कामरेड ! पछुताउनु पर्ला है ?

 लीलावल्लभ घिमिरे

कैलाली निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित गौरीशंकर चौधरी शुक्रबार दिनभर प्रधानमन्त्री ओली विरुद्धको आन्दोलनमा आन्दोलनमा सहभागि भए । शुक्रबारै साँझ पर्न नपाउँदै चौधरी केपी शर्मा ओलीले थप्नु भएको मन्त्री मण्डलमा उनको नाम आयो । उनले स–गौरव भने ‘संसद विघटनपछि म दाहाल–नेपाल समूहमा थिए । त्यो कुरा सत्य हो । तर सो समूहका टाउकेहरू स्वार्थको लडाइमा व्यस्त थिए । हामीले मात्रै सँधै उनीहरूको पछिपछि लाग्नुपर्ने कारण छैन । अब दाहाल–नेपाल समुह छोडियो ओली समूहमा लाग्यो । उनी अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री छन् ।

यो त भयो अलि परको प्रदेशको कुरा हाम्रो प्रदेश कि माननीय उषाकला राई नेकपा ओली समूहको विस्तारित केन्द्रीय समितिको सदस्य पदमा पर्नु भयो । सबैले जिव्रो टोके हिंजोसम्म त्यही समूहविरुद्ध अरिङ्गाल खनिए जस्तै खनिने अनि सनो गल्तीमा तिनै ओलीबाट श्रीमान्को मन्त्री पदसमेत जाने तर आज कसरी त्यही समूहको केन्द्रीय सदस्य ? धेरैको मनमा यही प्रश्न उब्जियो । भोलीपल्ट फेसवुकमा म केन्द्रीय सदस्यमा बस्दिन भनेपछि सबैको मन शान्त भयो । तर उषाकला राईको नाम ओलीले त्यसै राखेका त पक्कै होनन् होला । त्यस भित्रका धेरै कुरा वाहिर आएका पनि छैनन् र खोजेर केहि फाइदा पनि कसैलाई हँुदैन । यहाँ अरु धेरै पात्र छन् । जो केन्द्रीय समितिमा बस्दिन भनेका छन् । उनीहरुका बारे पनि चर्चा नगरौं ।

यहाँ मैले यी पात्रहरुका बारेमा यसका कारण कुरा उठान गरेको हुँ जो केही लिनका लागि पार्टीमा लागेका छन् । केहि पाउनका लागि लागेका छन् उनीहरुका लागि अहिले नेकपामा देखिएको विभाजन पनि अवसरका रुपमा आइरहेको छ । तर लामो समयदेखि आफूलाई सच्चा र इमान्दार कम्युनिष्ट सावित गरेर बस्नेहरु अहिले साँचीकै गम्भीर मोडमा उभिएका छन् । देशभरका पत्रकारहरु यो ओली समूह र यो दाहाल नेपाल समूह भनेर चौतारामा काटेको राँगाको मासु भाग लगाए जसरी नै भाग लगाइ रहेका छन् । धेरै जना कता जाँदा के पाइन्छ भन्नेर दौडिरहेका छन् । प्रदेश तिर हेर्ने हो भने ओली समूहले सरकार बनाउँछ कि दाहाल–नेपाल समूहले सरकार बनाउँछ भनेर चियो गर्ने सांसदको संख्या पनि कम छैन । अनि कम्यनिष्टको सदस्यता लिएर नेताहरुलाई भ्रष्ट बनाउनेदेखि पार्टी भित्रका सुकिलामुकिलाहरुलाई अहिले नेकपामा आएको विभाजन अवसर बनेको छ ।

तर जसले यो पार्टीलाई दुई तिहाइ नजिकमा पु¥याउन पुस्तौंदेखि बलिदानी गरे आज उनीहरुलाई चाँही साँचीकै धर्मसंकट आइलागेको छ । हजुरबाका देखि गरेको राजनीति नातीका पालामा आएर सफल भएको थियो । सिंगो पार्टीको झण्डा ओडेर चितामा बस्ने धेरै बाहरुका सपना आज नेताहरुले चकनाचुर मात्र बनाएनन् जो बिना स्वार्थ अहिलेसम्म कम्युनिष्ट आन्दोलनमा लागे उनीहरुका लागि संकट सिर्जनासमेत गरे ।

