सुनसरीको बर्जु गाउँपालिका–६ स्थित बर्जु तालमा क्षेत्रमा रहेका जलपन्क्षीहरुको गणना गरेको छ । हरेक बर्ष पौष महिनामा हुने पञ्च दिवसीय पन्क्षी गणनाको यो ३३ औं पटक हो ।
२०७६ सालमा पन्क्षी गणकहरुको समुहले यस क्षेत्रमा ३१ बर्षपछि ठुलो ‘शिलशिले हाँस’ रेकर्ड गरेका थिए । यस्तै गत बर्ष पनि सोही समुहले पुर्वकै लागी नयाँ ‘मण्डारिन हाँस’ समेत रेकर्ड गरेको जनाएका थिए । यसपटक भने बर्जुताल क्षेत्रमा ८ बर्षपछि ‘वैकाल्टिल हाँस’ देखिएको कोशी पन्क्षी समाजका अध्यक्ष आचार्यले जानकारी दिनुभयो । यो हाँस नेपालमै दुलर्भ प्रजातिको रहेको उहाँको भनाई छ ।
तर पछिल्लो केही बर्षयताको गतिविधि नियाल्दा यी दुर्लभ प्रजातिका चराहरुपनि लोप भए जाने हो की भन्ने उहाँको चिन्ता छ । पन्क्षी गणकहरुको सो समुहले भने प्रत्येक बर्ष प्रदेश नं. १ स्थित कोशी टप्पु, बर्जु ताल, तरहरा, बेतना, उर्लाबारी र भागलपुर ताल तथा प्रदेश नं. २ स्थित सप्तरीको भारदह र कमलदह लगायतका सिमसार क्षेत्रहरुमा पन्क्षी गणना गर्ने गरेका छन् । बिहीबार गणकहरुको समुहले बिहीबार तरहरा र पुर्वको बेतना सिमसार क्षेत्रहरुमा पन्क्षी गणना गरिरहेको गणक प्रेम थुलुङ् राईले बताउनुभयो ।
बर्जुतालमा ध्वनि प्रदुषण रोक्ने योजना
सुनसरीको बर्जु गाउँपालिका वडा नं. ६ स्थित १ सय ५२ बिगाहा क्षेत्रफलमा फैलिएको बर्जु तालमा करिब ४० प्रजातिका जल चराहरु पाईन्छन् । तर पछिल्लो समय ती चराहरुको ग्राफ ओरालो लाग्दै गएको छ । पानीको सतह घटदै जानु तथा तालमा झार पलाउँदै जानु यसको प्रमुख कारण हो । पानी सतह घटन नदिन प्रदेश सरकारले यसबर्ष करिब १ करोड ५० लाखको बजेट विनियोजन सहित पश्चिमतर्फको तालमा ड्याम बनाउने तथा आवश्यक पुर्वाधारहरु निमार्ण गर्ने योजना अघि सारेको वडा नं. ६ का वडाध्यक्ष विनोद कुमार चौधरीले बताउनुभयो ।
उहाँले ध्वनि प्रदुषणका कारण पनि चराहरु भाग्ने गरेको हुनाले तिनीहरुको संरक्षणका लागी सबै किसिममा सवारीसाधनहरुलाई गेटमै राख्ने र वनभोजस्थलमा ठुलो आवाजसहित साउण्डबक्स बजाउन समेत प्रतिबन्ध लगाउने तयारी भईरहेको उहाँले जानकारी दिनुभयो ।