देशकै ठूलो औद्योगिक शहरको रुपमा विराटनगर महानगरपालिकालाई चिनिन्छ । यहाँको राजनीतिक, आर्थिक, सामाजिक विविधता धेरै छ । तर, विराटनगर महानगरपालिका व्यवस्थित ढंगले चल्न नसक्दा उन्नति भन्दा अधोगतितिर गइरहेको छ । स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि पनि विराटनगरले ठोस ढंगको विकास निर्माणको काम अगाडि बढाउन सकेको छैन । गत २०७६ चैत महिनादेखि विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा विराटनगर हाजिर हुनुभएका (सहसचिव) इन्द्रमणि पोखरेलले त्यसलाई केही व्यवस्थित गराउनका लागि पहल गरिरहनु भएको छ । तर, पनि अझै विकास निर्माणदेखि सुशासन, ढल व्यवस्थापन, फोहोर व्यवस्थापन, राजस्वमा आएको लक्ष्यभन्दा कम असुलीदेखि ब्रान तेललगायतका कतिपय निर्णय विवादित बनेका छन् । यिनै विषयमा केन्द्रीत भएर हाम्रोमतले पोखरेलसँग कुराकानी गरेको छ । प्रस्तुत छ उहाँसँगको कुराकानी ।
महानगरपालिको काम कसरी अघि बढ्दैछ ?
कोभिडका कारणले हाम्रा विकासका सम्पूर्ण गतिविधिहरु प्रभावित हुन पुगेको छ । हाम्रो पहिलो प्राथमिकता गत आर्थिक वर्षमा प्रस्ताव गरेका धेरै कार्यक्रम कार्यान्वयन गर्न सकिएन । यो वर्ष ती कार्यक्रमलाई निरन्तरता दिएका छौं । अहिले कोभिडको संक्रमण कम देखिएको छ । अब हामी बजेटको लक्ष्य अनुसार काम गर्दैछौं । पूर्वाधारको गतवर्ष दायित्व सरेका योजनाहरुको करिब ७२ करोडजति भुक्तानी गर्दैछौं । त्यसपछि हामी वडास्तरीय योजनाहरु सम्झौता गरेर काम थाल्छौं र त्यसपछि मात्र नगरस्तरीय योजना कार्यान्वयन गर्नुपर्छ भन्ने छ ।
चालु आर्थिक वर्षमा महानगरको स्रोतको अवस्था के छ ? योजनाहरु कार्यान्वयन हुने सम्भावना कस्तो रहन्छ ?
यो वर्ष ४ अर्ब ७ करोड हाराहारी बजेट छ । आन्तरिक आम्दानी ९६ करोड र राजश्व बाँडफाडबाट हुने आम्दानी ६६ करोड गरी १ अर्ब ६१ करोड रुपैयाँ हुने अनुमान गरेका छौं । हामीले त्यसकै आधारमा बजेट बनाएका छौं । अहिलेसम्मको स्थिति हेर्दा हामीले १५ करोड मात्र राजश्व आम्दानी गरेका छौं । १६१ करोडमा १५ करोड हाराहारीमा मात्र आम्दानी भएको छ । यस अवस्थामा हामीले बनाएको बजेट कार्यान्वयन गर्न चुनौतिपूर्ण छ । त्यसका लागि हामीले राजश्व बढाउन मिहिनेत गर्नुपर्ने छ । राजश्वको दायरा बढाउँदै त्यसमा करदाताहरु थप्ने तर्फ हाम्रो अभियान चल्नुपर्छ ।
त्यसो भए यो वर्ष बजेटमा उल्लेख भएका योजनाहरु फेरि अर्को वर्ष दायित्व सरेर जाने पुरानै अवस्था दोहोरिन्छ ?
यो वर्षको बजेटमा हामीले दायित्व सार्ने गरी सोचेका थिएनौं । महत्वका साथ राजश्व संकलन गर्ने अभियान सञ्चालन गर्ने हाम्रो सोच थियो । तर, कोभिडले गर्दा हामीले सोचेजसरी काम गर्न पाएका छैनौं । आम्दानी पनि त्यसअनुरुप बढाउन सकेका छैनौं । विगतमा पनि केही दायित्व त सर्दै आएको छ । तर, ठूलो रकमको दायित्व नसार्ने गरी नै हामीले काम गर्नुपर्छ । आम्दानी र खर्चको सन्तुलन मिलाउँदै सकेसम्म स्रोतले पुग्नेगरी मात्र योजनाहरु सम्झौता गर्नुपर्छ भन्ने महानगरले सोचिरहेको छ ।
महानगरपालिकाले अघिल्लो वर्ष पनि अनुमान अनुसार आम्दानी गर्न सकेन, यस पटक पनि राजश्व अपेक्षाकृत उठ्ने देखिदैन । महानगरले राजश्व लक्ष्य कसरी पुरा गर्छ ?
गत वर्ष हामीले लक्ष्य अनुसार राजश्व उठाउन सकेनौं । मालपोतसहित करिव ३७ करोड जति मात्र उठायौं । यस पटक तेब्बर बढी उठाउनुपर्ने अवस्था छ । यस पटक कोरोनाका कारण कर प्रवद्र्धनमा काम गर्न पाइरहेका छैनौं । महानगरले अभियानका रुपमा यसलाई लैजाने भनेर तयारी गरिरहेको छ । कार्यपालिकामा यस विषयमा छलफल भएको छ । कर संकलनकर्ताहरुलाई इन्सेन्टिभ दिने गरी हामीले अभियान अघि बढाउँछौं ।
स्थानीय तहमा पहिलो पटक आउनुभयो, यहाँको आन्तरिक प्रशासन सञ्चालन सम्वन्धी अनुभव कस्तो रह्यो ?
मेरो लागि स्थानीय तह पहिलो हो । यो क्षेत्रमा मेरो अनुभव पहिलो हो । अनुगमन गर्ने र रिपोर्टहरु त मैले हेरेको थिएँ । रिपोर्ट हेर्ने र काम गर्ने कुरा फरक हो । हरेक व्यक्तिको काम गर्ने शैली फरक हुन्छ । सबैमा उस्तै शैली र सक्रियता हुँदैन । यहाँका कर्मचारीहरुले गर्ने काम, उनीहरुको शैली र तरिकाबाट म सन्तुष्ट नै छु ।
महानगरमा तीन वर्षमा कर्मचारी संख्या झण्डै दोब्बर भयो । कर्मचारी भर्ना प्रक्रियाभन्दा बाहिरबाट भएका छन् भन्ने गुनासो सुनिन थालेको छ, किन त्यस्तो भइरहेको छ ?
एकदम ठिक प्रश्न गर्नुभयो । मैले पनि कतै यस्तो गुनासो सुनेको थिएँ । हाम्रो कर्मचारीको संख्या म आउँदा करिब ५४२ जना थिए । अहिलेको संख्या पनि त्यही सेरोफेरोमै छ । कोरोनाका कारण केही स्वास्थ्यकर्मीहरु राख्नुपरेको छ । ट्रिटमेन्ट प्लान्ट सञ्चालन गर्न करिब १८ जना जति कर्मचारी राख्नुपर्यो । दरबन्दी खाली भएका कार्यालय सहयोगी, सफाई आदिमा केही नियुक्ति भएका छन् । कतै जरुरी भएकोले सुपरभाइजर लगायतका कर्मचारीहरु र केही ज्यालादारीहरु छन् । हामीले राख्न पाउने भन्दा बाहिर गएर कर्मचारी भने राखेका छैनौं ।
आन्तरिक सुशासनको हकमा महानगरले कमजोरी गरिरहेको भन्ने विषय सार्वजनिक भएका छन्, विशेष गरेर तपाईले चढ्ने गाडी, इन्धन खर्च, महानगर प्रमुखसँग बेमेल जस्ता टिप्पणीहरु आएका छन्, ती विषयहरु सत्य नै हुन् ?
मैले पनि यी कुराहरु सुनेको छु । मैले प्रमुख ज्यूसँग नै सोधेको थिएँ कि हामीबीच कुनै विषयमा असहमति छन् भनेर, उहाँले त्यस्तो केही छैन भन्नुभयो । मैले पनि कुनै असमझदारी भएको, काम गर्न नसकेको अनुभूति गरेको छैन । हामी छलफल गरेर साझा निष्कर्शका आधारमा नै निर्णय गर्दै महानगरलाई अघि बढाइरहेका छौं । कुरा गर्ने शैली, सोच, तर्कमा भिन्नता होला तर निष्कर्श निकालेपछि त्यसैलाई कार्यान्वयन गर्ने गरेका छौं । त्यसैले सार्वजनिक खपतका लागि हुने गरेका टिप्पणीहरुमा कुनै सत्यता छैन । कारको भाडाको कुरा आएको छ । घरभाडाको कुरा आएको छ । म आएपछि एउटा स्करपियो गाडी भाडामा थियो । त्यो पुरानो र महंगो पनि रहेछ । त्यसलाई हटाएर पहिलेको भन्दा आधा खर्चमा एउटा कार भाडामा लियौं । सानो गाडीले इन्धन पनि कम खर्च हुने, मर्मत खर्च पनि कम हुने रहेछ । कार आफैं चलाउँदा चालकको खर्च पनि बचेको छ । आफैंले चलाउँदा चालकको खर्च पनि मैले सुविधाको रुपमा पाउने व्यवस्था छ । तर, मैले त्यो सुविधा लिएको छैन । मर्मत खर्च पनि मैले लिएको छैन । घर भाडाको कुरामा भने पहिलेको भन्दा दुई हजार बढी परेको सत्य हो । समय अनुसार यो खर्च बढी होइन । हामीले प्रक्रिया पुरा गरेर प्रतिष्पर्धा गराएरै घर भाडामा लिएका छौं ।
महानगरपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि खास पहल गरेन भन्ने कुरा पनि छ के हो ?
माध्यामिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहमा छ । विद्यार्थी भर्ना, विद्यार्थीलाई दिने सेवा सुविधा, विद्यालय मर्ज गर्ने जस्ता काममा हाम्रो ध्यान छ । सुरुमा हामीले दरबन्दी मिलानको काम ग¥यौं । हामीसँग ६४ जना प्राविका दरबन्दी बढी भयो त्यसलाई निमावि र माविमा मिलान ग¥यौं । कम विद्यार्थी भएका विद्यालयहरु मर्जरमा लैजाने गरी हामीले काम थालेका छौं । त्यसका लागि एउटा मापदण्ड बनाएर अघि बढ्छौं ।
कानून निर्माणका हिसावले महानगरको अवस्था के छ ?
स्थानीय तहहरुमध्ये कानून बनाउने कार्यमा महानगर अगाडि नै छ । मुख्य कुरा भने बनेका कानून कार्यान्वयनको अवस्थाका बारेमा भने स्वतन्त्र ढंगबाट अध्ययन गरिदिनका लागि म अनुरोध गर्दछु । हामीले शिक्षा सम्बन्धी कानून बनाएका छौं, मदिरा व्यवस्थापन सम्बन्धी कानून बनाएका छौं । आवश्यकता अनुसार कानून बनाएका छौं । तर, कार्यान्वयनमा भने कहिँकतै कमी छ कि भन्ने छ त्यसलाई प्रभावकारी बनाउदै लैजानु पर्नेछ ।
महानगरपालिकाले बजारबाट गुद्री हटाउन खोज्यो । तर, हटेन । बरु बजार क्षेत्रमै अर्को गुद्री थपियो अनि महानगरको साझेदारीमा बनेको कृषि बजार पनि चलेन त्यसको कारण के हो ?
हामीले सिंघीया पारी कटहरीमा प्रदेश सरकारसँगको साझेदारीमा कृषि बजार बनाएका छौं । त्यो सञ्चालनमा आएन । अहिले बनेको नयाँ गुद्री निजी क्षेत्रले बनाएको हो । पुरानो गुद्री भएको ठाउँमा हामी बहुप्रयोजनमा उपयोग हुने व्यवसायिक भवन निर्माण गर्छौं । त्यसको प्रक्रिया सुरु भइसकेको छ । त्यो ठाउँमा गुद्री रहँदैन । हामी त्यसको व्यवस्थापन गर्छौं ।
ब्रान तेलको राजश्व र ढलको शुल्कको विषयमा महानगरमाथि प्रश्न उठेको छ नि ?
