विराटनगर । कोरोना महामारीको रोकथाम तथा नियन्त्रणलाई प्रमुख प्राथमिकतामा राखेको दाबी गर्दै आएको प्रदेश सरकारसँग कोरोना संक्रमणको वास्तविक तथ्याङ्क समेत नभएको पाईएको छ ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको संक्रमण सम्बन्धी तथ्याङ्क र अस्पतालहरुसँग भएको तथ्याङ्कबिच ठूलो अन्तर देखिएको छ ।
प्रदेशका अस्पतालमा उपचार गराएका र मृत्यु भएका संक्रमितहरुको तथ्याङ्क फरक परेसँगै मन्त्रालयले हचुवाको भरमा सूचना उपलब्ध गराइरहेको पुष्टि भएको छ । कोरोना महामारी रोकथाम, न्युनीकरण तथा उपचारको जिम्मा पाएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले हरेक दिन प्रदेशभरिका ३७ वटा आइसोलेसन केन्द्रहरुमा भर्ना भएका, डिस्चार्ज भएका तथा ज्यान गुमाएका कोरोना संक्रमितहरुको विवरण वेबसाइटमा अद्यावधिक गर्ने गरेको छ । तर, मन्त्रालयको वेबसाइटमा अपलोड गरिएका तथ्याङ्क सम्बन्धित आइसोलेसन केन्द्रको तथ्याङ्कसँग बिल्कुलै मेल खाँदैनन् ।
मोरङको विराट मेडिकल कलेज, नोबेल मेडिकल कलेज र न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालले सञ्चालन गरेको कोभिड अस्पतालसँग भएका तथ्याङ्क मन्त्रालयको भन्दा धेरै भिन्न छन् । सामाजिक विकास मन्त्रालयको सूचनालाई आधार मान्ने हो भने उपचारका लागि अस्पताल भर्ना भएका, मृत्यु भएका र निको भएकाहरुको तथ्याङ्कमा आकाश जमिनको फरक देखिन्छ ।
मन्त्रालयले विराटनगरका तीन वटा निजी अस्पतालहरुमा अहिलेसम्म ७०३ जनाले उपचार गराएको र उनीहरुमध्ये १४८ जनाको मृत्यु भएको तथ्याङ्क दिएको छ । मन्त्रालयका अनुसार तीन अस्पतालमा ५५५ जना उपचारपछि घर फर्किएका छन् ।
तर, ती अस्पतालहरुमा अहिलेसम्म उपचारका लागि १ हजार ४०२ जना भर्ना भएको, १ हजार २०० जना उपचारपछि घर फर्किएको र २०२ जनाको मृत्यु भएको तथ्याङ्क पाइएको छ । वास्तविक संस्थाभन्दा करिब आधा मात्र रेकर्ड मन्त्रालयमा रहेको देखिएको छ ।
बुधबार बेलुकीसम्मको तथ्याङ्क अनुसार मोरङको बुढीगङ्गा–२ स्थित विराट मेडिकल कलेजको कोभिड अस्पतालमा उपचाररत कोरोना संक्रमितहरुको संख्या २३ हुँदा मन्त्रालयको वेबसाइटमा भने २५ छ । विराट कोभिड अस्पतालका इन्चार्ज अरविन्द मण्डलका अनुसार हालसम्म अस्पतालबाट ६ सय २९ जनाले कोरोना जितेका छन् भने ४४ ले ज्यान गुमाएका छन् । मन्त्रालयको तथ्याङ्कमा भने विराटको कोभिड अस्पतालबाट संक्रमणमुक्त हुनेको संख्या २९१ र ज्यान गुमाउनेको संख्या ४६ छ ।
विराटनगरको अर्को ठूलो अस्पतालको रुपमा रहेको नोबेल मेडिकल कलेजबाट ४ सय ३७ जनाले कोरोना जितेका छन् भने १३२ ले ज्यान गुमाएका छन् । अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भएका संक्रमितको संख्या भने ६४ रहेको अस्पतालका प्रशासकीय अधिकृत नारायण दाहालले जानकारी दिनुभयो । तर, मन्त्रायलको तथ्याङ्कमा भने नोबेलको कोभिड अस्पतालबाट संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या ३४ र ज्यान गुमाउनेको संख्या ७९ मात्र छ । अस्पतालमा उपचाररत संक्रमितको संख्या शुन्य रहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।
सरकारी तथ्याङ्क अनुसार विराटनगरको महेन्द्र चौकमा अवस्थित न्युरोको कोभिड अस्पतालमा हाल एक महिला र ५ पुरुष गरि ६ जनाले उपचार गराइरहेका छन् । १३४ जना निको भई डिस्चार्ज भइसकेको र २६ जनाले ज्यान गुमाएको मन्त्रालयको रेकर्ड छ । तर, न्युरो अस्पतालको बुधबार बेलुकीसम्मको तथ्याङ्क अनुसार सो अस्पतालमा ४ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । जसमा ३ जनाको आई.सि.यु.मा र एक जनाको जनरल वार्डमा उपचार भइरहेको छ ।
अस्पतालका फोकल पर्सन अजितराज बस्नेतका अनुसार न्युरोको कोभिड अस्पतालबाट हालसम्म २३० जना संक्रमणमुक्त भई घर फर्किएका छन् । उपचारको क्रममा न्युरोमा २३ को ज्यान गएको छ ।
यी तथ्यहरुले प्रदेश सरकारसँग सूचना र तथ्यहरुको अभाव भएको र जथाभावी सूचना प्रवाह भएको पुष्टि हुन्छ । प्रदेश नं. १ मा यी बाहेक अन्य ३४ वटा आइसोलेसन केन्द्रहरुमा कोरोना संक्रमितहरुको उपचार हुने गरेको छ । तर, सरकारी तथ्याङ्क कत्तिको भरपर्दो छ भन्नेमा सरोकारवालाहरुले आशङ्का गरेका छन् । कोरोनासँग सम्बन्धित सम्पूर्ण तथ्याङ्कहरु दुरुस्त राख्ने जिम्मेवारी मन्त्रालयको हो । तर, मन्त्रालयको आधिकारिक वेबपेजबाट प्रवाह भएका तथ्याङ्क वास्तविकतासँग मेल नखाँदा सूचनाको सत्यतामाथि नै प्रश्न उठेको छ ।
निजी अस्पताल तथा अन्य आइसोलेसन केन्द्रहरुले नियमित रिर्पोटिङ नगर्दा तथ्याङ्क अद्यावधिक राख्न अप्ठयारो भएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले बताउनुभयो । उहाँले अस्पतालहरुले ढिलो गरि रिर्पोटिङ गर्दा वेबसाईटमा पुरानै तथ्याङ्क सर्दै आएको स्वीकार गर्नुभयो ।
‘हामीले पटकपटक ताकेता गर्दा पनि जहिले दोश्रो पक्षबाटै ढिलासुस्ती हुने गरेको छ’, उहाँले भन्नुभयो, ‘हामीले सुइँको पाएसँगै मन्त्रालयको रिर्पोटिङ युनिटलाई तत्कालै सबै तथ्याङ्कहरु दुरुस्त पार्न निर्देशन दिएका छौं ।’ उहाँले मन्त्रालयको कमजोरी ढाकछोप गर्ने प्रयत्न गरेपनि हरेक अस्पतालले दैनिक रुपमा मन्त्रालयमा रिपोर्टिङ गर्दै आएको जनाएका छन् ।
अस्पतालहरुको रिपोर्टिङकै आधारमा हरेक दिन थपिएका संक्रमित, डिस्चार्ज भएका व्यक्ति र मृत्यु भएका व्यक्तिको संख्या मन्त्रालयले नियमितरुपमा सञ्चार माध्यमलाई उपलब्ध गराउँदै आएको छ ।