बिन्ति छ कमरेड पत्रकार ! प्रेस संगठन नफुटाउनुस्

 लिलावल्लभ घिमिरे

कमरेड पत्रकार मित्रहरु,
लामो समयदेखि कोरोनाका कारण प्रत्यक्ष भेटघाटमा कमी आएको छ । अहिलेसम्म हामीहरु सञ्चै छौं । आशा छ, आमा र बा बीच सम्बन्ध बिच्छेद भएपनि तपाईंहरुमा कुनै विचलन र बिमार सरेको छैन् होला । मित्रहरु, आज मैले तपार्इंहरुलाई एउटा सुझाव दिनका लागि यो पत्र लेख्दै छु । आशा छ एक पटक मनन गर्नु हुनेछ ।

कमरेडहरु यति बेला तपार्इंहरुले साँचिकै सोच्ने बेला आएको छ । आज हामीहरुले गरिरहेको पत्रकारिता केका लागि र किन ? भन्ने प्रश्नको उत्तर आज हाम्रो समाजले मागिरहेको छ । लामो समयदेखि हामीहरुले नेपालमा मिसन पत्रकारिता गरिरहेका छौं । यो व्यवस्था बलियो होला अनि हाम्रा नेताहरु असल होलान् भन्ने आशा हाम्रो भित्री हृदयमा सदैव छ । तर,आज नेताहरुका कारण व्यवस्था नै के हुन्छ भन्ने अवस्थामा पुगेकोले यो खुला पत्र तपार्इंहरुलाई लेख्न वाध्य भएँ ।
कमरेडहरु, मेरो तपार्इंहरुसँग एउटा बिन्ती छ । यो प्रेस संगठन नेपाल भन्ने संस्थालाई चैत्र महिनामा हरियो काँक्रो बिचमा चिरे जसै गरी नचिर्नु होस् । हामीले पाउने भनेको जुन गुटमा लागेपनि त्यही प्रेस सल्लाहाकार नै हैन ? त्यो त पार्टी फुटेर दुईवटा भयो भनेपनि तपाईहरुले नै पाउने हो । अहिले पाटी नफुट्दापनि नेताहरुले कामका आधारमा पक्कैपनि प्रेस सल्लाहाकार राखेका छैनन् । यो पद जसले जुन नेताको चाकडी गर्न सक्यो त्यसैले पाउने हो । त्यो तपार्इंसँग विचार मिल्ने पार्टीमा मात्र हैन मसँग विचार मिल्ने पार्टीमा पनि यही कुरा लागु हुन्छ । अनि त्यहाँ गएर हाम्रो सल्लाह नेता ज्यूहरुले ग्रहण गर्ने पनि हैनन् । वस ! हामीहरुलाई मासिक तलब भुक्तानीको व्यवस्था मिलाइदिन्छन् । त्यतिकै लागि आज एउटा सिंगो संगठन किन फुटाउने ? एक पटक सोच्नुस् कमरेडहरु ।

तपार्इंहरुलाई हेक्का होस् हिजो गिरिजाप्रसाद कोइरालासंँग फुटेर गएका शेरवहादुर देउवाले नेपाली कांग्रेस प्रजातान्त्रिक बनाउँदाखेरी नेपाल प्रेस युनियन फुटेको थिएन् । नेपाल प्रेस युनियनमा त्यस बेला मुरारी शर्मा अध्यक्ष थिए । देशभरका प्रजातन्त्रवादी पत्रकारहरु त्यही प्रेस युनियनको झण्डामा गोलवद्ध भए । कुनै नेताले सनकका भरमा पार्टी फुटाएर गए भन्दैमा तिनीहरुकै पछाडी मरेको विरालो च्यापेर ठिमीको उकालो लुरुलुरु हिडे जस्तो हिड्नु पर्छ भन्ने छैन् कमरेडहरु । आज तपार्इंहरुका नेताहरु देश जनता र पार्टीका लागि हैन आफ्नो स्वार्थका लागि फुटेका हुन् । यी बुढा वाघहरुको चाडै पतन हुने छ अनि नयाँ पुस्ताले फेरी तपाईंहरुको नेकपालाई एक बनाउने छ । त्यस बेला तपार्इंहरु अहिले नफुटी बस्नुभयो भने गर्वले छाती फुलाउन पाउनु हुनेछ । नत्र फेरी लुरुक परेर तिनै नेताको पछिपछि आएर मिल्नु पर्ने छ ।

कमरेडहरु, यो देशका परिर्वतनका आन्दोलनमा हामी पत्रकारहरुपनि लडेका छौं । लामो समयदेखि हाम्रो मिसन पत्रकारीता चलिरहेको छ । पक्कै पनि हामीहरु व्यवस्थाका लागि लडेका हौं कुनै नेताका लागि हैन । यदि त्यसो हो भने नेता फुट्दा हामी किन फुट्ने ? हुन त तपाईहरु फुट्नु भयो भने म र मेरो संगठनलाई पनि फाइदा पुग्ला । म कुनै पदमा आशिन हौंला । मेरा साथिहरुपनि धेरै ठाउँबाट जित्लान् । तर, कमरेड तपाईहरु फुटुनु भयो भने हाम्रो आन्दोलन कमजोर हुन्छ । यो व्यवस्था कमजोर हुन्छ । यो देशमा लोकतन्त्र नै रहेन भने हामी कसरी पत्रकार हुन सक्छौं ? अहिले नै हाम्रो मिसन पत्रकारिता पुरा भइसकेको छैन । त्यसैले हामी एक हुनु पर्छ । हिजो विचारै नमिल्नेहरु त एक ठाउँमा बसेर नेपाल पत्रकार महासंघका प्रदेश र केन्द्र कब्जा गर्न सफल भएका छौं । आज तपाईहरु त विचार मिल्ने बिच नै फुट्न लाग्दै हुनुहुन्छ । यसले तपाईंको संगठनलाई मात्र हैन यो देशको पत्रकारिताको आन्दोलन नै कमजोर बन्ने छ । त्यसैले कमरेड, बिन्ति छ नफुटुनु होस् ।

आज नेकपा फुटको संघारमा छ । कारण जे सुकै हुन् । आरोप प्रत्यारोपको सीमा छैन । आज तपार्इंहरु जसको पछाडि फुट्नका लागि लाम लागिरहनु भएको छ । तिनीहरुका भाषण एक पटक सुन्नोस् त ! तपार्इं त पढेलेखेको अनि समाजले सचेत ठानेको व्यक्तिमा पर्नुहुन्छ । के तपार्इंको अघिल्तिरको नेताले यति तल्लो स्तरमा आएर हिजोसँगै बसेको आफु समानको साथीलाई गाली गर्न मिल्छ ? तपार्इंका नेताहरुका भाषण सुनेर मलाई कुरीकुरी भइरहेको छ । हिजोको गाउँको याद दिलाइरहेको छ । मेरो गाउँमा तल्लाघरे जन्तरेको बाली मन्तरेका वाख्राले खाँदा होस् वा साईला बाको पानी काईंला बाले चोरेर लगाउँदा होस् यति तल्लो स्तरमा गिरेर कहिल्यौं पनि गाली गरेनन् । आज सम्झिरहेको छु उनीहरुको कुलका नै रहेछन् । एउटा श्रीमान्ले अर्कोसँग गएकी श्रीमतीलाई पनि तपार्इंहरुका नेताको जस्तो तल्लो स्तरमा उत्रिएर गाली गर्न सक्दैन कमरेड । अनि तपार्इं तिनै नेताको पछिल्तिर मरेको बिरालो काखी च्यापेर फुट्नका लागि लामबद्ध हुनुहुन्छ ? मलाई त लाग्छ त्यो फोहोरी लाइनबाट तपार्इंलाई फुत्त तानेर मेरै लाइनमा लामबद्ध् गराउँ । अनि हाम्रो मिसनलाई पुरा गरौं ।

कमरेड अझै सोच्नुहोस् । अनि प्रेस संगठन भन्ने संस्था कुनै सनकी नेता फुट्दैमा नफुट्ने घोषणा गर्नुहोस् । अनि भन्नुहोस् खबरदार गद्दार नेताहरु हो हामी तिमीहरुका झोले पत्रकार हैनौं । आज तपाईंले यति भनिदिनु भयो भने भोलि मलाई पनि कसैले फुट्न वाध्य बनाउने छैन् । अनि त्यति मात्र हैन्, यो समाजले पनि थाहा पाउने छ कि पत्रकार भनेका कुनै पार्टीका झोले कार्यकर्ता हैनन्, नेताहरु जताजता जान्छन् केही पाउनका लागि झोला बोकर पत्रकार पनि त्यतात्यतै लाग्छन् । सामाजमा हाम्रो इज्जत बढ्ने छ । तपार्इं देशभरका सदस्यहरु रमाउने छन् र आफ्नो नेतृत्वप्रति गर्व गर्ने छन् । त्यसैले बिन्ति छ कमरेड, तपाईहरु नफुट्नुहोस् ।

उही तपाईंको शुभचिन्तक
लिलावल्लभ घिमिरे
(संयोजक) नेपाल प्रेस युनियन, प्रदेश नम्बर १

आइतबार, १९ पुष, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर