ओझेलमा पारिएका छन् कृषक

 डा. राजेन्द्र उप्रेती

भर्खरै १६ दिने आन्दोलनको क्रममा सर्लाहीका एकजना उँखु किसानको हृदयघातका कारण मृत्यु भयो । तरार्इको मानिस ६५ बर्षको उमेर काठमाण्डौको पौषको कठाङ्ग्रिने जाडोमा कसरी टिकेहोला यत्रो दिन? आफनै बलबुतामा बाँच्नुपर्ने नेपालको किसान, १८ लाख भन्दा बढि ऋण लिएर आफुले उब्जायर बेचेको उत्पादनको पाउनुपर्ने २४ लाख भन्दाबढि बाँकी रहेकोबेला त्यसैको लागि आन्दोलन गर्दागर्दै उनले मृत्युबरण गर्नुपर्यो । यो घटना एउटा उदाहरणमात्र हो । जानकारीमा नआएका धेरै नारायण रायहरु बर्षेनी मक्किरहेका र मरिरहेकाछन । त्यो कुराको संबोधन देशको कायापलटगर्ने भन्दै लेखिने योजनाका ठुलाठुला ठेलीहरुले कहिल्यै समेटदैन । हाम्रा अगुवाहरुले अहिलेपनि आकासका तारा झार्न छोडेका छैनन तर किसानहरुका खेतबारीमा माखो मरेको छैन । यसरीनै तिलस्मी कथा फलाकेर हाम्रा कृषि बिकासका योजनाहरु बनिरहेकाछन र थन्किरहेकाछन, कृषिमा आर्षित किसानहरुको अवस्था झनझन दयनिय हुँदै उनिहरु पलायन रोजिरहेकाछन ।

के हाम्रामा रुपान्तरण संभव छैन त?

भौगोलिक बिविधता, कृषि बस्तुहरुको संभावना, देशको आन्तरिक बजारको माग र बैदेशिक निकासीका संभावनालार्इ मात्र नियाल्ने हो भने हाम्रोमा संभव नहुने कुरा केहिछैन । कृषिमा संसारकै अग्रणि नेदरल्याण्ड, इजरायल लगायतका देशहरुलार्इ हेर्ने हो भने उनीहरुको भन्दा हाम्रो भौगोलिक अवस्था र श्रमिक उपलब्धता सहज र राम्रो छ । हाम्रा जमिनहरुको बाँझोपन बढदो छ, पानीका श्रोतहरु त्यतिकै खेर गैरहेकाछन, १६ बर्ष कटेका लाखौ युवाहरु बिनाकाम समय कटार्इरहेकाछन र खर्वौको कृषि बस्तु हाम्रो आन्तरीक माग पुर्तिगर्न हरेक बर्ष आयात भैरहेकोछ । जमिन, जल र जनशक्तिरुपि आम्दानीका श्रोतहरु त्यतिकै खेर गैरहेकाछन । यो अवस्थालार्इ हामीले साच्चै चाहने हो भने सहजरुपमा बदल्न सकिन्छ ।

गत बर्ष निजि कामको सिलसिलामा श्रीलंका पुगेकोबेला कोलम्बो स्थित एउटा कृषि ब्यवसायमा लागेको कम्पनि https://hayleysagriculture.com/ को मुख्य कार्यालय अवलोकनको अवसर पाएको थिए, जसको बर्षिक कारोबार १ अर्व डलर भन्दा धेरैरहेछ । कहिलेकाँही यस्ता तथ्यहरु कल्पना बाहिरका हुनेरहेछन । धेरै कुरामा श्रीलंका हामीजस्तै छ, प्रविधिको बिकासपनि हामी भन्दा त्यति अगाडी छैन, कृषिबस्तुको बजार भाउपनि हाम्रोमा भन्दा धेरै छैन, उनिहरुसंग भएको जमिन हाम्रो भन्दा राम्रो छैन, बालीहरुको संभावना हाम्रो भन्दा थोरै छ र पानीको उपलब्धता हाम्रो भन्दा धेरै पछाडि छ । तर उनीहरुसंग र्इमानदारीता हामी भन्दा धेरैधेर छ, अरुलार्इ नढाटी नठगी सहज जिवन बाँच्न सकिन्छ भन्ने बिस्वास उनीहरुमा निक्कै धेरै छ अनि बाटाघाटा लगाएतका भौतिक पूर्वाधारको बिकास र ब्यवस्थापनको अवस्था उच्च छ । उनीहरुसंग भएको र्इमानदारीता र अरुलार्इ नढाटी नठगी सहज जिवन बाँच्न सकिन्छ भन्ने बिस्वास हामीमा र हाम्रा अगुवाहरुमा जगाउन सकियो भने हामीले रुपान्तरणको यात्रा थाल्नसक्छौ । यो भनेको हामीले मानसिक रुपमा रुपान्तरणको लागि आफुलार्इ तयार पार्नेहो ।

योजनाका ठेलि लेख्न होइन किसानका समस्यामा समाधानमा ध्यान केन्द्रित गरौ   

केन्द्रमा नयाँ मन्त्री आएनै पिच्छे नयाँ नयाँ तिलस्मि स्लोगन र फन्डाहरुको बाढि आउने गर्छ र मन्त्रीको बहिर्गमनसंगै पानीका फोका फुटे जसरी ति कुराहरु पनि हरार्इ जान्छन किनकी ति कुराहरु किसानका समस्यासंग जोडिएर इमान्दारीकासाथ आएकै हुदैनन । वर्तमान समयमा किसानहरुका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको उनीहरुको आफनै परिवारको जिविकोपार्जन धान्ने कुरा छ । सयम बदलिएसंगै जिविकोपार्जनका उपाएहरु धेरै भएकाछन । सबैको र्इच्छा आफनो परीवारको स्तर माथी उठाउने र सहज जिवनयापन गर्ने भन्नेनै हुन्छ त्यसैले किसानहरु उपलब्ध अन्य अवसरहरुको सदुपयोग गर्दै कृषि पेशाबाट टाडिदै जाँदैछन । किनकी बर्तमानको परम्परागत कृषिको तुलनामा अन्य पेशाहरु कमजोखिम भएका र बढि आम्दानी दिनेखालका छन । उनीहरुको कमार्इ र जिवनयापन सहज बनाउन राज्यले खासै सघाउन सकिरहेको छैन त्यसैले कृषिको रुपान्तरणमा सरकारको उपस्थितिको खासै महत्व छैन ।

सुरुवात सानो कुराबाट हुनसक्छ । नेपाल र भारतको बिच रहेको खुल्ला सिमानाको कारण हाम्रा कृषिबस्तुहरु एकअर्काको देशमा जानेकुरा स्वभाविक हो । हाम्रो प्रतिस्पर्धि क्षमता भनेको बस्तुको मुल्यले निर्धारण गर्नेगर्छ । जसको उत्पादन खर्च कम हुन्छ उसैले बाजि मार्ने हुन्छ । नेपाल र भारतका किसानले पाउने उत्पादन सामाग्रीको मुल्यमा आकासजमिनको फरक छ । यसको एउटा कारण हाम्रोमा रहेका कृषि उत्पादन सामाग्रीहरुको बिक्रेताहरुमा रहेको सेन्डिकेट प्रणालि हो । यसले गर्दा प्रायजसो कृषि उत्पादन सामाग्रीहरु भारतको तुलनामा नेपालमा निक्कै महँगो छन र चाहिएको समयमा सहज उपलब्ध पनि हुदैनन । नितिगत रुपमा कृषि सामाग्रीहरु १ प्रतिशत भन्सार तिरेर सजिलै ल्याउन पाउनुपर्ने हो तर त्यसको लागि पुरागर्नुपर्ने प्रकृयाहरु खर्चिला र धेरै समय लाग्ने खालकाछन । त्यसैले भुक्तभोगिहरु किसानहरु या त महँगो मुल्य तिर्न या अबैध बाटो पहिल्याउन बाध्यछन । अबैध रुपमा आउने हुँदा सिमाना पारिबाट उनिहरुले ल्याउने उत्पादन सामाग्रीको गुणस्तरपनि धेरैजसो कमसल हुनेगर्छ । आखिरमा घाटा भनेको फेरीपनि किसानलेनै ब्यहोरनु पर्नेहुन्छ ।

यसको सहज समाधान भनेको नेपालमा सरकारले तोकेको भंसार महसुल तिरेर आफनो नजिकको भंसार बिन्दुबाट कृषि उत्पादन सामाग्रीहरुको सहज आयात हो । अर्को तर्फ नेपाली किसानहरु अन्नबाली, तरकारी लगायतका बीउ बिरुवाहरु ठूलोमात्रामा भारत तथा अन्य देशहरुबाट आयात गर्नेगर्छन । हाम्रोमा रहेको लामो तथा झंन्झटिलो प्रकृयाका कारण धेरैजसो बीउ बिजन तथा कृषि सामाग्री उत्पादक राम्रा कम्पनीहरुका अधिकारीक बिक्रेताहरु हाम्रोमा छैनन । उनीहरु आफना उत्पादनहरु दर्ता गराउन र आफनो शाखा कार्यालयहरु नेपालमा खोल्न चासो दिर्इरहेकाछैनन । यस्ता प्रकृयाहरु चाढै पुराहुने तथा झंझटमुक्त हुनसके संसारभरी काम गरिरहेका राम्रा कम्पनीहरु हाम्रोमा पनि आउने थिए र संसारभरी भैरहेका प्रविधि बिकासको प्रतिफल हाम्रा किसानहरुलेपनि सहजै पाउने थिए । धेरैतिरबाट उठिरहने यो आवाज हाम्रो अधिकारप्राप्त संघिय मन्त्रालयले कहिल्यै सुन्दैन । न आफु बिकल्प दिनसक्छ न उपलब्ध बिकल्प लिनसक्छ । यो निर्णयहिनता वा जानाजान गरिएको हलो अडकाउने कुराले हाम्रा किसानहरुले कहिल्यै पुरा प्रविधिमा पहुँच पाउन सक्दैनन र सधै उनिहरुको प्रतिस्पर्धि क्षमतामा कमीनै रहन्छ ।