ब्रानको तेलको विषय मिडियाबाटै हाम्रो जानकारीमा आयो । यो धानको भुसबाट आउने तेल हो । यो जडिबुटी भनेर राखिएछ र त्यसै अनुसार कवाडीलाई ठेक्का पनि लगायौं । हामीले पहिलो पटक यो वस्तुमा ठेक्का लगाएका थियौं । राजश्व परामर्श समितिले छलफल गरेरै सुझाएको थियो । वास्तवमा त्यसमा हाम्रो तर्फबाट त्रुटी भएकै रहेछ भनेर सच्याइसकेका छौं । अर्कोतर्फ ढल शुल्कको विषय पनि बजारमा चर्चामा छ । यो ढल प्रयोग गरेवापत तिर्नुपर्ने शुल्क हो । यस विषयमा उपभोक्ताहरुले हामीले सेफ्टीट्यांक बनाएका छौं । ढल शुल्क तिर्दैनौं भन्ने र हामी हज बनाउँछौं भन्ने दुबै कुरा आएका छन् । यस विषयमा हामी छलफल गर्दैछौं । आउने परिषद्मा हामी यो विषयलाई एउटा टुंगोमा पु¥याउँछौं । अहिले ढल सञ्चालनमा आइसकेको छ । झण्डै १४ सय परिवारले ढल प्रयोगमा ल्याइसकेका छन् । हामीले ढल प्रशोधनको काम पनि गरिरहेका छौं । कतिपय ठाउँमा सिस्टममा केही समस्या देखिएको छ । त्यसलाई मर्मत गरेर सञ्चालन गरिन्छ । ढलले ओगट्ने क्षेत्रका बासिन्दाले अनिवार्य त्यसको उपयोग गर्नुपर्ने गरी नै हामीले एशियाली विकास बैंकसँग सम्झौता गरेका छौं । सायद प्रतिपरिवार ३८४ रुपैयाँका दरले शुल्क तिर्नुपर्छ । तर, अहिले वार्षिक १२ सय रुपैयाँ तिरेर ढल जोड्न सक्छन् ।
महानगरपालिकाको सहयोग संस्थाको रुपमा रहेको टोल संगठनहरु र बालक्लवहरु राम्ररी सञ्चालन नहुनुको कारण के हो ?
टोल विकास समिति प्रयाप्त रहेछन् । तर, तिनीहरुको सक्रियता केही कम भएको हो कि भन्ने लागेको छ । विकासमा समुदायलाई सहभागी गराउने, सक्रिय बनाउने उद्देश्यले यो संस्था स्थापना भएको हो । टोल विकास संस्थाहरुलाई राम्रोसँग सञ्चालन गर्न गर्न छलफल सुरु भइसकेको छ । यो आवश्यक संस्था भएकोले क्रियाशिल बनाउनु पर्छ । अर्को कुरा हाम्रो महानगरमा दुई वटा वार्डमा मात्र वालमैत्री वडा घोषणा गर्न बाँकी रहेछ । हामी त्यसलाई वालमैत्री वार्ड बनाउने गरी काम थाल्छौं । दुई वटा वार्डलाई बालमैत्री घोषणा गर्न सकेको खण्डमा पुरै महानगर नै बालमैत्री घोषणा हुने अवस्था रहेकोले त्यसलाई ठिक ढंगले अगाडि बढाइनेछ ।
अन्त्यमा ट्राफिक व्यवस्थापन र फोहोरमैला व्यवस्थापनका लागि महानगरपालिकाले के पहल गरेको छ ?
ट्रफिक व्यवस्थापनको पाटोमा हामीले तीनवटा ओभरहेड ब्रिज निर्माणको तयारी थालेका छौं । कञ्चनबारी, बरगाछी र गुद्री घाँसचोकमा आकासे पुल निर्माण हुन्छन् । सँगसँगै हामीले कञ्चनबारीलगायत अप्ठ्यारो ठाउँहरुमा ट्राफिक लाइट राख्नेतर्फ पनि छलफल सुरु गरेका छौं ।
यस्तै फोहोर व्यवस्थापन चुनौतीपूर्ण काम रहेछ । हाम्रो आफ्नै ल्याण्डफिल्ड साइड छैन । संकलन र व्यवस्थापनको काम त्यति सन्तोषजनक छैन । तर, हामीसँग विकल्प पनि छैन । हामीले सकेसम्म व्यवस्थापनको काम गरेका छौं । निर्माण सामग्री बाटोमै थुपार्ने समस्या छ । जसले गर्दा नाला र ढलसमेत जाम भई वर्षात्मा समस्या हुने गरेको छ । त्यसका लागि सचेतना अभियान चलाउने जनसहभागितामा सुधार गर्ने ढंगबाट महानगर अगाडि बढेको छ ।




























2 प्रतिक्रियाहरू
2 प्रतिक्रियाहरू
सबै मिलेर गय सबै काम गनॅ सकिक्छ आफ्नो ठाउबाट आफु आफुले सहयोग गर्नु पछ।
सबै मिलेर गय सबै काम गनॅ सकिक्छ आफ्नो ठाउबाट आफु आफुले सहयोग गर्नु पछ।
प्रतिक्रियाहरू बन्द छन्।