केही पाउनेहरु त नाफा नोक्सान हिसाव गरेर दाहाल–नेपाल वा ओली समूहमा लाग्लान । तर राजनीतिलाई पेशा नबनाइ सेवाका रुपमा लाग्ने सच्चा कम्युनिष्टहरू कता जान्छन् ? एक थरी ओली नै हुन् सबैथोक त्यतै लाग्छन् भन्नेहरु पनि नभएका होइनन् । अर्का थरीहरु नेकपा बहुमत प्रचण्ड समूहमा छ । त्यतै लाग्छन् भन्नेहरू पनि छन् । ओली समूहमा लागौं सूर्य चिन्ह दाहाल नेपाल समूहले पाउने हो कि भन्ने चिन्ता धेरैमा देखिन्छ । फेरी अर्कोतर्फ लागौं माधवले सँधै बलियो खुट्टा टेक्न सक्दैनन् । अनि प्रचण्डले सबै पार्टी नै कब्जा गर्लान् कि भन्ने शंका छ । अन्तिममा सूर्य चिन्ह जसले पाउँछ त्यसैसँग लागौं भन्दा निर्वाचन आयोगले छिनोफानो गर्न ढिलाई गरेर सूर्य चिन्ह यस पटक दुवै समुहलाई दिएन भने के गर्ने ? यस्तै धेरै उत्तररहित प्रश्नहरुले निष्ठा बोकेकाहरुका मन यति बेला भारी छन् ।

यस्तो बेलामा कुन समूहमा लाग्दा मलाई कति व्यक्तिगत रुपमा फाइदा वा बेफाइदा हुन्छ भन्ने हिसाव गर्ने बाहेकले अब २ रुपैयाँको डलर हातमा लिएर आकाशतर्फ फ्याँक्दै जोत्दै गरेका हल गोरु कि पहाड भन्ने अवस्था आएको छ । हुन त यो अवस्था नेकपाका नेता कार्यकर्तामा मात्र होइन । संसद विघठन हुनु अघिको प्रमुख प्रतिपक्षी दल कांग्रेसमा पनि त्यस्तै देखिएको छ । शेरबहादुर दाई यति बेला हातमा २ रुपैयाँको डलर बोकेर सुल्टी कि उल्टी भन्ने अवस्थामा पुग्नु भएको छ । एकाथरी सडक आन्दोलन गरौं भन्छन् अर्को थरी निर्वाचनको तयारी गरौं भन्छन् । दुवैका तर्क आ–आफ्ना ठाउँमा सहि होलान् तर जीवन्त पार्टी त्यो पनि यति लामो इतिहास बोकेको कांग्रेसले समयमा सहि निर्णय लिन नसक्नु नेतृत्वको असक्षमता नै हो ।

एउटा ७० वर्ष नजिक पुगेका माता पिताहरुका लागि घरको एक्लो लक्का जवान छोरो वा छोरीको मृत्यु हुँदा जुन पीडा ति बाउ आमालाई हुन्छ त्यही पीडा यो पार्टीमा रगत र पसिना बगाएका निष्ठावान नेता कार्यकर्तालाई भएको हुनु पर्ने हो । हाम्रो देशको राजनीतिको रिमोर्ट दक्षिण तिरका छिमेकीसँग छ भन्ने कुराका प्रमाण यहाँ धेरै पेश गर्नै पर्दैन । पार्टीहरू एउठा मात्र होइन सबै फुटेका छन् । यो देशमा पार्टी फुट्दाभन्दा जुट्दा अचम्म मानिन्छ । त्यसैले यस्तो अवस्थामा हतारमा निर्णय गरेर फुसर्दमा पछुताउनु भन्दा केही समय धैर्य गर्दा आकाशै खसी हाल्दैन कामरेड आगे तपाईको इच्छा ।

आइतबार, १२ पुष, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर