डा. बालकृष्ण साह
नेपाल चिकित्सक संघ विराटनगर शाखाको निर्वाचन आगामि माघमा हुँदैछ । निर्वाचनबाट निर्वाचित हुने कार्यसमितिको नेतृत्व तहदेखि तल्लो तहसम्मको पदमा चयन हुने दौडमा चिकित्सकहरुले आफूलाई दाबेदारको रुपमा अथ्र्याउन थालेका छन् । यसै सन्दर्भमा २०६५ सालमा चिकित्सक संघको सदस्य भएर चिकित्सक संघको मेची शाखामा २०६६ मा सहसचिवमा निर्वाचित तथा २०७२ सालबाट दुई कार्यकाल संघको केन्द्रीय परिषद सदस्यको समेत जिम्मेवारी निर्वाह गरिसक्नु भएका मोरङ सहकारी अस्पतालका प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. बालकृष्ण साहसँग हामीले कुराकानी गरेका छौं । साहले कुराकानीका क्रममा आफू पनि यसपटकको निर्वाचनको दौडमा रहेका छौं । प्रस्तुत छ हाम्रोमत दैनिकले यसै विषयमा केन्द्रीय रहेर गरेको कुराकानी ।
नेपाल चिकित्सक संघ कस्तो संस्था हो ?
– नेपाल चिकित्सक संघ मेडिकल डाक्टर तथा डेन्टल डाक्टरहरुको पेशागत नन्प्रोफिट राष्ट्रिय संस्था हो । २० फाल्गुन २००७ सालमा डा.सिद्धिमणी दिक्षितको नेतृत्वमा २० जना चिकित्सकहरुले स्थापना गरेको नेपाल चिकित्सक संघ देशको पुरानो र स्थापित पेशागत संस्थाका रुपमा परिचित छ ।
यसमा सबै चिकित्सक सदस्य बन्न सक्छन् ?
– नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका नेपाली चिकित्सकहरु यसको सदस्यता शुल्क तिरेर सदस्य बन्न पाउँछन् । हाल नेपालमा कार्यरत सबै मेडिकल र डेन्टल चिकित्सकहरु यसका सदस्य नभएपनि १० हजार भन्दा बढी चिकित्सकहरू आजिवन सदस्यहरू रहेको छ ।
सबै चिकित्सकले सदस्य बन्नै पर्छ र सदस्य बन्दा के फाइदा हुन्छ ?
– आफ्नो पेशागत संस्थामा सबै पेशाकर्मीहरु आवद्ध हुनु जरुरी छ । पेशागत संस्थाले पेशाकर्मीहरुको हकहित, अधिकारको लागि वकालत गर्ने र समाजमा सम्बन्धीत पेशालाई चिनाउने भएकोले नेपाल चिकित्सक संघमा सबै चिकित्सकहरु आवद्ध हुनु जरुरी छ । यो व्यक्तिगत रुपले फाइदा र बेफाइदाको कुरा होइन । समग्र पेशाको इज्जत र मर्यादाका लागि बोल्नुपर्ने, बहस पैरवी गर्ने काम संस्थाले अगुवाको भूमिका खेल्छ ।
यसको सांगठनिक स्वरुप कस्तो छ ?
– हालसम्म देशभरमा १६ वटा शाखाहरू रहेका छन् । केन्द्रीय कार्यालय काठमाडौंमा रहेको छ । शाखाहरु प्रायः अञ्चल केन्द्रीत रहेका छन् । जहाँ धेरै डाक्टरहरु रहेका छन्, त्यहाँ संगठनका शाखाहरु रहेको छ । विराटनगर शाखाले कोशी अञ्चललाई कभर गर्छ । तर, धरान शाखाले विशेषतः विपिकेआईएचएस अन्तर्गतका चिकित्सकहरुको प्रतिनिधित्व गरेको छ ।
देश संघीय शासन प्रणाली अन्तर्गत चलिरहेको छ । चिकित्सक संघले सोही अनुरुपका संगठन संरचना बनाउन किन नसकेको ?
– संघीय संरचनामा जाने तयारी हुँदैछ । तर, अहिले नै प्रादेशिक शाखाहरु गठन भइसकेको छैन । प्रदेश नं. १ मा चाँडै नै प्रादेशिक कार्यसमिति गठन हुने कुराहरु निस्किन थालेको छ ।
चिकित्सक संघले कुनै राजनीतिक पार्टीको आस्था अनुसार समर्थन विरोध वा काम कसरी गर्छ ?
– चिकित्सक संघ राजनीतिक हिसावले स्वतन्त्र संस्था हो । यसका कार्यसमितिको निर्वाचनमा विभिन्न विचारका चिकित्सकहरु प्यानल नै बनाएर भाग लिने गर्छन् । अहिलेसम्म प्रजातान्त्रिक समूहका प्यानलहरुले विजयी हुँदै आएका छन् । यद्यपि कतिपय अवस्थामा प्रगतिशिल समूहका साथीहरु पनि एउटै समूहमा पनि उम्मेद्वारी दिएर विजयी भएका छन् ।
चिकित्सक संघको निर्वाचनको तयारी भइरहेको छ । यसको निर्वाचन प्रणाली चाहिं कस्तो छ ?