संघियता आर्इसकेपछि भएको कर्मचारी समायोजनका कारण किसाहरुसंग नजिकमा रहेर काम हुने ठाँउमा दक्ष कर्मचारीहरुको अनिकाल लागेकोछ । जँहा खासै कामको लोड छैन त्यहाँ गलगाँड बनाएर कर्मचारी थुपारीएकोछ । प्रदेश र स्थानिय तहमा न लोकसेवा आयोगहरुले प्राविधिक कर्मचारीहरु लिएकोछन न अन्य बिकल्प दिर्इएकोछ । यसरी दक्ष कर्मचारीहरुबाट आवश्यक सेवा पाउने अधिकारबाट पनि हाम्रा किसानहरुलार्इ बंचित गरीएकोछ । यस्ता अफ्ठराहरुको समाधान संघिय सरकारले चाँहदा तुरुन्तै हुनसक्छ । त्यसैले योजनाका ठेली होर्इन समस्याका समाधान गरौ ।

सबैको सहकार्ययुक्त अभियान आजको आवश्यकता

हामीले कृषिको रुपान्तरण साच्चिकै चाहेको हो भने हामी सबै फलाउने र खानेहरु एकठाँउमा आउन जरुरीछ । उपभोक्ताहरुले स्वदेशी उत्पादन आफनो पहिलो रोजार्इ बनाउने र उत्पादकहरुले स्वास्थकर कृषि उत्पादन गर्नमा र्इमानदारीता देखाउने हो की ? यो अभियानलार्इ सघाउनका लागि कृषिको बिकास र रुपान्तरण आफनो कार्यक्षेत्र भएका सरकारी र सहयोगी सबै निकायहरु साझा उदेश्य बोकेर एक ठाँउमा आउन जरुरीछ । पानी आवश्यकता भएका ठाँउमा सिंचार्इ, लगानि चाहिएका ठाँउमा बैंकहरु, सामुहिक उत्पादन र बजारीकरणमा कृषि सहकारीहरु र किसानले खोजेको प्रविधि अनुसंधान र प्रसारमा कृषिका निकायहरु किन्तु परन्तु नभनि समस्याका जड बनेर होर्इन समाधानका सहज उपाए बनेर आउन जरुरी छ । सधैभरी उदेश्य बिहिन  झन्झटिला प्रकृयाहरु र लम्बेतान कार्यबिधि बनाउन माहिर हामी अब यो माखेसाङ्गलो बोकेर होइन किसानले भोगिरहेका समस्याहरुको सहज समाधान बोकेर उनीहरुलार्इ  सघाउन जरुरीछ ।

हाम्रा समस्याहरु र समाधानका उपायहरु

हामीमा कमजोरीहरु धेरै छन । किसानका समस्याहरुको समाधानमा आधारित हाम्रा नितिहरु छैनन । धेरै लेखिएका छन जुन कार्यान्वयनमा प्राय आउदैनन । आर्इहालेपनि तिनिहरुले किसानले भोगिरहेका समस्याहरु समाधान गर्दैनन । कार्यक्रम कार्यान्वयनका कार्यबिधिहरु यतिधेरै झन्झटिला छन त्यसका लागि पुरागर्नुपर्ने कागजि प्रकृया र खर्चगर्नुपर्ने समय हेरेर धेरैजसो बास्तविक किसानहरु र कृषि उधमीहरु सरकारी कार्यक्रमको दायराबाट टाडै बसेर आफनो पेशा चलाउन चाहन्छन । धेरै अरुहरु कागजि प्रकृया पुरागर्न र कार्यालयको चक्कर लगाउन माहिर छन तर उनीहरु उदेश्य अनुसारको काम गर्दैनन । यो कमजोरी सच्याउन असल नियत र उदेश्य प्राप्तिको चाहना भए पुग्छ ।