– प्रजातान्त्रिक अभ्यासलाई निरन्तरता दिँदै करिब १० महिना अगाडि (फेब्रुअरी २०२०) मा भएको संघको चुनावले २८ औं कार्यसमितिमा डा.लोचन कार्कीको नेतृत्वलाई ३ वर्षका लागि जिम्मेवारी दिएको छ । शाखाहरूमा पनि प्रजातान्त्रिक प्रक्रिया अपनाउँदै कतै सर्वसहमति त कतै चुनावी प्रतिस्पर्धाले ३ वर्षका लागि नेतृत्व दिने गरेको छ । विराटनगर शाखाको चुनावी सूचना जारी गरिसकेको छ । यस अनुसार पुस १५ गते बुधबारसम्म सदस्य हुने चिकित्सकहरुले प्रत्यक्ष मतदानबाट अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सहसचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र ६ जना सदस्य गरी १३ जनाको कार्यसमिति चयन गर्नेछन् ।
विराटनगर शाखामा मतदान गर्ने सदस्यहरुको संख्या कति छ ? नेतृत्व चयनमा सहमति हुन्छ कि निर्वाचन बाटै छिनोफानो हुन्छ ?
– शाखामा १ हजार २ सय लगभग सदस्य रहेका छन् । जसमध्ये चुनाव भएमा ४÷५ सयको हाराहारीमा मतदान हुने अपेक्षा गरिएको छ । नेतृत्व चयनमा अझै पनि सहमतिको बाटोहरु बन्द छैन । उम्मेदवारको मनोनयन दर्ता पुस २७ गते हुने भएकोले त्यस अवधिसम्ममा निर्वाचनमा जान्छ वा सहमति हुन्छ भन्ने विषय अहिले नै भन्न सकिँदैन ।
डाक्टर गोविन्द केसीको समर्थनमा आन्दोलन गर्ने बाहेक चिकित्सक संघले खासै कार्यक्रम गरेको देखिँदैन । गतिवधि पनि छैन । अब चाहिं चिकित्सक संघ कसरी अगाडि बढ्छ ?
– पेशागत संस्थाहरू सामान्यतया सदस्यहरुको पेशागत हक, हित र अधिकारका लागि मात्र वकालत गर्ने भए तापनि नेपाल चिकित्सक संघ यी बाहेक चिकित्सकीय पेशा मर्यादित, गुणस्तरिय बनाउने र राज्यको स्वास्थ्य सेवा विस्तार एवं सुधारका पहल गर्ने पनि लक्ष्य राखेको छ । संघले सदस्यहरूको पेशागत मर्यादा र गुणस्तर कायम राख्न प्रेरित गर्दै शैक्षिक गतिविधि, शिप र दक्षता बढाउन तालिम तथा स्वास्थ्य सेवाको जटिलताहरू न्यून गर्न, शोधहरू गर्न पनि मद्दत गर्ने गरेको छ । समाजका विभिन्न वर्गहरुसँग सहकार्य गर्दै स्वस्थ्य सचेतना गराउँदै समाजमा चिकित्सकीय पहुँच बढाउने संघको लक्ष्य रहेको छ । तर, यस अनुसारका कामहरु विराटनगर शाखाले सोचेजस्तो अगाडि नबढाएकोले नेपाल चिकित्सक संघको भूमिका गौण जस्तो देखिएको हो । अब आउने नयाँ कार्यसमितिले यस विषयमा पक्कै पनि पहल गर्नेछ ।
तपाईको विचारमा विराटनगर शाखाको अहिलेको चुनौति के हुनसक्छ ?
– पछिल्लो समयमा देश संघीयतामा गइसकेपछि पनि स्थानीय र प्रदेश अन्तर्गत धेरै नै चिकित्सकहरुको दरबन्दी खाली छ । चिकित्सक संघले सरकारलाई दरबन्दी अनुसारको चिकित्सकीय पहुँच र सबल, गुणस्तर स्वास्थ्य सेवा प्रवाहका लागि स्थानीय र प्रदेशस्तरमा पनि अझ थप दरबन्दी कायम गर्न र दरबन्दी अनुसारको पदपूर्ति गर्न दबाब दिनुपर्ने प्रमुख आवश्यकता देखिन्छ । त्यस्तै संघको मर्म अनुसार शोध, अनुसन्धान र चिकित्सकहरुको मर्यादा, सुविधा, निजीमा हुने श्रम शोषण यि यावत विषयहरूमा भूमिका खेल्नुपर्ने देखिन्छ ।
चिकित्सक संघको आगामि कार्यसमितिको कुनै पद प्राप्त गर्ने दौडमा तपाई पनि हुनुहुन्छ भन्ने सुनिएको छ ? खास कुरा के हो ?
– प्रजातान्त्रिक प्रक्रियामा स्वतन्त्र रुपमा नेतृत्व लिने र चिकित्सकहरुको हकहितमा केही गर्ने विचार ममा नभएको होइन । अब नेतृत्वको दौडभन्दा पनि साथीहरुले यसका लागि मलाई अगाडि सार्दा केही राम्रो हुन्छ, छायाँमा परेको जस्तो देखिएको संस्था फेरि समाज र समस्त स्वास्थ्य क्षेत्रमा अग्रणी देखिन्छ, यसले चिकित्सको मान, मर्यादा उच्च बनाउँछ भन्ने लागेको अवस्था पाएको छु । यसकारण पनि सहमतिको आधारमा मलाई चिकित्सक संघ विराटनगर शाखाको कार्यकारी समितिमा समावेश गराउन खोजिएको छ । र, म त्यसको लागि तयार पनि छु ।