हाम्रा धेरैजसो प्रविधिक कर्मचारीहरु किसानका प्राविधिक चासो र आवश्यकता पुरागर्नका लागि दक्ष छैनन । जो सरकारलार्इ प्राप्तहुने एकपछि अर्को तालिमका अवसरहरु हात पारिरहेकाछन तिनिहरु किसानकालागि कामगर्दैनन । जो किसानका नजिक रहेर उनीहरुलार्इ सघाउनका लागि खटार्इएकाछन प्राय तिनिहरुले सिपप्रविधि सिक्ने मौकानै पाउदैनन । समाधानकोलागि अग्रपंतिमा रहेर किसानलार्इ प्राविधिक सेवाटेवा पुर्याउने हाम्रा कर्मचारीहरुलार्इ समयसापेक्ष प्राविधिक ज्ञानसिप दिन र उनीहरुलार्इ आआफना कामप्रति अभिप्रेरीत गर्न जरुरी छ ।

गुणस्तरिय उत्पादन सामाग्रीहरुको उचित मुल्यमा सर्वसुलभ उपलब्धता नेपाली किसानहरुलार्इ छैन । यसले गर्दा उनिहरुको प्रतिस्पर्धि क्षमतामा ह्रास आएकोछ । यो कामको मुल जिम्मेवारी सरकारले लिनुपर्छ । समाधानका धेरै बिकल्पहरु संसारभरी चलिरहेकाछन । केहि ब्यक्ति र संस्थाको संरक्षण गर्ने गलत मनसाय राखेर हामीहरु सिमित बिकल्पमा अडकिएकाछौ । कृषिको सुधार र किसानको हितलार्इ मुख्य उदेश्य बनाउने हो भने हामी धेरै बिकल्पहरुबाट आफनो अवस्था सुहाउदो बिकल्प रोजेर बर्तमान समस्याको समाधान गर्नसक्छौ । यो ब्यवस्थापन सहजै गर्नसकिन्छ ।

Small is beautiful” : सानासाना अफ्ठयाराहरु वा तगाराहरु हटाउदा किसानका ठूलाठूला समस्याहरु समाधान हुन्छन । त्यसैले बर्षौ देखि चलनचल्तिमा रहेका योजनाका ठूलाठूला ठेलिहरु र बिभिन्न नाममा गठनहुने कार्यदलका रिपोर्टहरु लेखेर दराजमा थन्क्याउनुको साटो किसानहरुले उत्पादनका क्रममा भोगिरहेका सानासाना सहजै समाधान गर्नसकिने समाधानका उपाएहरुमा आफनो ध्यान केन्द्रित गरौ । हाम्रा प्रकृयाहरुलार्इ सहज र किसानमैत्री बनाउ ।

“थोरै लेखौ धेरै गरौ” : आजभोलि हप्तैपिच्छे जस्तो बिभिन्न नामका निर्देशिका र कार्यविधिहरुमा अनलार्इन छलफल भैरहेकाछन । सबैजसोमा लम्बेतान प्रकृयाहरु लेखिएका छन । जुनकुराहरु पढन र सुन्नमा रमार्इलैछन तर कार्यान्वयन गर्न निक्कै झन्झटिला छन । केहि निर्देशिका र कार्यविधिहरु बर्षेनि परिवर्तन भैरहेकाछन जसका कारण बहुबर्षे प्रकारका कार्यक्रमहरुको कार्यान्वयनमै समस्या देखापरिरहेकाछन । लामालामा कार्यबिधि र निर्देशिकाहरु बनाउने कारणको बारेमा कुरागर्दा धेरैले कार्यक्रममा अनियमितता रोक्न र अख्तियारको कार्बाहीबाट बच्न यसो गर्नुपरेको कुरागर्ने गरेकाछन । तर जहाँ लेखिने कुराहरु धेरै हुन्छन र कार्यबिधिहरु झन्झटिला हुन्छन अनियमितता गर्नेहरुको लागि त्यहि कार्यबिधिहरु सबैभन्दा उर्बर अस्त्र भैदिन्छन । त्यसैले कम लैखौ धेरै गरौ ताकि हामीले गरेका कामनै हामीलार्इ लान्छना र कार्बाहीबाट बचाउने अस्त्र बनुन ।

अन्त्यमा,

किसानहरुले र कृषि क्षेत्रले भोगिरहेका समस्याहरुको लेखिने र बोलिने समाधान होर्इन गरिने समाधानबाट सुरु गरौ । सानासाना तगाराहरु खोल्दै जाँउ । समाधानका सिडिहरु थप्दै जाँउ । प्रविधिहरुको उपलब्धता सहज र सर्वसुलभ बनाउदै लगौ र हामी सबैको साझा लक्ष रुपान्तरण बनाउ । रुपान्तरण संभव छ । ओझेलमा रहेका किसानहरु र कृषिक्षेत्र फेरी जागृत हुनेछन । नजिकै आएको नयाँ बर्ष २०२१ को अवसरमा सबैमा शुभकामना ।।

शनिबार, १८ पुष, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर